कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारु बस्तीमा दसैंको रौनक

रासस

काठमाडौँ — थारु गाउँमा दसैंको रौनकता छाएको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुन्जायमान भएका छन् । विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दसैंलगायत चाडपर्व सहज रुपमा मनाउन पाएका थिएनन् ।

थारु बस्तीमा दसैंको रौनक

विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनाको कहरका कारण घर परिवारसँगै बसेर दसैं मनाइएको थियो । सामूहिक रुपमा टीका थाप्न पाइएको थिएन । कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैं मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैं मनाइरहेको कृष्णपुर नगरपालिका–२ का दुर्गाप्रसाद चौधरीले बताए ।

'यसपटकको दसैं निकै रमाइलो गरी मनाइँदै छ,' उनले भने, 'विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ । दसैंका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ ।'

महिला, पुरुष, युवायुवती सबैको सामूहिकरुपमा नाचगानमा सहभागिता रहने बताउँदै उनले भने, 'यस बेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन् ।'

सामूहिक रुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्‍याउने उनको भनाइ छ । दसैंका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैंका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।

दसैंका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैं पर्व मनाउने गरेका छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैंसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।

नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको दानसिंह दहितले बताए । उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गरेको छ ।

दसैंका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (वडघर)बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दसैं(दशमी) देखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने रहेको छैन । थारु समुदायले दसैंको दिनमा मात्रै टीका थाप्ने गरेका छन् ।

पहिला चामलको पिठोको सेतो टीका दसैंका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ ।

थारु समुदायको आज मुर्गा पुज्ने दिन

नवमीको दिन आज थारु समुदायले मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिन) का रुपमा मनाउँदै छन् । बिहानै नदी-तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी(घरमै बनेको मदिरा), पानी राख्नुपर्ने चरन चौधरीले सुनाए ।

उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ ।

'दुईवटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ,' पहरु दहितले भने, 'बलि चढाएपछि धुप, बेवरी, जमरा चढाइ दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।'

मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबै सँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन्, जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

प्रकाशित : आश्विन १८, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?