प्रत्यक्षमा चुनाव नलड्ने भट्टराईको घोषणा - समाचार - कान्तिपुर समाचार

प्रत्यक्षमा चुनाव नलड्ने भट्टराईको घोषणा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

'२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन्,'आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।'

उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । 'चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु,' भट्ट्रराईले जनाएका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्‍न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएको नेसपाका अध्यक्ष भट्टराई गोरखा २ का आकांक्षी थिए ।


प्रकाशित : आश्विन १७, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

परिवर्तन र संविधान जोगाउने हाम्रो चुनावी एजेन्डा : नेता पौडेल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधान रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन् ।

पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अझै संकट कायम रहेको पनि बताए ।

पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन् । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायका लागि हामी डटिरहेका छौं । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृत्तिहरुलाई निरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।


प्रकाशित : आश्विन १७, २०७९ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×