कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमलटारीमा आन्तरिक पर्यटकको घुइँचो

नारायण शर्मा

पूर्वी नवलपरासी — दसैंको अवसरमा पूर्वी नवलपरासीको अमलटारी घुम्न आउने आन्तरिक पर्यटकहरू बढेका छन् । पछिल्लो दुई साताको अवधिमा करिब ३ सयभन्दा बढी आन्तरिक पर्यटकले यहाँको भ्रमण गरेका छन् ।

अमलटारीमा आन्तरिक पर्यटकको घुइँचो

‘नेपालीहरूको घुम्ने र रमाउने बानी बढेको देखिन्छ‚’ अमलटारीका होटल व्यवसायी जितनारायण थनेत भन्छन्‚ ‘पछिल्लो समय जंगल घुम्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ । असोजयता यहाँ आउनेहरू सबै नेपाली हुन् ।’

होमस्टे सञ्चालक र आसपासका होटल व्यवसायीले आन्तरिक पर्यटक बढाउन दसैं छुटको अफर दिएका छन् । अफरका कारण समूह-समूह बनेर आउनेहरूको संख्या बढेको छ ।

अमलटारी होमस्टेका अध्यक्ष एवं कावासोती नगरपालिकाका पूर्वउपमेयर प्रेमशंकर मर्दनियाका अनुसार आन्तरिक पर्यटक आकर्षित गर्न दसैं अफर दिइएको छ । कोठा र खानपानमा प्रतिव्यक्ति एक सय रुपैयाँ छुट दिइएको छ ।

जंगल सफारीमा आकर्षित गर्न एकपटक गाडीमा जंगल घुमेको ९ हजार लिइँदै आएकोमा यसपटक भने ८ हजार रुपैयाँमात्र लिने गरिएको छ । एउटा जिपमा एकैपल्ट १० जनासम्म घुम्न सक्छन् ।

‘मोटरसाइकलका यात्रु बढी खर्चालु’

होमस्टे र आसपासका होटलमा आउने आन्तरिक पर्यटकहरूमा गाडीमा आउनेहरूभन्दा मोटरसाइकलमा आउनेहरू बढी खर्चालु हुने गरेको जेएस होटल सञ्चालक जितनारायण थनेत बताउँछन् । गाडीमा चढेर आउने पर्यटकभन्दा मोटरसाइकलमा आउनेहरू बढी खर्चालु हुने गरेको र उनीहरूको बसाइ अवधि पनि २, ३ रातको हुने गरेको उनी बताउँछन् । अमलटारीमा भारतीय र तेस्रो मुलुकका पर्यटकहरू पनि उत्तिकै आउने गरेका छन् ।

पर्यटकहरूले यहाँको सांस्कृतिक भवनमा रात्रि थारु नाच हेर्ने र रमाउने गर्छन्; यस्तो नाचको आनन्द लिनेहरूको संख्या पनि बढ्दो छ ।

होमस्टे बाहिरका होटल व्यवसायीले पनि दसैं अफर भन्दै रुममा ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?