कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उबेलाको बहीखाता

५० वर्षअघिको लेखा प्रणाली खोज्दा ‘महाजनी बहीखाता’ मात्रै भेटिन्छ, जसले उतिबेलाको कारोबारको शैलीलाई बुझाउँछ
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–२ असनटोलका पुराना व्यापारी सन्तोषलाल श्रेष्ठको घरमा अहिले पनि बुबाका पालाका पुराना बहीखाताहरू सुरक्षित छन् । हाते र अफसेट प्रेसको विकास भएपछि बजारमा आएका बनीबनाऊ लेजर (खाता) होइन, हातैले बनाइएका नेपाली कागजका खाता । सन्तोषका बुबा स्व. गोविन्दलाल एक समय पाल्पा क्षेत्रकै नामुद व्यापारी थिए । बुबाको मृत्युपछि पनि उनले २०२४/२५ सालदेखिका बहीखाता सुरक्षित गरेर राखेका छन्, जसले पाँच दशक पुरानो लेखा प्रणाली बुझ्न मात्रै सघाउँदैन, त्यतिबेलाको मूल्यसूची र व्यापार शैली पनि बुझ्न सघाउँछ ।

उबेलाको बहीखाता

‘हिसाबकिताब राख्ने मुन्सी पनि थिए, बुबा आफैं पनि लेखेर राख्ने गर्नुहुन्थ्यो,’ तानसेन नगरप्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘अहिले पनि हामीले पुराना बहीखाता जस्ताको तस्तै राखेका छौं ।’ उनका अनुसार त्यतिबेला कागज भारतबाट आउँथ्यो । भारतबाटै ल्याएका कागजलाई हातैले खाता बनाइन्थ्यो । ती खाता कागज काटेर, सिलाएर बनाउने हो । व्यवस्थापन विषयमा स्नातकोत्तर श्रेष्ठले पुरानो खातापाता प्रणालीबारे बुझाउँदै भने, ‘पहिला हरेक वर्षको लक्ष्मीपूजालाई आर्थिक वर्ष मान्थे । वैशाखबाट नयाँ वर्ष हुन्थ्यो । सरकारी आर्थिक वर्ष असार मसान्त हुन्छ । ४० वर्ष पुगेपछि भने त्यस्ता बहीखाता गण्डकीमा लगेर सेलाउने चलन थियो ।’

पुरानो व्यापारिक केन्द्र तानसेनमा बुटवलबाट मान्छेलाई बोकाएर सामान ल्याइन्थ्यो । खच्चडबाट बोकाएर ल्याउने पनि प्रशस्त थिए । २०२३/२४ सालपछि भने जेनतेन बुटवलबाट गाडी चल्न थाल्यो । तानसेन–५ कैलाशनगरका पुराना व्यापारी ७७ वर्षीय चन्द्रिकाप्रसाद सिमांगैडाले भने, ‘गाडी चले पनि बाटो निकै अप्ठेरो भएकाले हिँडेर व्यापार गर्नेहरू हुन्थे ।’ २०२३ देखि २०३८ सम्म तानसेन बजार गुल्जार थियो । त्यतिबेला पश्चिम पहाडका स्थानीयहरू खरिदारी गर्न यहाँ आउँथे । पछि गुल्मीको रिडी, खर्ज्याङ, रुद्रवेणीलगायत स्थानमा पनि बजार सुरु हुन थाल्यो । ती ठाउँमा तानसेनबाट खच्चडमा बोकाएर सामान लगिन्थ्यो । गाउँगाउँका त्यस्ता व्यापारी र उधारो लैजाने हटियाका व्यापारीका बहीखाता भने तानसेनका व्यापारीसँग हुन्थ्यो ।

सिमांगैडाका अनुसार गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जाको पश्चिम, बेनी, मुस्ताङसम्मका स्थानीय व्यापारी तानसेनमा आउथे । उनले भने, ‘घरलाई आवश्यक सामान र गाउँका लागि थप सामग्री लैजाने छोटे व्यापारी धेरै थिए ।’ उनीहरूको बहीखाता लगत तानसेनकै ठूला व्यापारीले राख्थे । त्यही बहीखाताअनुसार नै ‘लगाना’ उठाउन उनीहरूका गाउँ पुग्नुपर्दथ्यो ।

लगाना उठाउन पनि झन्डै एक महिना गाउँ डुल्नुपर्ने हुन्थ्यो । व्यापारीहरूका अनुसार कम्तीमा २७/२८ दिन लगाना उठाउन गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पर्वतसम्म पुग्ने गर्थे । व्यापारी श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल हुँदै बिर्घा, मिर्मी, पुर्तिघाटको रुट थियो । पर्वतको केही भाग पुगेर शान्तिपुर झर्ने गरिन्थ्यो । गुल्मीको खर्ज्याङ, अर्घाखाँचीको सन्धिखर्क, प्यूठानबाट गुल्मी, बागलुङसम्म पुगिन्थ्यो । कतिपय ठाउँमा लगाना उठाउन जाने घरमा खाना खुवाउँथे । ‘चिउरा र छोप लिएर गइन्थ्यो,’ उनले भने, ‘बाटोमा जे पाइन्छ तेही खाने गरिन्थ्यो ।’ पेन्सन क्याम्प चल्ने समय, ऋषि पञ्चमीलगायतको समय मिलाएर बहीखाताअनुसार लगाना उठाइन्थ्यो । ठाउँठाउँमा बैंकबाट ड्राफ्ट गर्ने सुविधा थियो । २० देखि २८ दिनसम्म घुम्दा १ लाख ५० हजारसम्म पैसा उठ्थ्यो ।

तानसेन घिउ संकलनका लागि प्रख्यात थियो । केही व्यापारीले गाउँबाट जडीबुटी पनि संकलन गरेर ल्याउँथे । भारतको बनारस, लखनउ, गोरखपुरलगायत व्यापारी घिउ खरिद गर्न तानसेन आउँथे । ‘हामीलाई आवश्यक सामान भारतबाट मगाइन्थ्यो,’ सिमांगैडाले भने, ‘हामीकहाँबाट घिउ र जडीबुटी लैजान्थे ।’ उनीहरूले ल्याएको सामानको बिल, यहाँबाट गाउँगाउँमा बिक्री गर्नेको हिसाबकिताब भने बहीखातामार्फत हुन्थ्यो ।

पुराना बहीखाताहरू पल्टाउँदा उतिबेला पनि हिसाबकिताब अहिलेजस्तै परिपक्व देखिन्छ । सिमांगैडाका अनुसार बहीखातामा दोहोरो लेखा प्रणाली नै हुन्थ्यो । सामान खरिद गरेका बिलअनुसारको रेकर्ड हुन्थ्यो । ‘बहीखातामा लेखिएको हिसाबकिताब सबैले बुझ्ने गरी नै हुन्थ्यो,’ उनले भने, ‘जसले गर्दा सामान खरिदबिक्री, लगाना उठाउन बाँकी सबै लेखिएको हुन्थ्यो ।’ यति मात्र होइन, बहीखातामा दैनिक हिसाबकिताब हुन्थ्यो । कति सामग्री कुन मितिमा बिक्री भयो । कति पैसा त्यस दिन खर्च भयो । कहाँको व्यक्तिले के कति सामान लग्यो भन्नेसमेत सबै लेखिएको हुन्थ्यो ।

नेवार समुदायको बाहुल्य रहेको तानसेनका कैलाशनगर र नारायणटोल नेवारी व्यापारीको मुख्य नाका जस्तै थिए । अधिकांश ग्राहक र छोटे व्यापारी भने ब्राह्मण क्षत्री समुदायका हुन्थे । मगर, दलित समुदायका पनि हुन्थे । तर उनीहरूबाट भने ब्राह्मण क्षत्रीले नै खरिद गरेर ल्याउँथे । अधिकांश मगर, दलित समुदायका व्यक्ति भने भरियाका रूपमा आउने गर्थे । ‘धेरै भरिया भनेको मगर समुदायका हुन्थे,’ तानसेन भीमसेनटोलका व्यापारी सदिश श्रेष्ठले भने, ‘बुबाहरूले व्यापार गरेको हेर्दा अचम्म लाग्थ्यो ।’

तानसेनका असनटोल, भगवतीटोल, सिल्खानटोल पनि व्यापारीकै टोल थियो । तानसेन–३ का पुराना व्यापारी हरि श्रेष्ठले आफूले २०२० सालदेखिका बहीखाता देखेको बताए । ‘बुबा व्यापारी भएपछि हामीले राख्नैपर्ने हुन्थ्यो,’ उनले भने, ‘हरेक वर्ष पूजा गर्ने चलन थियो । तराजु, ढक, बहीखाता सबैलाई हामीले भगवान् जस्तै मानिन्थ्यो ।’ बहीखाताको हिसाब हेरेपछि सबै कुरा प्रस्ट हुन्थ्यो ।

इतिहाविद्हरूका अनुसार एक समय तानसेन नुन ओसार्ने बाटोको रूपमा मात्रै चर्चित थिएन, नुनको कारोबारस्थल पनि थियो । चन्द्रशमशेरको पालाअघि भोटे नुन खाने प्रचलन थियो । भोटबाट आएको नुनको हिसाबकिताब पनि व्यापारीहरूले बहीखातामै राखेको देखिन्छ । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार भोटे नुन लिएर आउनेहरूले यताबाट अन्य सामान लिएर जान्थे । चन्द्रशमशेरको पालामा भोटसँगको सम्बन्ध बिग्रिएपछि भने तानसेनमा भारतीय सावरमतिबाट ल्याएको नुन प्रयोगमा आएको देखिन्छ । इतिहासविद् श्रेष्ठका अनुसार वर्षमा एक पटक हरेक घरबाट कम्तीमा एक जना मानिस कृषिउपजको भारी बोकेर नुनसँग सटही गर्न आउने गर्थे । लामो समयपछि आउने भएकाले केही रकम बाँकी हुन्थ्यो । त्यो पैसा तिर्न ‘डे बुक’ले मात्र पुग्थेन । बहीखाता बनाएर राख्नुपर्ने बाध्यता हुन्थ्यो ।

महाजनी बहीखाता

इतिहासविद् श्रेष्ठका अनुसार ‘महाजनी बहीखाता’ भारतीय खाता प्रणालीबाट विकसित भएको हो । पहिला भारतीय व्यापारीहरू तानसेनसम्म सामान लिएर आउँथे । उनीहरूले नै यहाँका व्यापारीलाई महाजनी बहीखाता राख्न सिकाएका हुन् । ‘भारतीय पद्धतिअनुसार हिसाबकिताब राख्ने प्रणालीको यहाँ पनि विकास गराए,’ उनले भने, ‘प्राचीनकालदेखि ने महाजनी बहीखाता हुन्थ्यो । सोही अनुसार व्यापारको हिसाबकिताब राखिन्थ्यो ।’

व्यापारीलाई ‘महाजन’ भनिने भएकाले पनि खातालाई ‘महाजनी बहीखाता’ भन्ने गरिएको बुझिन्छ । पुराना बहीखाताको बाहिरपट्टि ‘सरस्वती’ ‘शुभलाभ’ लेखिएको देखिन्छ । व्यापारीहरूले हरेक वर्षको बहीखाता छुट्याएर कोरा कपडाले बाँधेर राख्ने गरेको देखिन्छ । महाजनी बहीखाताको प्रयोग नेपाली कांग्रेसको २००७ सालको आन्दोलनताका समेत प्रयोग गरेको देखिन्छ । निर्मलका अनुसार आन्दोलनको सबै खर्च प्रणाली कांग्रेसले बहीखातामा राखेको बताउँदै भने, ‘जिल्लाका विभिन्न स्थानबाट आन्दोलनमा आउनेहरूको खाना, बास खर्चको हिसाबकिताब बहीखातामै राख्ने चलन थियो ।’

इतिहासविद् श्रेष्ठका अनुसार त्यसबेलामा व्यापारीदेखि सबैले बहीखाता राख्नुपर्ने बाध्यता थियो । नेवारी व्यापारीहरूको ‘बाबुछोराको हरहिसाब, आमाछोरीको अैंचोपैंचो’ कहानी बहीखातामा पनि मिल्न जान्छ । यो प्रणाली पूर्णतया वैज्ञानिक र दोहोरो लेखा प्रणालीको सिद्धान्तमा आधारित रहेको श्रेष्ठ बताउँछन् । कौटिल्यको अर्थशास्त्र र मनु स्मृति नाम ग्रन्थमा पनि बहीखाता प्रणालीका विषयमा लेखिएको उनले बताए ।

‘उधारो लिएर गएका व्यापारीहरू एक वर्षमा बल्ल आउँथे,’ श्रेष्ठले भने, ‘त्यसैले पनि व्यापारीहरूलाई बहीखाता राख्नैपर्ने बाध्यता थियो ।’ पहाडी मात्र होइन, हिमाली जिल्लाबाटसमेत तानसेनमा व्यापारीहरू खच्चड लिएर आउँथे । कतिपयको कारोबार उधारोमा पनि हुन्थ्यो । बहीखाता नराख्ने हो भने हिसाबकिताब नै थाहा हुँदैनथ्यो । कतिपयले भने ‘डे बुक’ मात्र राख्ने पनि गर्थे । तर जसले भारतीय व्यापारीसँग कारोबार गर्थे ती सबैले बहीखाता नै प्रयोग गर्थे ।

त्यो ढाक्रे बजार

२०२३ सालअघि तानसेनमा नुवाकोट–झुम्सा–सिस्ने–मस्याम भएर सामान आउँथ्यो । यसरी सामान लिएर आउनेहरूलाई तानसेनका व्यापारीले ‘ढाक्रे’ भन्थे । यसरी आएको सामान गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दीसम्मका जनताहरूले खुद्रामा किनेर लैजान्थे । ‘पाँच/सात दिनसम्म पैदल हिँडेर ढाकरभरि सामान लिएर आउनुपर्दथ्यो,’ संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले भने, ‘त्यसैले उनीहरूलाई व्यापारीले ढाक्रे भन्थे ।’

पुराना बजार भएकाले तानसेनका अक्सर घरहरूमा पसल थियो । कैलाशनगर, सित्तलपाटी, असनटोल, टक्सार, वसन्तपुर, नारायणस्थानमा सामान लिन आउने ढाक्रेहरू बस्ने पौवा थिए । अधिकांश व्यापारीले ढाक्रेका लागि छुट्टै बस्ने टहरो बनाउने चलन थियो । उनीहरूका लागि दाउरा र खाने खर्चसमेत छुट्याएर दिने चलन थियो । हरेक पटक प्रायः एकै व्यक्ति आउने भएकाले चिनजान राम्रै हुन्थ्यो । उनीहरूका लागि बहीखाता बनाएर राखिन्थ्यो । सोही खाताअनुसारको लगाना उठाउन जाने गर्थे । तानसेनको कैलाशनगर, बतासे, प्रभास, बारुदखान क्षेत्रमा खच्चड, घोडाको लस्कर हुन्थ्यो ।

ढाकर बोकेर सामान लिन आउने ढाक्रेको ताँती अचम्मको हुन्थ्यो । ‘सानोमा हामी त्यही जमघट हेर्दा नै मज्जा लाग्थ्यो,’ संस्कृतिविद् मदन देउरालीले भने, ‘त्यसबेलामा साँच्चिकै तानसेन गुल्जार थियो ।’ सिद्धार्थ राजमार्ग, गुल्मीतर्फको सडक बनेपछि बिस्तारै तानसेनको बजार सुक्दै गयो । गाउँमा सडक पुग्दै गएपछि बजार पनि बस्दै गयो । गुल्मीको रिडी, रुद्रवेणी, तम्घास, शान्तिपुर, बामीटक्सारतिर बजार सर्दै गयो । पछिल्लो समयमा बागलुङको बुर्तिबाङ, ढोरपाटनलगायत स्थानमा सवारी साधन पुग्न थालेपछि बजार पनि उतै सर्दै गएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?