पोखरीमा २७ बाँदर मृत भेटिए - समाचार - कान्तिपुर समाचार

पोखरीमा २७ बाँदर मृत भेटिए 

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका ९ नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएका छन् । जंगलको बीचमा रहेको पोखरीमा खसेर बाँदर डुबेका डिभिजन वन कार्यालयका फरेष्टर दिपक पाण्डेले बताए ।

बाँदर कसरी पोखरीमा खसे भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सुरूमा एउटा बाँदर रूखबाट पोखरीमा खसेको र त्यसलाई बचाउन अरू पोखरीमा हाम फालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

सिँचाइको लागि निर्माण गरिएको पोखरी हो । पाण्डेका अनुसार अर्घा गाउँबाट थेरवाङ जंगलमा रहेको पोखरीमा पुग्न डेढ घण्टा हिँड्नु पर्छ । शनिबार साँझ बाँदर पोखरीमा डुबेका हुन् । पोखरीमा ६ फिट तारजाली लगाइएकाले बाँदर निस्कन नसकेको पाण्डेले बताए । मरेका बाँदरलाई खाडल खनेर गाडिएको उनले बताए ।

प्रकाशित : आश्विन १६, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

टपरी जोगाउन प्रतियोगिता

रमेशचन्द्र अधिकारी

धनकुटा — चोकमा महिलाहरू सालको पातलाई सिन्काले खिल्दै टपरी बनाउन व्यस्त थिए । कसले चाँडो पात गाँस्ने भन्ने होडबाजी थियो । उनीहरूले पूजाआजा तथा चाडपर्वका लागि टपरी गाँसिरहेका थिएनन् ।

बिरलै मात्र आयोजना हुने टपरी गाँस्ने प्रतियोगिताका लागि यो चलिरहेको थियो ।

धनकुटा नगरपालिका–६ भीमसेनस्थान चोकमा ६० वर्ष नाघेका महिलाका लागि प्रतियोगिता गरिएको थियो । पूजा, पुराण, पितृकार्य तथा अन्य परम्परागत सन्दर्भमा सालको टपरी प्रयोग हुन्छ । तर प्लास्टिक तथा कागजका सामग्री प्रयोग बढ्दै गएपछि टपरी विस्थापित हुँदै गएको छ । मौलिक परम्परा जोगाउन बौद्धिक विकास समाजले उक्त प्रतियोगिता गरेको हो ।

समाजको ३२ औं स्थापना दिवसमा टपरी बुनाइ प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष सुवासचन्द्र जोशीले बताए । त्यसो त यो पहिलो प्रतियोगिता होइन । जोशीका अनुसार यसअघि पनि दुई पटक टपरी बुनाइ र रुवाको बत्ती कात्ने प्रतियोगिता आयोजना गरिएको थियो । नयाँ पुस्तामा बिस्तारै टपरी गाँस्ने सीप हराउँदै गएकाले संरक्षणका लागि यस्ता कार्य गर्दै आएको उनको भनाइ छ ।

‘प्रतियोगिताले दुना–टपरी संरक्षणको सन्देश दिनुका साथै रमाइलो पनि भयो,’ जोशीले भने, ‘कम्तीमा पछिल्ला पुस्तामा यसबारे चासो जाओस् भनेर जुट्दै आएका छौं ।’ प्रतियोगितामा सामेल ७२ वर्षीया शान्तिदेवी श्रेष्ठले आमाबाट बाल्यकालमै दुना–टपरी गाँस्न सिकेको बताइन् । छोराछोरी, नातिनातिनालाई भने सिकाउन नसकेको बताउँछिन् । उनी प्रतियोगितामा तेस्रो भएकी थिइन् ।

यसैगरी ६२ वर्षीया इन्द्रकुमारी श्रेष्ठ पहिलो र ६५ वर्षीया मुना श्रेष्ठ दोस्रो भए । २० मिनेटमा सबैभन्दा बढी टपरी बनाउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गरियो । निर्धारित समयमा इन्द्रकुमारीले ९, मुनाले साढे ७ र शान्तिदेवीले ७ टपरी बनाएका थिए । विजयीहरूलाई आकारका थर्मस एवं भाँडाकुँडा, मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ८ महिला सहभागी थिए ।

संस्कृति एवं परम्पराको जगेर्ना गर्न यस्ता प्रतियोगितालाई निरन्तता दिइने संस्थाका पूर्वसचिव नवीनकिशोर शाक्यले बताए । धनकुटा–७ त्रिवेणी चोकमा रहेको हाम्रो बहुमुखी पाठशालाले बालबालिकालाई सामेल गरेर दुना–टपरी बनाउने सीप सिकाउँदै आएको छ । विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष सरोज भुजेलले बताए ।

विगतमा आयोजित तालिम प्रभावकारी भएकाले निरन्तरता दिइने उनले अनुभव सुनाए । भुजेलका अनुसार ज्येष्ठ महिला प्रशिक्षकबाट पछिल्ला पुस्ताकालाई तालिम दिइनेछ । उनले सालको पातबाट बनाएको दुना–टपरी पवित्र मानिने धार्मिक मान्यता रहेको बताए ।

प्रकाशित : आश्विन १६, २०७९ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×