डेंगी नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण- समाचार - कान्तिपुर समाचार

डेंगी नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगी नियन्त्रणप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् ।

शनिबार मन्त्री क्वार्टरमा स्वास्थ्यमन्त्री खापुङलाई भेटेर उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । नेविसंघले सरकारले डेंगी नियन्त्रणका लागि यथाशीघ्र छिटो उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गर्नुपर्ने, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगी परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगीलाई सरकारले चाँडोभन्दा चाँडो डेंगी प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्नेलगायत माग राखेको छ ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगी रोकथामका लागि सरकार लागिरहेको बताएका छन् । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिबार १० बजे १० मिनेट खोज र नष्ट गर भन्ने अभियान चलाएको र पानी जमेका ठाउँ र फोहोर भएका ठाउँहरू सफा गर्ने काममा सरकार लागेको बताए ।

उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिए पनि अपेक्षाअनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्टअनुसार बजारमा औषधि अभाव नरहेको दाबी गर्दै संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगी महामारी नपुगेको उल्लेख गरे ।

प्रकाशित : आश्विन १५, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए ?

रासस

काठमाडौँ — हिन्दूको महान् पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ । 

पोका/पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृश्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए । पश्चिम नेपाल जान कलंकी पुगेकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताइन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैं सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए । बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उनको अनुमान थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ ।

यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् ।आजदेखि दसैं बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो ।

कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ?

ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए ।

असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।

असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १५, २०७९ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×