टिकटमा पूर्वाग्रह नराख्न ओलीलाई आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकटमा पूर्वाग्रह नराख्न ओलीलाई आग्रह

मत र सिट बढाउन आन्तरिक शक्ति सुदृढ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा–राप्रपासँग तालमेल गर्ने एमालेको रणनीति
बबिता शर्मा

काठमाडौँ — एमालेमा फरक विचार राखेकै आधारमा टिकट दिन पूर्वाग्रह राख्न नहुने आवाज उठेको छ । संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असहमति जनाएका १० नेतामध्ये टिकटका आकांक्षीलाई पूर्वाग्रह नराख्न नेताहरूले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

ओली निवास बालकोटमा बिहीबार बसेको सचिवालय बैठकमा नेताहरूले पार्टीका तर्फबाट जित्ने उम्मेदवारलाई भेदभाव नगरी टिकट दिनुपर्ने बताएका थिए । फरक विचार राख्ने नेताहरूलाई ‘आत्मालोचना’ गरेपछि मात्र टिकट दिइने चर्चा भइरहेका बेला सचिवालय बैठकमा यस्तो आवाज उठको हो । एमालेका एक पदाधिकारीका अनुसार ओलीले बाहिर चर्चा भएजस्तो आत्मालोचना गरेपछि मात्र टिकट दिइने भन्ने विषयमा जान्न चाहेका थिए । ‘प्रत्यक्षमा उठ्न चाहने कतिपय नेताहरूको जाँगर देखिँदैन, आत्मालोचना गरेपछि मात्र टिकट दिइने भन्ने कहाँबाट आयो ?’ ओलीको भनाइ थियो । उनले खासगरी नेता घनश्याम भुसाल र भीम रावलप्रति संकेत गरेका थिए । भुसाल रूपन्देही र रावल अछामबाट प्रत्यक्ष उठ्न चाहे पनि टिकट पाउनेमा ढुक्क हुन सकेका छैनन् ।

फरक मत राखेका १० नेताले संस्थापनले पूर्वाग्रहका आधारमा टिकट निश्चित गर्न ढिलाइ गरेको भन्दै ओलीको ध्यानाकर्षण गराएका हुन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले विगतको धारणाका आधारमा नभई जित्न सक्ने उम्मेदवारले टिकट पाउने बताए । ‘टिकट दिनेबारे कुनै पूर्वाग्रह छैन, हामी सबै साथीहरू एउटै बैठकमा छौं, बाहिर चर्चा भएजस्तो समस्या छैन,’ उनको भनाइ थियो ।

सचिवालय बैठकमा टिकट वितरणबारे खुला छलफल भएकाले मनोनयन दर्ता गर्ने दिनसम्म समस्या नहुने उनले दाबी गरे । ‘पार्टीलाई जिताउने र आफू जित्ने उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने एउटै धारणा छ,’ उनले भने, ‘विगतमा कसले के धारणा राख्यो, त्यसका आधारमा उम्मेदवार चयन गर्नुहुँदैन भन्नेमा सबै नेता सहमत हुनुपर्छ ।’

रावलले पनि आफ्नो एकल सिफारिस भएकाले उम्मेदवार बन्नेमा विश्वस्त रहेको बताए । ‘मलाई अछामबाट एकल सिफारिस गरिएको छ, त्यहाँका नेता–कार्यकर्ता र जनताले उम्मेदवार हुनैपर्छ भनेर जोड गर्नुभएको छ, टिकट पाउनेमा विश्वस्त छु तर दिने/नदिने अख्तियार प्राप्त नेताहरूको कुरा हो,’ उनले भने ।

समानुपातिक उम्मेदवार सूचीमा पूर्वमाओवादीबाट आएका व्यक्तिहरू पनि समेटिनुपर्ने सुझाव ओलीलाई नेताहरूले दिएका छन् । सचिव टोपबहादुर रायमाझीले ‘टिकट वितरणबारे समस्या नभएको’ उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिक र प्रत्यक्ष उम्मेदवार चयन गर्ने विषयमा गम्भीर भएको जानकारी दिएको बताए । सचिवालय बैठकमा ओलीले टिकट वितरणमा न्यायोचित ढंगले निर्णय गरिने बताएका थिए । प्रतिनिधिसभाका लागि उम्मेदवारको अन्तिम सूची आएपछि मात्र विश्वास गर्न सकिने एक नेताले बताए । ‘अध्यक्षले भनेको कुरा व्यवहारमा कति लागू हुन्छ, उम्मेदवारको अन्तिम सूची आएपछि थाहा होला,’ उनको भनाइ थियो ।

मत र सिट बढाउन एमालेले आन्तरिक शक्ति सुदृढ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा–राप्रपासँग तालमेल गर्ने रणनीति अघि सारेको छ । एमालेले तालमेल केन्द्रस्तरमा नभई जिल्ला तहमा मात्र हुने यसअघि नै स्पष्ट गरिसकेको छ ।

गत स्थानीय निर्वाचनको तुलनामा १६ प्रतिशत मत बढाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो शक्ति बन्ने महत्वाकांक्षी लक्ष्य राखेको एमालेले त्यसैअनुसारको रणनीति बनाई सम्पूर्ण शक्ति मत र सिट वृद्धिमा केन्द्रित गरेको छ । पाँचदलीय गठबन्धनका कारण भने एमाले स्थानीय निर्वाचनमा जस्तै दबाबमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार समानुपातिक र प्रत्यक्षमा टिकट बाँडफाँट गरेर आन्तरिक असन्तुष्टि ‘व्यवस्थापन’ गर्ने रणनीति लिएको छ । पार्टी अनुशासनको मुद्दा उठाएर असन्तुष्ट नेताहरूलाई ससर्त टिकट दिने रणनीति पनि एमालेले बनाएको छ । पार्टीभित्र टिकट नपाएको असन्तुष्टि अन्तर्घातको तहमा नपुगोस् भनेर एमालेले सतर्कता अपनाएको छ । स्थानीय तहमा केही ठाउँमा अन्तर्घात हुँदा निर्वाचन परिणाम प्रभावित भएको र प्रतिनिधिसभा एवं प्रदेशसभामा त्यही नियति दोहोरिन नपाओस् भन्ने एमालेको चासो छ । ‘आन्तरिक असन्तुष्टि अन्तर्घातको तहमा नजाओस् भन्ने नै हो, यसलाई व्यवस्थान गरेर जाने भन्ने छ,’ एक पदाधिकारीले भने ।

पूर्वमाओवादी नेताहरूलाई ‘होल्ड’ मै राख्ने एमाले नेतृत्वको योजना छ । नेताहरूका अनुसार पूर्वमाओवादीलाई पुरानै घरमा फर्किन नदिन केहीलाई समानुपातिकमा समेट्ने र चुनाव लड्ने जनाधार भएकालाई मात्रै उम्मेदवार बनाउने तयारी एमालेको छ । अर्कोतर्फ समानुपातिक सूचीमा नयाँ अनुहार पठाएर एमालेले पार्टीभित्र सबैलाई ‘न्याय’ हुने सन्देश प्रवाह गरिसकेको छ ।

एमालेले सत्ता गठबन्धनभित्रको असन्तुष्टिलाई भने अधिकतम उपयोग गर्ने नीति लिएको छ । सोहीअनुसार कांग्रेसको शेखर कोइराला र गगन थापा समूहसँग संवाद बढाउने, उक्त समूहबाट विद्रोही उठे सघाउने मात्र होइन, आपसमा मत साटासाटा गर्नेसम्मको रणनीतिमा रहेर एमाले नेताहरूले काम गरेको स्रोत बताउँछ । कोइरालाले ओलीलाई भदौ १६ मा भेटेर चुनावी रणनीतिबारे छलफल गरेका थिए । स्रोतका अनुसार कांग्रेसको असन्तुष्ट समूहका नेताहरू अहिले पनि एमाले नेतृत्वसँग संवादमा छन् । यसबाहेक टिकटलाई लिएर गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाभित्र उत्पन्न हुनसक्ने असन्तुष्टिलाई पनि उपयोग गर्ने एमालेको दाउ छ । सिट बाँडफाँट र उम्मेदवार चयनले गठबन्धनमा रहेका दलहरूभित्र व्यापक असन्तुष्टि देखिने एमाले नेताहरूको मूल्यांकन छ ।

कांग्रेसको कोइराला–थापा समूहले समानुपातिक बन्दसूचीमा असन्तुष्टि राख्दै संस्थापनविरुद्ध पार्टी मुख्यालयमा धर्नासम्मको आन्दोलन गरिसकेको छ । सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि सूचीलाई लिएर माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाभित्र पनि असन्तुष्टि छ । गठबन्धनभित्र असन्तुष्ट समूहले अर्को दलका उम्मेदवारलाई भोट नदिने आंकलन एमाले नेताहरूको छ । त्यसको फाइदा आफूलाई हुने र गठबन्धन दलले जित्ने सिट संख्या घट्ने विश्लेषण एमालेको छ । ‘गठबन्धनलाई जनताले रुचाएनन् भन्ने कुरा स्थानीय चुनावमा देखियो, अहिले सिट बाँडफाँटले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभित्र असन्तुष्टि व्यापक छ, आफ्नो उम्मेदवार नहुँदा कांग्रेसका मतदाताले माओवादी वा अर्को दललाई भोट किन दिन्छन् ?’ एमालेका एक नेता भन्छन्, ‘त्यसकारण हामीले धेरै मिहिनेत गर्नैपर्दैन । गठबन्धन जति बलियो भए पनि हामी कम्तीमा ५० सिट जित्छौं ।’

टिकट नपाउने अवस्थाकै कारण धनकुटामा हेमराज भण्डारी तथा चितवनमा यमबहादुर परियारलगायतका नेताले माओवादी छाडिसकेका छन् । एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूलाई एमालेमै फर्काउने क्रम पनि जारी छ । बिहीबार मात्रै एकीकृत समाजवादी डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री नन्दसिंह बुढा एमालेमा फर्किएका छन् । केही दिनअघि एकीकृत समाजवादीका अछाम जिल्ला कमिटी अध्यक्ष हिरण्य भट्टराई र पाल्पाका नेताहरू पनि एमालेमा फर्किएका थिए । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् । यस्तै पूर्वमन्त्री एवं जसपाका केन्द्रीय सदस्य खोभारी रायलाई पनि एमालेले भित्र्याएको छ ।

पाल्पा, अछाम र कर्णाली प्रदेशका केही जिल्लाबाट एकीकृत समाजवादीमा लागेका नेताहरू एमालेमा फर्केका छन् । मत र सिट बढाउन चौतर्फी कोसिस गरेको एमालेले अहिले सबैभन्दा बढी ध्यान मधेश प्रदेशमा लगाएको छ । मधेशमा विभिन्न दलका असन्तुष्ट नेता–कार्यकर्तालाई भित्र्याउने, जनाधार भएका र चुनाव जित्ने सम्भावना रहेका नवप्रवेशीलाई टिकटमा प्राथमिकता दिने एमालेको योजना छ । एमालेले स्थानीय निर्वाचनमा पनि यस्तै रणनीति बनाएको थियो ।

एमालेले अहिले मधेसमा पार्टी प्रवेश अभियान नै चलाएको छ । लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया, जसपाका सांसदहरू अमृता अग्रहरि, रिना यादव, अञ्जुकुमारी यादव र रुही नाज एमाले प्रवेश गरिसकेका छन् । लोसपाका मधेस प्रदेश सांसद प्रह्लाद गिरी पनि एमालेमा भित्रिएका छन् । यसैगरी लोसपाकै केन्द्रीय सदस्यहरू सन्तराम अग्रहरी, भगवानदास चौधरी, मधुसदनशरण चौधरी, राजमती यादव, सरसती चमकटिया र जामवन्ती भुजलगायत केही जिल्ला नेता पनि एमाले प्रवेश गरेका छन् ।

कतिपयलाई एमालेको सूर्य चिह्नबाट उठाउने अर्को रणनीतिमा पनि नेताहरूले काम गरेका छन् । नागरिकता विधेयकमा एमालेको भूमिकाप्रति भने मधेसमा सकारात्मक सन्देश छैन । तर, मधेश आन्दोलनको प्रभाव कम भएका कारण व्यक्तिगत र एमालेको मतबाट चुनाव जित्न सकिने आकलनसहित विभिन्न दलका नेता–कार्यकर्ता प्रवेश गरेको वरिष्ठ पत्रकार एवं लेखक चन्द्रकिशोर बताउँछन् । ‘पुरानो लिगेसी हुँदाहुँदै पनि एमाले पछिल्लो चुनावमा मधेसमा कमजोर देखियो, खासगरी मधेस आन्दोलनमा एउटा ‘न्यारेटिभ’ एमालेविरोधी थियो, त्यसैले एमलेलाई मधेसमा आफू मजबुत छु भन्ने देखाउनु छ,’ चन्द्रकिशोर भन्छन्, ‘त्यसका लागि मधेस आन्दोलनका दललाई विभाजित गरेर वा धेरैभन्दा धेरै नेता–कार्यकर्ता तान्नुपर्छ भन्ने भयो । अहिले हेर्ने हो भने एमालेमा बढी मान्छे लोसपा र जसपाबाट गएका छन् । एमालेले अनुहार हेरिराखेको छैन, संख्या बढाइराखेको छ । त्यसले मत त बढाउँछ तर कति सिट जित्छ भन्न गाह्रो छ ।’

मधेसका आठ जिल्लाका ३२ सिटबाट कम्तीमा १० देखि १२ सिटमा जित निकाल्ने एमालेको योजना छ ।

यसबाहेक उसले लोसपा र राप्रपासँग तालमेलका लागि संवाद जारी राखेको छ । पहिला ती दलका असन्तुष्टलाई भित्र्याउने र थोरै सिटमा मात्रै तालमेल गर्ने एमालेको योजना छ । लोसपा नेता जितेन्द्र सोनलले एमालेसँग तालमेल हुने करिब निश्चित भएको बताए । ‘एमालेसँग दुई चरण वार्ता भइसकेको छ, संवाद सकारात्मक ढंगले अघि बढेको छ,’ सोनलले भने, ‘एक–दुई दिनमा छिनोफानो हुन्छ ।’

राप्रपाले भने धेरै सिट दाबी गरेका कारण सहमति जुट्न नसकेको स्रोत बताउँछ । अर्कोतर्फ कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि एमालेसँग संवादमा छ तर उसको प्रभाव र मत कम भएका कारण कहाँ, कसरी तालमेल हुन्छ/हुन्न भन्ने यकिन नरहेको एमाले स्रोतको भनाइ छ । थापालाई सूर्य चिह्नबाट निर्वाचन लडाउनसक्ने विकल्पमा छलफल भएको नेताहरू बताउँछन् ।

प्रकाशित : आश्विन १५, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्जमा रामलीलाको रौनक

कान्तिपुर संवाददाता

नेपालगन्ज —  कोरोना महामारीका कारण पछिल्ला २ वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगन्जमा धुमधामका साथ सुरु भएको छ । भारतको मथुरा वृन्दावन धामबाट २१ जना कलाकार झिकाएर रातभरि संगीत, भजन, आरती गाई रामलीला देखाउन थालिएको छ ।

१ सय ५२ वर्षदेखि निरन्तर हुँदै आएको रामलीला मञ्चनको यो वर्षको संस्करण सोमबारदेखि सुरु भएको छ । जुन ११ दिनसम्म मञ्चन हुनेछ ।

जनकपुरमै रामलीला देखाउने कलाकार भए पनि भाषाका कारण भारतबाटै कलाकारको टोली ल्याउने गरिएको छ । १४ लाख रुपैयाँको लगानीमा सुरु गरिएको रामलीला मञ्चनका लागि जनसमुदायबाट नगद संकलन गरेर खर्च व्यवस्थापन गरिंदै आएको छ । रामलीला मञ्चनका लागि आएको भारतीय टोलीले ६ लाख रुपैयाँ पारिश्रमिक लिने गरेको छ ।

नेपालगन्ज–९ स्थित रामलीला मैदानमा भइरहेको रामलीला महोत्सवमा रामचरित्र मानसका आधारमा नारदमोह लीलादेखि रामको राज्याभिषेकसम्मको कथा मञ्चन हुनेछ ।

प्रत्येक दिन राति ८ बजेदेखि रामलीला देखाइँदै आइएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको यो लीला मञ्चनलाई यस वर्ष भव्यताका साथ सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए । ‘रामलीलाको १ सय ५५ औं जयन्ती समारोहमा वृन्दावन धामका ख्यातिप्राप्त राधारमण शर्मा महाराजद्वारा संगीतमय आधुनिक साजसज्जाका साथ लीलाको प्रदर्शन गराइरहेका छौं,’ उनले भने ।

सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो लीला नेपालीका साथै सीमावर्ती भारतीयबीच पनि लोकप्रिय छ । रामलीला हेर्न भारतीय सीमावर्ती बजारबाट पनि दर्शक आउने गरेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले सुनाए ।

प्रकाशित : आश्विन १५, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×