कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिव्यक्ति निगरानीमा सेना-प्रहरी पनि खटाउँदै निर्वाचन आयोग

सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएका सामग्री गलत वा भ्रमपूर्ण पाइए तत्काल हटाउन लगाउने, कारबाहीको सिफारिस गर्नेसम्म अधिकार आयोगको संयन्त्रलाई
राज्य संयन्त्रले आफै नियम बनाएर वा आदेश दिएर नियमन गर्न पाइँदैन, सेना र प्रहरीको संयन्त्रमार्फत अनुगमन त संविधानले परिकल्पना गरेभन्दा विपरीत छ । – भीमार्जुन आचार्य, संविधानविद्
मिडिया र सामाजिक सञ्जाल अनुगमनमा सेना, प्रहरी र विज्ञापन बोर्ड सहभागी गराउँदा गलत सन्देश जान्छ । प्रेस अफिसमा जंगी कर्मचारी किन चाहियो ? – राजेन्द्र दाहाल, पूर्वअध्यक्ष, प्रेस काउन्सिल
मकर श्रेष्ठ

काठमाडौँ — आसन्न आमनिर्वाचनका बेला सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री अनुगमन गर्न निर्वाचन आयोगले सेना र प्रहरीसमेत परिचालन गर्ने भएको छ । संविधानले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रतामा अंकुश लाग्ने गरी आयोगले सेना र प्रहरीसमेत सम्मिलित संयन्त्रमार्फत कुनै व्यक्तिले सामाजिक सञ्जालमा राख्ने ‘पोस्ट’ लाई समेत अनुगमन गर्न लागेको हो ।

अभिव्यक्ति निगरानीमा सेना-प्रहरी पनि खटाउँदै निर्वाचन आयोग

मंसिर ४ मा हुने आमनिर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री अनुगमनका लागि आयोगले सेना र प्रहरीको साइबर ब्युरो, विज्ञापन बोर्ड, साइबर बोर्ड, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने संयन्त्र बनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा रहने ‘प्रेस अफिस’ नामको उक्त संयन्त्रले अनलाइन सञ्चारमाध्यममा प्रकाशन हुने समाचार, सूचनाका साथै व्यक्तिगत ब्लग र उम्मेदवारहरूको सामाजिक सञ्जालका गतिविधि अनुगमन गर्ने अधिकार पाएको छ । आयोगबाट प्रवाह हुने सूचना सञ्चारमाध्यमबाट सम्प्रेषण हुँदाको प्रयोग हुने भाषा, दल र उम्मेदवारलाई दिएको पहुँच पनि संयन्त्रले अनुगमन गर्नेछ ।

निर्वाचनसम्बन्धी सार्वजनिक पोस्ट भएका क्रियाकलाप, निर्वाचनका बेला प्रयोग भएका मुख्य शब्दावलीको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्ने, तथ्य जाँच गर्ने, सामाजिक सञ्जालमा प्रभाव पार्ने मुख्य पात्रको अनुगमन गर्नेसम्मको अधिकार संयन्त्रलाई छ । आयोगले स्वीकृत गरेको प्रेस अफिसको अवधारणापत्रको उद्देश्यमा ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट हुन सक्ने निर्वाचन आचारसंहिताको उल्लंघनको अनुगमन गर्ने’ उल्लेख छ ।

सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएका सामग्री गलत वा भ्रमपूर्ण पाइए तत्काल हटाउन लगाउने, त्यस्ता सूचना हाल्ने व्यक्तिलाई कारबाहीको सिफारिस गर्ने अधिकार पनि प्रेस अफिसलाई दिइएको छ । कुनै व्यक्तिले झूटा सूचना प्रचार गरेको शंका लागे वा गुनासो प्राप्त भए संयन्त्रले ‘जाँचबुझ’ गरी कारबाहीको सिफारिस गर्नेछ ।

संविधानविद् भीमार्जुन आचार्यले व्यक्तिको सामाजिक सञ्जाल अनुगमन र नियमन गर्न खोज्नु अधिनायकवाद भएको बताए । ‘निर्वाचन आयोगले जे गर्न खोज्दै छ, यो त अधिनायकवाद भइहाल्यो नि । व्यक्तिको सामाजिक सञ्जाल अनुगमन र नियमन राज्यको कुनै पनि निकायले गर्नै पाउँदैन,’ उनले भने, ‘आफूले जारी गरेको आचारसंहिता कार्यान्वयन भयो वा भएन भनेर हेर्ने काम आयोगको हो । व्यक्तिको अभिव्यक्ति जाँच गर्न खोज्नु भनेको व्यक्तिगत स्वतन्त्रतामा अंकुश लगाउनु हो ।’

संविधानको धारा १७ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको हकबाट निर्वाचन आयोगले वञ्चित गर्न खोजेको आचार्यको भनाइ छ । ‘हाम्रो संविधानको विशेषता भनेकै व्यक्तिगत स्वतन्त्रता हो । संविधानले दिएको अधिकार र संसद्ले बनाएको कानुनले मात्रै नियमन र नियन्त्रण गर्न सक्छ । राज्यको संयन्त्रले दिएको आदेश र उसले बनाएको नियमका आधारमा नियमन गर्न पाइँदैन,’ उनले भने, ‘व्यक्तिको सामाजिक सञ्जाल अनुगमन गर्ने र कारबाही गर्ने हो भने मौलिक स्वतन्त्रता नै भएन ।’ निर्वाचन आयोगले सेना र प्रहरीको संयन्त्रमार्फत गर्न खोजेको अनुगमन संविधानले परिकल्पना गरेभन्दा विपरीत भएको आचार्यको भनाइ छ ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल मिडिया र सामाजिक सञ्जाल अनुगमनमा सेना, प्रहरी र विज्ञापन बोर्ड सहभागी गराउँदा गलत सन्देश जाने बताउँछन् । ‘प्रेस अफिसमा जंगी कर्मचारी किन चाहियो ? नामचाहिँ प्रेस भन्ने अनि जंगी कर्मचारी राख्ने, अस्वाभाविक र आश्चर्य लाग्यो,’ उनले भने, ‘आचारसंहिता जेल हाल्ने कानुन होइन । गलत छ भने सुधार गर्न मौका दिने हो ।’

निर्वाचन आयोगले आफ्नो कामको अनुगमन र मूल्यांकन अर्को निकायबाट गराउनुपर्नेमा आफैंले छुट्टै संरचना बनाउनु गलत हुने विज्ञहरू बताउँछन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडियाको अनुगमन आयोगको क्षेत्राधिकारमा नपर्ने बताए । ‘जसको जे काम हो त्यो गर्ने हो, निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । आफैं मिडिया र सामाजिक सञ्जालको अनुगमन किन गर्नुपर्‍यो ?’ उनले भने, ‘मिडिया कन्टेन्टको अनुगमन प्रेस काउन्सिलले गर्ने हो । त्यसमा आयोगसँग न विज्ञता छ न क्षमता । निर्वाचन गराउने कार्यालयले अनुगमन पनि मै गर्छु, कारबाही पनि मै गर्छु भन्ने होइन ।’ निर्वाचनमा राज्यका हरेक निकाय र नागरिकलाई सहभागी गराउनुपर्नेमा आयोगले एकाधिकार गर्न खोज्नु नै गलत भएको उनले बताए ।

स्थानीय तहको निर्वाचनमा पनि आयोगले आफ्नो क्षेत्राधिकार बाहिर गई प्रेस स्वतन्त्रताविरोधी शब्द राखेर सञ्चारमाध्यमलाई पत्र काटेको उल्लेख गर्दै पोखरेलले आसन्न आमनिर्वाचनमा प्रहरी, सेना र विज्ञापन बोर्डको प्रतिनिधि राखेर अनुगमन गर्न खोज्नुमा आशंका गर्ने प्रशस्त आधार रहेको बताए । ‘यस्तो संरचना बनाएर मिडियालाई घेराबन्दीमा राख्न खोजेको देखिन्छ,’ उनले भने, ‘व्यक्तिले लेखेको विचार सेना र प्रहरीले नियमन गर्न खोज्नु पनि अभिव्यक्ति स्वतन्त्रताविपरीत हो । आयोगले जे गर्न खोज्दै छ, त्यसले प्रेस स्वतन्त्रतामा असर गर्छ । यो निर्णय सच्याउनु जरुरी छ ।’

वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारीले सेना र प्रहरी परिचालन गरेर मिडिया र सामाजिक सञ्जाल अनुगमन गर्न खोज्नु गलत भएको बताए । ‘निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगले छुट्टै संयन्त्र बनाउन सक्छ । तर नेपालका सन्दर्भमा सेना र प्रहरीलाई यस्तो संयन्त्रमा सहभागी गराउनु हुँदैन,’ उनले भने । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल निर्वाचन आयोगले बनाउन लागेको संयन्त्र नै दुरुपयोग हुन सक्ने बताए । ‘आयोगले फेक (नक्कली) सूचना नियन्त्रण गर्न सेना, प्रहरीसहितको टोली बनाएको हुन सक्छ तर यसको दुरुपयोग हुन सक्छ,’ उनले भने ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भने आन्तरिक प्रयोजनका लागि अनुगमन गर्ने संरचना बनाएको बताए । सेना, प्रहरी, विज्ञापन बोर्ड, प्रेस काउन्सिलका प्रतिनिधिलाई समन्वय गर्न संरचनामा समेटिएको उनको भनाइ छ । ‘झूटा विवरण बाहिर आउँदा निर्वाचनको निष्पक्षता, विश्वसनीयता कायम हुन नसक्ने भएकाले सामाजिक सञ्जाल अनुगमन गर्नुपर्ने भएको हो,’ उनले भने, ‘विज्ञ हामीसँग छैनन् । अहिले अनुसन्धान गरिरहेकै प्रहरी र सेनाको प्रतिनिधि राखिएको हो । विज्ञापनमार्फत पनि आचारसंहिता उल्लंघन भएको देखिए समन्वय गर्न विज्ञापन बोर्डका प्रतिनिधि राखिएको हो । कुनै अनलाइनले गलत सूचना सम्प्रेषण गरेर बन्द गर्नुपर्ने भए समवन्यमा सजिलो पार्न दूरसञ्चार प्राधिकरणको प्रतिनिधि पनि राखिएको छ ।’

आयोगका अर्का एक अधिकारीले भने प्रेस काउन्सिलले निर्वाचन अनुगमनका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट मागेको र आयोगले दिन नसक्ने भएपछि आफैंले अनुगमन गर्न लागेको बताए । ‘स्थानीय तहको निर्वाचनका बेला अनुगमनका लागि हामीले काउन्सिललाई ३० लाख रुपैयाँ दिएका थियौं तर हिसाब पारदर्शी नभएपछि आमनिर्वाचनमा छुट्टै संयन्त्र बनाएर अनुगमन गर्न लागिएको हो,’ उनले भने ।

प्रकाशित : आश्विन १४, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?