१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘नेपाल ठूला शक्तिहरूको बक्सिङ रिङ भयो’

‘पछिल्लो समय भारत र चीन दुवैतर्फबाट सरकार र सरकारबीचमा भन्दा पनि पार्टी र पार्टीबीचमा भइरहेको सम्बन्ध विस्तारले परराष्ट्र मन्त्रालयजस्तो संस्थालाई कमजोर बनाउँछ’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ठूला शक्ति राष्ट्रहरूको बक्सिङ रिङ भएको भूराजनीतिक जानकारहरूले बताएका छन् । नेपालमा दुई छिमेकी चीन र भारत तथा विश्व शक्ति राष्ट्र अमेरिकाको गतिविधि बढिरहेको उल्लेख गर्दै नेपाललाई लिएर शक्ति राष्ट्रहरूले चासो दिन थालेको उनीहरूले बताएका हुन् ।

‘नेपाल ठूला शक्तिहरूको बक्सिङ रिङ भयो’

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरेसन (सीईएसआईएफ) द्वारा आयोजित कार्यक्रममा बोल्दै जानकारहरूले शक्ति राष्ट्रहरूले आ–आफ्नो चासोसहित नेपालमा आइरहेको र नेपालले पनि त्यही रूपमा उनीहरूसामु प्रस्तुत हुनुपर्ने सल्लाह दिएका हुन् ।

‘नेपाल–चीन सम्बन्धको हालसालैका घटनाहरू’ मा केन्द्रित छलफलमा भूराजनीतिक जानकार निश्चलनाथ पाण्डेले भने, ‘हामी शक्ति राष्ट्रहरूको बक्सिङ रिङ भयौं । हाम्रो भूमिमा प्रोक्सीका रूपमा उनीहरूले गतिविधि गरिरहेका छन् । उनीहरू काठमाडौं, ढाका, कोलम्बो, मालेलगायत स्थानमा सक्रिय छन् ।’

पाण्डेले अबको निर्वाचन नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण हुने पनि बताए । उनले पछिल्लो समय भारत र चीन दुवैतर्फबाट सरकार र सरकारबीचमा भन्दा पनि पार्टी र पार्टीबीचमा भइरहेको सम्बन्ध विस्तारले परराष्ट्र मन्त्रालयजस्तो संस्थालाई कमजोर बनाउने प्रस्ट पारे । ‘संस्थागत सम्बन्धभन्दा पनि व्यक्ति–व्यक्ति र दलहरूबीचमा सम्बन्ध अघि बढ्यो भने त्यसले हाम्रो स्थापित संस्थाहरूलाई असर गर्छ,’ उनले भने ।

कूटनीतिज्ञ तथा भूराजनीतिक जानकार दिनेश भट्टराईले चीन उदाउन लागेको नभई उदाइसकेको प्रस्ट पारे । उनले अमेरिकाको पहिलो शक्तिलाई घटाउन लागेको र अमेरिका चीनलाई अघि बढ्नबाट रोक्ने बाटोमा रहेको बताए । ‘हाम्रो छिमेकी शक्तिका रूपमा उदाइसकेको छ,’ उनले भने । उनले चीनले लामो समयसम्म सोच्ने गरी गृहकार्य र योजना बनाउने पनि बताए । भट्टराईले नेपाल यो शताब्दीकै सबैभन्दा कठिन भूराजनीतिक अवस्थामा रहेको दाबी गरे । ‘नेपाल अहिले भूराजनीतिको मुख्य केन्द्रबिन्दु बनेको छ,’ उनले भने ।

भूराजनीतिक जानकार आभास्ना पाण्डेले सन् २०१० पछि विदेश नीतिमा चीन सक्रिय रूपमा लागेको बताइन् भने अर्का जानकार अनुराग आचार्यले नेपालसँगको रसुवागढी नाकालाई दक्षिण एसियामा व्यापार गर्ने बिन्दुका रूपमा विकास गर्न चाहेको बताए । ‘नेपालमा भूराजनीतिक प्रतिस्पर्धा’ शीर्षकमा बोल्दै अर्थशास्त्री स्वर्णिम वाग्लेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट नेपालले प्राप्त गरेको ५ सय मिलियन डलर अनुदान महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘यति ठूलो अनुदान न नेपालमा यसअघि पाएको थियो न भविष्यमा पाउँछ । एमसीसीलाई त्यत्तिकै गलत रूपमा दुष्प्रचार गरियो ।’

अर्का अर्थशास्त्री अच्युत वाग्लेले नेपालले आफू बलियो हुन र आफ्नो सार्वभौमिकता बलियो बनाउनका लागि आर्थिक रूपमा पनि एक हिसाबले बलियो हुनुपर्ने बताए । उनले भने, ‘हामीले के उत्पादन गरेका छौं र निर्यात गर्छौं । हाम्रो ध्यान उत्पादन गरेर निर्यात गर्न हुनुपर्छ ।’ उनले भोलि नेपालमा बेइजिङबाट वा दिल्लीबाट रेल आउँदा नेपालले फर्कने बेलामा त्यसमा के राखेर पठाउँछ भन्ने पनि महत्त्वपूर्ण पक्ष रहेको बताए ।

सीईएसआईएफका अध्यक्ष तथा पूर्वराजदूत विजयकान्त कर्णले नेपाल उत्तर, दक्षिण वा पश्चिम फर्कन हुने बताए । उनले नेपाल कुनै पनि पक्षमा फर्कंदा त्यसले नेपाललाई फाइदा नगर्ने बताए । उनले भने, ‘अमेरिका, भारत र चीनको नयाँ–नयाँ कुरा भइरहेका छन् । सबैले आ–आफ्नो पोजिसन खोजिरहेका छन् । नेपालले यसलाई कसरी उपयोग गर्ने भन्ने हो ।’

भूराजनीतिक जानकार अपेक्षा शाहले अहिले जसले जुन–जुन हिसाबमा आफूलाई फाइदा हुन सक्छ, त्यही रूपमा सम्बन्ध विस्तार गरिरहेको बताइन् । उनले अहिले अन्तर्राष्ट्रिय जगत्मा विभिन्न मुलुकहरूले रणनीतिक साझेदारी गरिरहेको प्रस्ट पारिन् । पत्रकार अजयभद्र खनालले नेपालमा भूराजनीतिक क्रियाकलाप बढिरहेको उल्लेख गर्दै नेपालले आफ्नो अनुकूल फाइदा लिनुपर्ने प्रस्ट पारे ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?