कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनास्लु हिमपहिरोमा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो

हिमपहिरोमा १ जनाको मृत्यु, ९ जनाको काठमाडौंमा उपचार हुँदै, १ जना समान्य घाइते काममा फर्किए
कान्तिपुर संवाददाता

काठमाडौँ — मनास्लु हिमालमा सोमबार गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका हाई अल्टिच्युड गाइड अनुप राईको शव हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

मनास्लु हिमपहिरोमा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो

हिमाल आरोहण गराउने संस्थाहरूको छाता संगठन एक्सपिडीसन अपरेटर्स एसोसिएसन नेपालका कोषाध्यक्ष ऋषिराम भण्डारीका अनुसार गाइड राईको शव सिम्रिक एयरको हेलिकप्टरबाट मंगलबार साँझ ल्याइएको हो ।

‘राईको शव मनास्लुको तेस्रो शिविरबाट काठमाडौं विमानस्थल ल्याइयो, त्यहाँबाट पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । बुधबार शव पोस्टमार्टम गरिने छ,’ भण्डारीले भने । धरानका ३४ वर्षीय गाइड राई भण्डारीकै कम्पनी सातुरी एडभेन्चर्स प्रालिमा १६ वर्षदेखि कार्यरत थिए । संखुवासभाको याफु – ८ मूल घर भएका राई काठमाडौं कपनमा पत्नी, ११ वर्षीय छोरा र २ वर्षीया छोरीसँग बस्दै आएका थिए ।

गोरखा प्रहरीका अनुसार उनको शव मनास्लु हिमालको तेस्रो शिविरमाथि उद्धारकर्मीले सोमबारै फेला पारेका थिए । उनी सातुरीले व्यवस्थापन गरेको १० जना विदेशी आरोहीको समूहलाई आरोही शेर्पा (गाइड) का रुपमा सघाउन भदौ १६ गते काठमाडौंबाट मनास्लुतर्फ लागेका थिए ।

प्रहरीको प्रारम्भीक तथ्यांक अनुसार मनास्लुमा सोमबार गएको हिमपहिरोमा ११ जना नेपाली च्यापिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने बाँकी ९ जना गम्भीर र एक जना सामान्य घाइते भएका थिए । गोरखा प्रहरी प्रमुख लिलाराज लामिछानेका अनुसार, मंगलबार घटनास्थल नजिकै तेस्रो शिविरबाट हेलिकप्टरमा काठमाडौं पठाइएका घाइतेहरूमा सोलुखुम्बुका २९ वर्षीय फुरिता शेर्पा, संखुवासभाका २७ वर्षीय निमा शेर्पा, ४० वर्षीय सीमा भनिने निमा दोर्जे शेर्पा, २५ वर्षीय दावा शेर्पा र २६ वर्षीय मोहनसिंह तामाङ छन् । त्यस्तै हेलिकप्टरबाट दोलखाका ४० वर्षीय फरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङलाई काठमाडौं ल्याइएको थियो ।

घटनास्थलबाट उद्दार गरिएका सोलुखुम्बुका ३५ वर्षीय किनु पेम्वा भने सामागाउँबाट पुन: मनास्लु हिमालको आधार शिविरमै फर्केको प्रहरीले जनाएको छ । सोमबार संखुवासभाको मकालुका २७ वर्षीय सुकुबहादुर तामाङ र दोलखा गौरीशंकरका ४४ वर्षीय जीतबहादुर शेर्पाको ५ घन्टापछि उद्धार गरी काठमाडौं ल्याइएको थियो । घाइतेमध्ये ७ जनाको बूढानीलकण्ठमा रहेको करुणा र दुई जनाको मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

एसोसिएसनले सोमबार मनास्लुमा हिमपहिरोले बिगारेको क्याराभान मंगलबार बनाइएको जनाउँदै मौसम अनुकुल भएमा आरोहण सुरु हुने जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?