कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको बताएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सिट बाँडफाँटको टुंगो लागेसँगै कांग्रेसले लिएका क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने बताइएको छ । 

सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा : कांग्रेस

दसैं‚ तिहार र छठको अवसरमा शुभकामना दिने क्रममा प्रवक्ता महतले निर्वाचनका लागि दल दर्ता गराउने; निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेश गर्नेलगायत काम सम्पन्न भएको भन्दै आ-आफ्ना क्षेत्रमा डटेर लोकतन्त्र र कांग्रेसका पक्षमा जनमत बनाउन र अत्यधिक मतदान गराउने वातावरण तयार गर्न अनुरोध गरेका छन् ।

त्यस्तै समानुपातिकतर्फको बन्दसूचीमा दर्ता भएका उम्मेदवारको टुंगो लगाउँदा पार्टीका पदाधिकारीहरूबीच छलफल भएको र पार्टीको आधिकारिक निकायबाट सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशील हुनसमेत निर्देशन दिइएको छ ।

‘जिल्लाका सम्बन्धित निकायबाट पार्टीको उम्मेदवार सिफारिसमा परेर राजधानीमा आउनुभएका नेपाली कांग्रेसका इमानदार, अनुशासित, कर्मठ साथीहरूमध्ये अधिकांश साथीहरू यही यथार्थलाई आत्मसात् गर्दै पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउने संकल्प बोकेर जिल्ला फर्किसक्नुभएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘विजया दशमीको नवरात्र आरम्भ भैसकेकाले साथीहरूलाई आ-आफ्नो गृहजिल्ला पुगी बडादशैं हर्षोल्लासपूर्वक मनाउन र आ-आफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ ।’

प्रकाशित : आश्विन ११, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?