गठबन्धनमा बढ्दै असन्तुष्टि : आफैंले टिकट पाए स्वीकार, नपाए विद्रोह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनमा बढ्दै असन्तुष्टि : आफैंले टिकट पाए स्वीकार, नपाए विद्रोह

प्रकाश धौलाकोटी

काठमाडौँ — सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर विद्रोहको स्वर चुलिँदो छ । शीर्ष नेताहरू भागबण्डा मिलाउन दिनहुँ छलफलमा छन् । तर, नेताहरूले सिट बाँडफाँटको नटुंग्याउँदै गठबन्धन दलभित्र विद्रोहीको उम्मेदवारी सुरू भएको छ । सिटको बाँडफाँट हुँदा अर्को दलबाट उम्मेदवार हुने अवस्थामा जिल्ला–जिल्लाबाट त्यसको विरोध हुने र विद्रोही उम्मेदवार हुन सक्ने देखिएको छ । खासगरी ठूला दलहरूमा नेताहरूले विद्रोहको चेतावनी दिइरहेका छन् ।

गठबन्धन दलका नेता कार्यकर्ताले आफ्नो क्षेत्र पार्टीको भागमा परे गठबन्धनलाई स्वीकार गर्ने, नभए कतिपय ठाउँबाट विद्रोह गर्ने चेतावनी दिएका छन् । गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेसमा नेता शेखर कोइराला समूहका नेताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गरिरहेका छन् ।

गठबन्धनमा पार्टीले १०० सिट लिनुपर्ने र पार्टीभित्रको शक्ति सन्तुलनलाई समेत ध्यानमा राखेर गठबन्धनमा सिटको बाँडफाँट हुनुपर्ने कोइराला समूहका नेताहरूको माग छ । सोमबार ठमेलमा भेला गरेका कोइराला समूहका नेताहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूचीमा नाम सच्याउनेसहित टिकटको न्यायोचित वितरणका लागि भन्दै आन्दोलनको घोषणा गरेको छ ।

कांग्रेसमा मात्रै होइन, गठबन्धनको निर्णयविरुद्व माओवादी केन्द्रमा पनि विद्रोह सुरू भएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै धनकुटामा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हेमराज भण्डारीसहित पार्टीका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीहरूले नै पार्टीबाट राजीनामा दिएका छन् ।

गठबन्धनमा सिट बाँडफाँट हुँदा धनकुटा माओवादी केन्द्रले पाउनुपर्ने, नभए आफूहरूले गठबन्धनको निर्णय अस्वीकार गर्ने उनीहरूको अडान छ ।

अहिले गठबन्धनमा सिट बाँडफाँटको टुंगो नलागेकोमध्ये एक क्षेत्र हो, धनकुटा । यहाँ एउटामात्रै निर्वाचन क्षेत्र छ, तर त्रिपक्षीय दाबी छ । नेता भण्डारीले आइतबार पत्रकार सम्मेलन गरेरै गठबन्धनबाट धनकुटामा पार्टीले सिट नपाउने अवस्था बनेका कारण राजीनामा दिने निर्णयमा पुगेको बताए । उनले त्यहीबाट आफू प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेको घोषणासमेत गरे ।

‘गठबन्धन र पार्टीमा टिकटका लागि मैले गरेको आग्रह सुनुवाइ भएन, जिल्लामा पार्टीका कार्यकर्तामा निराशा छ,’ उनले भने, ‘गठबन्धन गर्दा पार्टीका तर्फबाट उम्मेदवार नहुने भएपछि मैले पार्टीबाट अलग भएर उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

०६४ को संविधानसभामा निर्वाचित भएका भण्डारी ०७० मा पराजित भए । तर, ०७४ मा भने गठबन्धनका कारण उनले टिकट पाएनन् । यसपटक उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यासी थिए । तर, धनकुटामा माओवादी केन्द्रभन्दा कांग्रेस र जनता समाजवादी पार्टीको दाबी बलियो बनेको अवस्थामा भण्डारीले आफूले टिकट नपाएपछि पार्टीबाटै अलग हुने घोषणा गरेका हुन् ।

तर, माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले भने भण्डारीसहित नेताहरूले दबाबस्वरुप राजीनामा दिएको दाबी गरे । ‘उहाँहरूले राजीनामा दिनुभएको छ, तर पार्टी छोड्नुभएको होइन । उहाँहरूले दबाब सिर्जना गर्न त्यो गर्नुभएको छ,’ उनले भने, ‘सिट बाँडफाँटमा दबाब दिने उहाँहरूको नीति हो । तर उहाँहरूले विद्रोह नै गर्नुहुन्छ भन्ने लागेको छैन ।’

धनकुटामा कांग्रेसबाट पूर्वसहमहामन्त्री सुनिलबहादुर थापा र जसपाबाट रकम चेम्जोङको दाबी छ । चेम्जोङ आफैँ गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलमै बसेर काम गरिरहेका छन् । धनकुटाबाट उम्मेदवार बन्न थापा र चेम्जोङबीच लडाई छ ।

धनकुटाजस्तै अन्य क्षेत्रहरू पनि छन्, जहाँ कांग्रेस, माओवादी र जसपासहित दलको दोहोरो–तेहोरो दाबी छ । कतिपय क्षेत्रमा कांग्रेसकै नेताहरूबीच टिकटका लागि प्रतिस्पर्धा छ, नेताहरू आफैँले नपाए विद्रोह गर्ने भन्दै नेताहरूमाथि दबाब सिर्जना गरिरहेका छन् ।

कोइराला समूहले पार्टीको बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूचीमै असन्तुष्टि जनाएको छ । कोइराला समूहले बन्द सूचीमा आफ्नो पक्षका नेताहरूको नाम समेट्न माग गर्दै बुधबार दिउँसो केन्द्रीय कार्यालयमा धर्ना बस्ने घोषणा नै गरिसकेको छ ।

सोमबार ठमेलमा बसेको बैठकपछि नेता भुपेन्द्रजंग शाहीले पार्टीभित्र समान हक र न्यायोचित रुपमा अवसरको बाँडफाँट नभए विद्रोह गर्ने अवस्था सिर्जना भएको बताए । ‘हामी पार्टीलाई एक ढिक्का बनाएर अघि लैजान चाहान्छौँ । तर, सभापतिजीले त्यस्तो चाह देखाउनुभएको छैन,’ उनले भने, ‘प्रतिस्पर्धीलाई पूर्णरुपमा पाखा लगाएर एकलौटीरुपमा उहाँले उम्मेदवार चयन गर्नुभएको छ, समानुपातिकको सूची त्यहीअनुसार बनेको छ, अब प्रत्यक्षमा पनि त्यहीअनुसार टिकट वितरण हुने हो भने पार्टीभित्र ठूलो दुर्घटना हुन्छ, पार्टीलाई ठूलो नोक्सानी हुन्छ ।’

सोमबारको भेलामा पनि अधिकांश नेताहरूले पार्टीभित्र अवसरको समान वितरण नभए विद्रोही उम्मेदवारी दिने धारणा राखेका छन् ।

कोइराला समूहका भेलामा अहिले नेता कोइरालासहित पदाधिकारीहरू सहभागी छैनन् । तर, दोस्रो तहका सातै प्रदेशका नेताहरूले काठमाडौं दिनहुँ विद्रोही भेला गरिरहेका छन् ।

नेता गुरुराज घिमिरेले आफूहरूले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन संघर्ष गरिरहेको बताए । ‘जहाँ कोइराला समूहका नेताको प्रभाव छ, त्यो सिट गठबन्धनको अर्को दललाई दिने, जहाँ संस्थापन पक्षको नेताको प्रभाव छ, त्यो सिट कांग्रेसले लिने र कोइराला समूहलाई पाखा लगाएर आफूमात्रै अघि बढ्ने नियत देखिएको छ,’ नेता घिमिरेले भनेका छन्, ‘यदि त्यस्तो प्रयासमात्रै भयो भने पनि राम्रो हुदैन । हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौँ ।’

उनले बिहीबारसम्म आफूहरूले संघर्ष गर्ने, र त्योबेला सम्म समानुपातिक सूची सच्याउनेसहित आफूहरूले उठाएका विषयमा छलफल नभए अप्रिय निर्णय लिनसमेत पछि नपर्ने बताए ।

त्यसो त कांग्रेसमा संस्थापन पक्षकै नेताहरू समेत टिकटको विषयमा सभापति देउवामाथि दबाब बनाइरहेका छन् । देउवानिकट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत आफ्नो क्षेत्रमा गठबन्धन भएपनि आफैँ उम्मेदवार हुनुपर्ने जिकिर गर्दै आएका छन् । बस्नेत र माओवादी केन्द्रका नेता अग्मी सापकोटाको निर्वाचन क्षेत्र एउटै हो ।

०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ मा सापकोटाले बस्नेतलाई पराजित गरेका थिए । अहिले गठबन्धन हुँदा सो क्षेत्र कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने निश्चित छैन । बस्नेतले आफूले नपाए सिन्धुपाल्चोकमा गठबन्धन नै नहुने बताउँदै आएका छन् । ‘हामीले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गरेको होइन, बहुमत सिट जितेका छौँ,’ बस्नेतनिकट एक नेताले भने, ‘हामी कहाँ गठबन्धन आवश्यक छैन । यदि गठबन्धन गर्ने नै हो भने पनि यहाँबाट मोहनबहादुर बस्नेत नै उम्मेदवार हुनुपर्छ, नभए गठबन्धन स्वीकार छैन ।’

काठमाडौं–२ मा पनि त्यस्तै दोहोरो–तेहोरो दाबी छ । यहाँ माओवादी केन्द्रबाट ओनसरी घर्तीमगरको दाबी छ भने कांग्रेसले पनि दाबी छोडेको छैन । ०७४ मा यहाँबाट निर्वाचित माधवकुमार नेपाल यसपटिक रौतहट–१ बाट चुनाव लड्ने तयारीमा छन् ।

गठबन्धन दलबीच अन्य क्षेत्रहरूमा पनि टिकटका लागि प्रभावशाली नेताहरूबीच यस्तै प्रतिष्पर्धा छ । जहाँ एकले टिकट पाए, अर्कोले विद्रोह गर्न सक्नेसम्मको सम्भावना कायम छ । यस्ता दर्जनौँ निर्वाचन क्षेत्रका नेता अहिले गठबन्धनबाट आफैंले टिकट पाए स्वीकार गर्ने, नभए गठबन्धनमा विद्रोह गर्ने मानसिक तयारीमा देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको निर्णयविरुद्व केही ठाउँमा विद्रोह भएको थियो । शीर्ष नेताहरूले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै निर्णय गरेर उम्मेदवार चयन गरेका थिए । तर, त्यो निर्णयको विरुद्वमा आवाज उठाएका कांग्रेस जनकपुरका तत्कालिन सभापति मनोजकुमार साहले विद्रोही उठेरै चुनाव जिते । जबकि यहाँ गठबन्धनबाट जनता समाजवादी पार्टीका लालकिशोर साह उम्मेदवार थिए । तर, उनी तेस्रो भए ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका जगन्नाथ पौडेल विद्रोही उम्मेदवार थिए भने विराटनगरको मेयरमा जसपाबाट उमेश यादवले विद्रोही उम्मेदवारी दिएका थिए ।

प्रकाशित : आश्विन १०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्

स्वचालित सवारीप्रति बढ्दो सन्देह

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्युटर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सवारी दुर्घटना रोक्न मद्दत गर्ने एभी निर्माताहरूले दाबी गर्दै आएका छन् । तर, जोखिमको अड्कल र आँकलन गर्ने मानवीय क्षमता सेल्फ ड्राइभिङ सफ्टवेयरमा नहुने भएकाले यिनले मान्छेलेभन्दा सुरक्षित रूपमा गाडी चलाउन सक्ने कुरामा सत्यता नभएको विज्ञहरूको भनाइ छ ।

आफैं चल्ने सवारी (अटोनोमस भेहिकल वा एभी) बनाउन स्टार्टअप कम्पनीहरूले हाल अबौं डलर खर्च गरिरहेका छन् । चालकको आवश्यकता नपर्ने र मानवीय त्रुटिले हुने दुर्घटना रोक्न एभीले मद्दत गर्ने दाबी गरिएको छ । वेमो (गुगल), टेस्ला, जेनेरल मोटर्स, बाइडु, फोर्डलगायतले सेल्फ–ड्राइभिङ कार बेच्ने गरेका छन् ।

कम्पनी र उद्यमीहरूको दाबी विपरित, एभी सवारी साधानका विज्ञहरू मानव पर्यवेक्षकबिना त्यस्ता कार आफैं चल्न नसक्ने बताउँछन् । आपतकालीन अवास्थामा सेल्फ–ड्राइभिङ कारका रोबट चालकको भर पर्न नसकिने तिनको भनाइ छ । तसर्थ, एभीलाई नियन्त्रण गर्न मानवीय सहयोग अपरिहार्य हुने विज्ञको भनाइ एभी निर्माताका लागि ठूलो चुनौती बनेको छ ।

हाल संयुक्त राज्य अमेरिकामा टेस्लाविरुद्ध उजुरी परेको छ । उजुरीमा टेस्ला र यसका मालिक इलन मस्कले टेस्लाका एभीमा अटोपाइलट र पूर्ण रूपमा आफैं चल्ने सुविधा भएको भनी झुटो प्रचार गरेर जनता झुक्याएको आरोप लगाइएको छ । सेल्फ–ड्राइभिङ कार त परको कुरा टेस्लाले रिमोट्ली एसिस्टेड (मानव सहायतामा चल्ने) कार बनाउन समेत अझै समय लाग्ने उजुरीमा भनिएको छ । यो घटनापछि सेल्फ–ड्राइभिङ कारप्रति मानिसमा शंका र अविश्वास पैदा भएको छ । गत जुनमा जेनेरल मोटर्सको सेल्फ–ड्राइभिङ कार दुर्घटनामा पर्दा दुईजना घाइते भएका थिए । त्यसयता कम्पनीले कारको सफ्टवेयर अपडेट गरेको छ । यद्यपी, यसमा मानवीय निगरानी आवश्यक पर्ने कम्पनीले बताउन थालेको छ । सेल्फ–ड्राइभिङ कारले गाडीको आउँदै गरेको मार्गबारे गलत विवरण दिनसक्ने अमेरिकी सुरक्षा नियाकमहरूको भनाइ छ । जेनेरल मोटर्ससले भने आफ्नो क्रुज ब्रान्डको गाडीमा अब त्यस्ता समस्या नआउने बताएको छ ।

सन् २०१८ मा जेनेरल मोटर्सले स्टिरिङ चक्का र एक्सलरेटरसमेत नभएको पूर्ण रूपमा स्वचालित कारका लागि अमेरिकी सरकारसँग अनुमती मागेको थियो । सन् २०१९ मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले १० लाख ‘रोबोट्याक्सी’ निर्माण गर्ने बाचा गरेका थिए । उनको कम्पनीको ‘पूर्ण स्वचालित’ कारलाई लिएर धेरै आलोचना हुने गरेको छ । केही समयअघि मात्रै मस्कले स्वचालित कार बनाउनु आफूले सोचेभन्दा गाह्रो काम रहेको बताएका थिए । प्रतिबद्धताअनुरुप सेवा दिन नसकेकाले एभी उद्योगप्रति आम भरोसा डगमगाएको छ । अबका दुई वर्षमा यिनले सफलता हासिल गरेनन् भने तिनको कुनै भविष्य नरहने विज्ञहरूको दाबी छ । एभीका लागि अहिले कि माथि जाने कि बन्द हुने अवस्था रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७९ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×