कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ हिमाल आरोहणका लागि ५०५ जना विदेशी आरोही नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक युवराज खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ । 

१५ हिमाल आरोहणका लागि ५०५ जना विदेशी आरोही नेपालमा

विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ । शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ । नेपालले वर्षायाम निख्रिनै लाग्दा शरदयामका लागि आरोहण अनुमति वितरण शुरु गर्ने गरेको छ ।

नेपालले वसन्त, शरद, हिउँद–ग्रिष्म गरी तीन याममा आरोहण सञ्चालन गर्छ । विभागले सबैभन्दा धेरै आरोहण अनुमति वसन्तयाममा जारी गर्छ । वसन्तयामपछि धेरै आरोहण अनुमति जारी हुने सिजन शरदयाम पर्छ । विभागका निर्देशक खतिवडाले यो सिजनका लागि दसैंसम्म अनुमति जारी हुने बताए । शुक्रबारसम्म जारी भएको अनुमतिबाट विभागले ५ करोड ५६ लाख सलामी दस्तुर संकलन गरेको छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?