कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

विराटनगर — मुलुकको हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण गर्ने गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थ नीतिका उल्झन’ विषयक सत्रमा बोल्दै मन्त्री कार्कीले समस्या पुँजीगत खर्च कम हुनु रहेको बताए ।

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

‘पुँजीगत खर्च नहुनुको पछाडी केही कारणहरु छन्, त्यो सबैलाई थाहा छ,’ मन्त्री कार्कीले भने, ‘देशमा राजनैतिक स्थिरता नहुँदा विकास निर्माणको गति तेज हुन नसकेको कुरा नकार्न सकिँदैन ।’ तर २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले झन्डै–झन्डै दुई तिहाइको सरकार बनाउन नेपाल कम्युनिस्ट पार्टीलाई जनमत दिएपनि त्यो धेरै टिक्न नसकेको बताए । ‘उक्त सरकारले २०१५ सालपछि मुलुकलाई स्थिरता दिएर आर्थिक क्रियाकलापलाई अघि बढाउने अवसर पाएको थियो, त्यो अवसर गुमायो,’ उनले भने, ‘अहिले सरकार छोटो समयका निम्ति आएको छ, केही कुरा बुझ्दाबुझ्दै अर्को सरकार आउने परिस्थति हुन्छ, यो कुरालाई आत्मसात गर्छु ।’

उनले मन्त्री परिषदमा मन्त्रीहरु परिवर्तन भइरहने भएकाले यसलाई अनौठो रुपमा लिन नहुने बताए । ‘जुन मन्त्री परिवर्तन भएर आउँछ, उसले आफ्नै किसिमको निति अंगाल्न खोज्दा पनि समस्या आएका छन्,’ उनले भने, ‘२०४६ सालको परिवर्तनपछि हामीले उदार अर्थनिति अवलम्बन गर्‍यौं, त्यही उदार नितिका कारणले भूकम्प, कोभिडबाट थलिएको अर्थतन्त्रलाई अहिले गति दिने काम भएको छ ।’ यसका पछाडी नितिगत स्थायीत्वको कुरालाई भुल्नु नहुने उनको भनाई थियो ।

‘केही नितिगत उल्झन छन्, ती उल्झनहरुलाई सच्याउने आफ्नै तरिकाहरु छन्, त्यो तरिकाबाट अगाडी बढेर ती उल्झनहरुलाई समाधान गरी गर्न सकिन्छ,’ उनले भने, ‘विकासको जुन लक्ष्य छ, जनताको विकासप्रतिको जुन सपना छ, त्यो सपनालाई पूरा गर्न हामी निर्वाचनको संघारमा छौं, निर्वाचनपछिको संकल्प भनेको मुलुकको आर्थिक विकासलाई अगाडि बढाउने भन्ने हो ।’

प्रकाशित : आश्विन ८, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?