कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास र अर्थतन्त्रमा राजनीतिक प्रतिस्पर्धा नभएसम्म समस्या रहिरहन्छ : रिजाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले विकास र अर्थतन्त्रमा राजनीतिक प्रतिस्पर्धा नभएसम्म समस्याहरु रहिरहने बताएका छन् । उनले प्रदेश १ ले राजनीतिक दाउपेचकै कारण पाँच वर्षसम्म आफ्नो नामकरण समेत गर्न नसकेको बताए ।

विकास र अर्थतन्त्रमा राजनीतिक प्रतिस्पर्धा नभएसम्म समस्या रहिरहन्छ : रिजाल

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको पहिलो सत्र ‘प्रदेशको परीक्षा’ मा बोल्दै नेता रिजालले भने, ‘अहिले हामीहरू सरकारले समेत ‘म्यानफ्याक्चर’ गर्न थाल्यौं । एउटा वस्तुको मुल्य तोकिएको जस्तै अघिल्लो पटकको चुनावमा दुई वटा कम्युनिस्ट पार्टीहरु मिलेर एउटा संख्याको सरकार निर्माण गर्नुभयो, त्यो व्यवस्थापन गर्न सक्नुभएन । अहिले हामी गठबन्धनमा भएका दल मिलेर एउटा संख्याको सरकार निर्माण गरिरहेका छौँ । यसबाट के बुझ्नुपर्छ भने हामीले विस्तारै लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ भन्ने कुरै बिर्सिँदैछौँ ।’ उनले एउटा दल सरकारमा हुने, र फेरि अर्को सरकारमा पुग्नेमा मात्रै प्रतिस्पर्धा हुँदा समस्याहरू थपिँदो रहेको बताए ।

नेता रिजालले प्रदेश १ को नामकरणको सन्दर्भमा समेत त्यस्तै राजनीति भएको टिप्पणी गरे । ‘प्रदेश १ को नामकरणका लागि विभिन्न चरणमा छलफल भए । तर, नाम राख्न सकिएको छैन । मैले सप्तकोसी नाम राख्यो भने यहाँको सबै चिज सम्बोधन हुन्छ भन्ने कुरा राखेको थिएँ, तर मुख्यमन्त्रीजीले ‘विजयपुर’ राख्यो भने सबैको लागि मान्य हुन सक्छ भन्नुभयो,’ रिजालले भने, ‘नाम राख्ने कुरामा दलहरुको आ–आफ्नै चाहना देखिन्छ, त्यही कारण नामकरण हुन नसकेको देखिन्छ ।’

नेता रिजालले प्रदेश १ मा देखिएका विभिन्न जाति र धर्मसँग जोडिएका राजनीतिक चाहनाहरुका आधारमा प्रदेशको नामकरण गर्नु उपयुक्त नहुने बताए । उनले जात र धर्मका आधारमा प्रदेशको नामाकरण गर्दा झन् धेरै समस्या उत्पन्न हुन सक्ने बताए ।

नेता रिजालले प्रदेश १ मा तमोर जलाशययुक्त आयोजनाले विकासको सम्भावनाको ढोका खुला गर्न सक्नेसमेत बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?