‘जीएसआई’ बैठक : राष्ट्रपतिको सहभागितामा परराष्ट्रको लापर्बाही- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जीएसआई’ बैठक : राष्ट्रपतिको सहभागितामा परराष्ट्रको लापर्बाही

नेपालको असंलग्न विदेश नीतिमाथि प्रश्न
जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्र मन्त्रालयको अदूरदर्शिताले नेपाल सहभागी नहुनुपर्ने एक अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी कार्यक्रममा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाएकी छन् । चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको सुरक्षासम्बन्धी कार्यक्रम ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ को भर्चुअल सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी हुन् ।

जीएसआईसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रपति भण्डारीले सहभागिता जनाएसँगै मुलुककै असंलग्न परराष्ट्र नीतिमाथि प्रश्न उठेको छ । सन् २०२२ को अप्रिलमा आयोजित बोआओ फोरम फर एसियाको वार्षिक कार्यक्रममा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले जीएसआईलाई अघि सारेका थिए । राष्ट्रपति सीले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) समूहको औचित्यमाथि प्रश्न गर्दै चीनको नेतृत्वमा जीएसआईलाई प्रस्ताव गरेका हुन् ।

नेपाल सरकारले भने असंलग्न परराष्ट्र नीति लिँदै कुनै पनि मुलुकसँगको सैन्य वा सुरक्षा गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । यही कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आईपीएसमा सहभागिता नजनाउने निर्णय गरेको थियो । त्यसपछि यसै वर्षको असार ६ मा आईपीएसअन्तर्गत रहेको अमेरिकी कार्यक्रम स्ट्रेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा पनि सहभागिता नजनाउने निर्णय गर्‍यो । तर, हाल नेपालले चीनले अघि बढाएको सुरक्षासम्बन्धी कार्यक्रममा सहभागिता जनाएको छ । चीनले पटक–पटक जीएसआईमा नेपालको साथ रहेको उल्लेख गरे पनि नेपाल सरकारबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसैबीच बुधबार राष्ट्रपति भण्डारीले चाइनिज पिपुल्स एसोसिएसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी) द्वारा आयोजित कार्यक्रममा भिडियोमार्फत सम्बोधन गरिन् । संयुक्त राष्ट्रसंघले सन् १९८१ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय ‘पिस डे’ को सन्दर्भमा बेइजिङमा ‘विश्वमा शान्ति र स्थायित्व राखिराख्नका लागि ग्लोबल सेक्युरिटी इनिसिएभिटमार्फत पहल गर्ने’ नाराका साथ कार्यक्रम भएको थियो ।

चिनियाँ सरकारी सञ्चार ‘चाइना डेली’ का अनुसार उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न मुलुकबाट सहभागिता भएको थियो । बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’ मा करिब ५० मुलुकका विदेशी कूटनीतिज्ञले सहभागिता जनाएका थिए । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले पार्टीका महासचिव तथा राष्ट्रपति सीको सन्देश पढेर सुनाएका थिए । सीले अन्तर्राष्ट्रिय सुरक्षा स्थितिमा गहिरो र जटिल परिवर्तन भएको, विश्व अशान्ति र परिवर्तनको नयाँ परिवेशमा प्रवेश गरिरहेको बताएका थिए । ‘यस महत्त्वपूर्ण ऐतिहासिक मोडमा मैले विश्वव्यापी सुरक्षा पहल अगाडि बढाएँ, जसले सबै देशहरूलाई साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षा कायम गर्न आह्वान गर्दछ,’ सीले भनेका थिए ।

सीले अघि सारेको जीएसआई सुरक्षा कार्यक्रममा नेपाललाई समेत पटक–पटक मुछेको भनेर पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गत भदौ २१ मा प्रतिनिधिसभा बैठकमा नेपाल सरकारसँग प्रश्न पनि गरेकी थिइन् । त्यसबारेमा नेपाल सरकारले हालसम्म मुख खोलेको छैन । चिनियाँ राष्ट्रपति सीले अघि बढाएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालको राष्ट्रपति भण्डारी कसरी सहभागी भइन् भन्ने प्रश्न उठेको छ ।

कान्तिपुरलाई प्राप्त जानकारीअनुसार सीपीसीअन्तर्गतको चाइनिज पिपुल्स एसोसिएसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी) मा चीनबाट राष्ट्रपति भण्डारीलाई निम्तो आएपछि शीतल निवासमा जानकारी गराइयो र उनी सहभागी हुने पक्का भएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयकै कर्मचारीले राष्ट्रपति भण्डारीलाई उक्त कार्यक्रममा बोल्ने भाषण तयार पारेर शीतल निवासमा पठाइदिए किनकि राष्ट्रपतिले गर्ने हरेक अन्तर्राष्ट्रिय क्रियाकलाप परराष्ट्र मन्त्रालयमार्फत हुन्छ । राष्ट्रपति कार्यालयमै परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा दरबन्दी छ । ‘यस कार्यक्रमका सम्पूर्ण कुरा राष्ट्रपतिज्यूलाई परराष्ट्र मन्त्रालयमार्फत आएको हो, परराष्ट्रले नै निमन्त्रणा ल्याएको हो, त्यसपछि कार्यक्रममा बोल्नका लागि परराष्ट्र मन्त्रालयले नै भाषण समेत लेखेर पठायो, त्यही भाषण भिडियोमा रेकर्ड गरेर पठाइदिएका हौं,’ राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले भने ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भनेअनुसार राष्ट्रपतिज्यूले गर्दा पनि किन र कहाँबाट समस्या आयो भन्नेबारेमा आफूलाई थाहा नभएको उनले बताए । उनले बुधबारको बैठकमा राष्ट्रपतिज्यूले जीएसआई सम्बन्धमा कुनै पनि कुरा नगरेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिज्यूले नेपालले पञ्चशीलमा विश्वास गर्ने र राष्ट्रहरूबीच विवाद भयो भने त्यसलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो । नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको बताउनुभयो ।’

सुरुवातमा राष्ट्रपति भण्डारीलाई सहभागिता जनाउँदा फरक नपर्ने पत्राचार गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरू कार्यक्रम हुने केही दिनअघि आएर झस्किए । चाइनिज पिपुल्स एसोसिएसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी) को सामान्य कार्यक्रम होइन, यसमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमाथि छलफल हुनेछ भन्ने उनीहरूले थाहा पाए । कार्यक्रमको नारा नै ‘विश्वमा शान्ति र स्थायित्व राखिराख्नका लागि ग्लोबल सेक्युरिटी इनिसिएभिटमार्फत पहल गर्ने’ थियो । जीएसआईमाथि छलफल हुने थाहा पाएपछि परराष्ट्रले राष्ट्रपति भण्डारीलाई त्यसबारे जानकारी गरायो तर पहिले नै कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता गरिसकेको जवाफ आयो ।

त्यसपछि परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले प्रधानमन्त्रीको कार्यालय र मुख्यसचिव शंकरदास बैरागीलाई गुहार्न थाले । ‘कार्यक्रमको सुरुवातमै निमन्त्रणा आउँदा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले गम्भीर भएर अध्ययन नगरेका कारण समस्या आइलाग्यो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘एउटा कार्यक्रममा पहिला सहभागी हुनुपर्छ भनेर निमन्त्रणा दिने, पछि हुँदैन भनेपछि समस्या भइहाल्यो नि ।’ प्रधानमन्त्री कार्यालयबाट समेत राष्ट्रपति भण्डारीलाई कार्यक्रममा सहभागी नहुन आग्रह गए पनि उनले मानिनन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरू भने यसबारे बोल्न मान्दैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार अरुण सुवेदी भने राष्ट्रपतिले कुनै एक कार्यक्रममा सहभागिता जनाए पनि नेपालले अहिलेसम्म आफ्नो असंलग्न विदेश नीतिका कारण कुनै पनि सुरक्षा गठबन्धनमा समर्थन नजनाएको र सहभागिता पनि नजनाएको बताए । ‘जीएसआईको सम्बन्धमा छलफल हुने कार्यक्रममा राष्ट्रपति सहभागी हुनुभयो भन्ने सुनियो तर त्यो एक छलफल मात्र हो, यो नेपाल सरकारको कुनै पनि नीतिमा पर्दैन,’ उनले भने, ‘हाम्रो परराष्ट्र नीति असंलग्न छ, त्यही रहन्छ ।’

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले नेपालले कुनै पनि सुरक्षा सम्बन्धित संगठनसँग सहकार्य गर्न नहुने बताए । उनले नेपालले सुरुवातदेखि नै असंलग्न परराष्ट्र नीति अपनाएकाले सुरक्षा सहकार्य गर्न नहुने बताए । ‘नेपालले आर्थिक सहायता र मानवीयता सहायता लिँदा फरक पर्दैन तर सुरक्षा सहकार्य गर्नु फरक कुरा हो,’ उनले भने । नेपालले सुरक्षा सहकार्य नगर्ने भन्दै सन् २०१८ को सेप्टेम्बरमा बिमस्टेक सैन्य अभ्यास सहभागिता जनाएको थिएन ।

भूराजनीतिक जानकार तथा अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले नेपालले चीनको चासोलाई पूरा गर्दै आइरहेकामा यो नयाँ जीएसआई के हो भन्ने बुझ्नुपर्ने बताए । ‘जीएसआईको उद्देश्य के हो ? यसको रणनीति के हो भन्ने बाहिर आएको छैन । विस्तृतमा आएपछि नेपालले के गर्नुपर्छ भनेर प्रतिक्रिया दिनुपर्छ । चीनको एक चीन नीति हामीले मानेकै छौं । नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन दिन्न भनेकै छौं । चीनको चासो हामीले सम्बोधन गरेकै छौं,’ उनले भने, ‘हामीले द्विपक्षीय रूपमा चिनियाँहरूको चासोलाई सम्बोधन गर्नुपर्छ तर विश्वलाई लिएर हुने चीनको चासोका सम्बन्धमा नेपालले के गर्ने भन्ने अध्ययन नै गर्नुपर्छ । नेपाल सरकार र परराष्ट्र मन्त्रालयले जीएसआईको बारेमा दस्ताबेज खोजेर अध्ययन गरोस् ।’

प्रकाशित : आश्विन ६, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

सार्कमा नमिल्ने, एससीओमा सँगसँगै

‘भारत र पाकिस्तानले मिलेर सार्कलाई अघि बढाई दायरा फराकिलो पार्नुपर्ने हो तर सांघाई कोअपरेसन अर्गनाइजेसनमा भाग लिने र सार्कलाई निष्क्रिय पार्ने काम गरे’
जगदीश्वर पाण्डे

काठमाडौं — उज्वेकिस्तानको समरकन्दमा भदौ ३० र ३१ मा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मलेन सम्पन्न भयो । सम्मेलनमा आयोजक उज्वेकिस्तानसहित नेपालका दुई छिमेकी भारत र चीन, तथा सदस्य मुलुकहरू पाकिस्तान, रुस, ताजिकस्तान, उज्वेकिस्तान, काजाकिस्तान र किर्गिस्तान सहभागिता भए । भेलामा उपस्थित राष्ट्राअध्यक्ष तथा सरकार प्रमुखहरू संयुक्त रूपमा एउटै टेबुलमा बसे । उनीहरूले संयुक्त तस्बिर पनि खिचाए ।

बैठकको समापनमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सबैको सहमतिमा संयुक्त रूपमा वक्तव्य पनि जारी गरे । यसरी एससीओको भेलामा सहभागी हुने, भेलामा बसेर आफ्नो विचार राख्ने, तस्बिर खिचाउने र अन्त्यमा वक्तव्यका लागि सहमति पनि जनाउनेमा रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङसहित दक्षिण एसियाका दुई ठूला मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफ पनि थिए ।

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएपछि दुई मुलुकमा विभाजन भएको भारत र पाकिस्तान त्यस बेलादेखि नै शत्रुको रूपमा व्यवहार गर्दै आइरहेका छन् । त्यसका बाबजुत पनि बेला–बेलामा दुई मुलुकबीच आइसब्रेक भएर सम्बन्ध सकारात्मकतातर्फ पनि अघि बढ्छ । तर दुवैपट्टि कट्टरपन्थी हाबी हुँदा दुई देशको सम्बन्धमा मात्र होइन, दक्षिण एसियाली क्षेत्रमै असर पर्दै आइरहेको छ ।

भारत–पाक द्वन्द्वका कारण सन् १९८५ मा स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अहिले ‘कोमामा’ जस्तै छ । दुई देशबीचको द्वन्द्वका कारण सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन स्थगित भएको थियो । पाकिस्तानसँग सीमा क्षेत्रमा तनाव बढेपछि भारतले शिखर सम्मेलनमा सहभागिता जनाउनको लागि इस्लामाबादमा नजाने निर्णय गर्‍यो । लगत्तै अफगानिस्तान, बंगलोश र भुटानले पनि भारतलाई साथ लिएर पाकिस्तानमा नजाने निर्णय बाहिर ल्याएका थिए । सन् २०१४ मा नेपालमा १८ औं शिखर सम्मेलन भएयता सार्क ‘निष्क्रिय’ जस्तै भएको छ । २०१४ मा काठमाडौंमा १८ औं शिखर सम्मेलन भए यता नेपाल नेपाल सार्कको अध्यक्ष रहदै आएको छ । पाकिस्तानमा दुई वर्षपछि १९ औं शिखर सम्मेलन गरेर आफ्नो अध्यक्षता हस्तान्तरण गर्ने नेपालको योजना थियो । तर भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण त्यो हुन सकेन । त्यसका बाबजुत पनि नेपालले शिखर सम्मेलन गर्नका लागि पटक–पटक सदस्य राष्ट्रहरूलाई पहल गर्दै आइरहेको छ । तर सार्कमा भइरहेको व्यवहारको ठीक उल्टो भारत र पाकिस्तान एससीओमा भने सँगसँगै हिँडिरहेका छन् । यसपटक समरकन्दमा दुवै देशका प्रधानमन्त्री भए । उनीहरूले द्विपक्षीय शिष्टाचार भेटवार्ता त गरेनन्, तर भेलाका महत्त्वपूर्ण कार्यक्रममा सहभागी भए । सार्कमा एकअर्कालाई हेर्न नचाहने भारत र पाकिस्तानका शीर्ष नेतृत्वहरूले सँगै एउटै फ्रेममा फोटो पनि खिचाए ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट सार्कलाई ओझेलमा पारेर एससीओलाई अघि बढाउनुमा भारत र पाकिस्तानसहित चीन पनि भएको बताउँछन् । ‘एनसीओ चाहिँ धेरै रणनीतिक छ । पछिल्लो समयको फोकस भनेको मध्यएसिया हो । उक्त क्षेत्र विभिन्न हिसाबले स्रोतसाधनले भरिपूर्ण भएकाले सबैको ध्यान पुगेको हो,’ उनले भने । अमेरिका र चीनसँगै रुस पनि मध्य एसियामा केन्द्रित भएको भट्टको भनाइ छ । सार्कचाहिँ अगाडि नबढोस् भन्ने चीनको पनि चाहना हुन सक्ने उनको बुझाइ छ ।

अर्का भूराजनीतिक जानकार तथा कूटनीतिज्ञ दिनेश भट्टराई भारत र पाकिस्तान सार्कमा नमिल्ने र एससीओमा सहभागी भएर संयुक्त वक्तव्य निकाल्नु मुख्य कारण यी दुई क्षेत्रीय संगठनका राजनीतिक दायरा भएको मान्छन् । ‘भारत र पाकिस्तान सार्कमा मिलेर क्षेत्रीय संगठनलाई अघि बढाई दायरालाई फराकिलो पार्नुपर्ने हो । तर सार्कमा त्यो भएन,’ उनले भने, ‘तर एससीओमा भाग लिने र सार्कलाई निष्क्रिय पार्ने काम दुवै देशले गरे ।’

प्रकाशित : आश्विन ४, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×