कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित : राष्ट्रपति भण्डारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको बताएकी छन् । चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी) द्वारा आयोजित कार्यक्रममा बुधबार दिउँसो भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले पञ्चशीलमा विश्वास गर्ने र राष्ट्रहरूबीच विवाद भएमा त्यसलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने बताइन् ।

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित : राष्ट्रपति भण्डारी

चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति भण्डारीलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि पत्राचार गरेको थियो । राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार उक्त सम्बोधनमा राष्ट्रपतिले शान्तिपूर्ण माध्यमबाट मात्र विश्व शान्तिमा योगदान पुग्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल विकासशील मुलुकको रुपमा स्तरोन्नति हुने क्रममा रहेको र दीगो विकासमा उल्लिखित लक्ष्य प्राप्त गर्ने यी दुईवटा विषयमा योजना नै बनाएर अग्रसर भइरहेको बताएकी थिइन् । ‘यसका निम्ति नेपाललाई गरिबीको चपेटाबाट हट्नका लागि ठूलो लगानी चाहिन्छ । त्यसका लागि नेपालको प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि विकासका साझेदार मुलुकहरूले नेपाललाई खुलेर सहयोग गरिदिए हुन्थ्यो भन्ने नेपालको अपेक्षा छ,’ भिडियोमार्फत उनले भनिन् ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कुरासमेत उठाएको ढकालले बताए । जलवायु परिवर्तनले विश्वलाई ठूलो समस्यामा पारेको बताउँदै उनले भनिन्‚ ‘नेपाल एउटा पर्वतीय मुलुक हो । नेपालजस्तै अन्य पर्वतीय मुलुकहरू र समुद्रीय टापुहरू समुद्रको किनारमा देशहरू छन् ।’

यस्ता मुलुकहरूले जलवायु परिवर्तनका लागि भोग्नुपरेको समस्या विशिष्ट प्रकृतिको रहेको उनले बताइन् । ‘त्यहाँका जनताको जीवनस्तर र कृषिमा सुधार ल्याउन पनि आधुनिक किसिमका प्रविधि र सीप चाहिन्छ‚ जुन ती मुलुकहरूसँग छैन । विश्वका विकासशील राष्ट्रहरूले भोगिरहेको समस्यासँग जुध्नका लागि विकसित देशहरूले प्रविधि हस्तान्तरणजस्ता विषयहरूमा ध्यान दिनुपर्छ ।’

सीपीएसपीडीले उक्त सम्मेलन संयुक्त राष्ट्रसंघले मनाउँदै आएको अन्तराष्ट्रिय ‘पिस डे’ मा मनाउदै आइरहेको छ । राष्ट्रपतिका प्रेस विज्ञ ढकालले राष्ट्रपतिले सम्बोधन गरेको कार्यक्रममा बाहिर हल्ला आएजस्तो चीनले अघि बढाएको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सँग केही सम्बन्ध नरहेको दाबी गरे । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने राष्ट्रपति भण्डारीले गरेको सम्बोधनको सम्बन्धमा राष्ट्रपति कार्यालयलाई थाहा हुने बताए ।

प्रकाशित : आश्विन ५, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?