कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिका जाने निगमको सैनिक चार्टर उडान रद्द

सुरज कुँवर

काठमाडौं — अफ्रिकी मुलुक मालीले नेपाली सेनाको चार्टर उडानलाई हवाई इन्धन उपलब्ध गराउन नसक्ने जनाएपछि नेपाल वायुसेवा निगमले त्यसतर्फको उडान रद्द गरेको छ । निगमका एक उपनिर्देशकले मालीमा जहाजलाई चाहिने अतिरिक्त इन्धन नपाइने भएपछि नेपाली सेनाका लागि मंगलबार राति तय गरिएको चार्टर उडान अर्को सूचना जारी नहुन्जेललाई रद्द गरिएको बताए । 

अफ्रिका जाने निगमको सैनिक चार्टर उडान रद्द

निगमले १ सय ५८ सिट क्षमताको न्यारोबडी मंगलबार राति साढे ११ बजे नेपाली सेनालाई पुर्‍याउन तथा ल्याउन चार्टर तय गरेको थियो । त्यहाँ पुग्न निगमले कतारको राजधानी दोहा, उत्तर–मध्य अफ्रिकी मुलुक चाड र मालीमा इन्धन भर्न टेक्निकल ल्यान्डिङको तालिका बनाएको थियो । यस उडानमा संलग्न एक क्याप्टेनका अनुसार, कुल ३५ घन्टाको चार्टर उडानमा काठमाडौंबाट दोहा ५ घन्टा, दोहाबाट चाड साढे ५ घन्टा र चाडबाट माली साढे २ घन्टाको थियो । उडान समय २५ घन्टा र ओहोरदोहोर गर्दा ६ पटक विमानस्थलमा इन्धन भर्ने एक–डेढ घन्टाको समय समेतलाई जोड्दा ३५ घन्टा लाग्ने भनिएको थियो । न्यारोबडीमा २३ हजार ५ सय लिटर इन्धन क्षमता छ । यसले उडानमा प्रतिघन्टा ३ हजार १ सय २५ लिटर इन्धन खपत गर्छ ।

हवाई इन्धान अभाव झेलिरहेको मालीले आफ्नो मुलुकमा पर्याप्त इन्धन नभएको कारण दर्शाउँदै इन्धन दिनै नसक्ने खबर पठाएपछि निगमको वाणिज्य विभागले उडान हुन चार घन्टाअघि चार्टर उडान रद्द भएको खबर आन्तरिक विभागका निर्देशक र कतारमा रहेका चार जना पाइलटलाई गरेको थियो ।

काठमाडौंबाट मालीस्थित गाओ अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न निगमको जहाजले भारत हुँदै ओमन, यूएई, कतार, बहराइन, साउदी अरेबिया, सुडान, चाड र नाइजरसहित १० वटा मुलुकका आकाशको बाटोको अनुमति पनि लिइसकेको थियो । यो उडान भइदिएको भए, जहाज बिहीबार बिहान अवधि पूरा गरेका सेना ल्याएर काठमाडौं आइपुग्ने थियो ।

प्रकाशित : आश्विन ४, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?