कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार र अनशनरत डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौँ — धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सरकार र अनशनरत डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

यसअघि दुई टोलीबीच आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि सोमबार पनि अनौपचारिक छलफलमा जुटेका थिए ।

सरकारले केसीसँग संवाद गर्न गत शुक्रबार वार्ता टोली गठन गरेको थियो । सरकारले कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहेका छन् । केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन, डा. विष्णु पोखरेल र सुवेदी सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।

डा. केसीले भदौं २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका छन् । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । स्वास्थ्य बिग्रन थालेपछि उक्त अस्पतालले डा. केसीको उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस समेत गरिसकेको छ । देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने; जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने; सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने; सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधीहरू उपलब्ध गराउनुपर्ने; मापदण्डविपरीत खुलेका निजी अस्पताल बन्द गराइनुपर्ने माग अघि सारेका छन् ।

२०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने; गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत ७ बुँदे माग सरकारसँग उनले राखेका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?