डा. केसीसँग वार्ता गर्न समिति- समाचार - कान्तिपुर समाचार

डा. केसीसँग वार्ता गर्न समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षासम्बन्धी माग राख्दै आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीसँग संवाद गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य रहेका छन् ।

मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै डा. केसीको मागप्रति सरकार सकारात्मक रहेको भन्दै अनशन तोडी वार्तामा आउन आग्रह गरिएको छ । डा. केसी पक्षले पनि वार्ता टोली गठन गरेको छ । डा. जीवन क्षत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको वार्ता टोली गठन गरिएको हो ।

डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए । चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । उक्त अस्पतालका चिकित्सकको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न समिति गठन भएको छ । शनिबार डा. केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा प्रदर्शन गरिएको थियो ।

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन् । यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन् ।

प्रकाशित : आश्विन २, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन लन्डन आइपुगे मन्त्री खड्का

नवीन पोखरेल

लन्डन — संयुक्त अधिराज्य (यूके) की महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का शनिबार राति लन्डन आइपुगेका छन् । मन्त्री खड्का बेलायत सरकारको निम्तोमा लन्डन आएका हुन् । 

राति करिब सवा ११ बजे विमानस्थलमा उत्रिएका मन्त्री खड्कालाई बेलायती विदेशमन्त्रीका विशेष प्रतिनिधि, लन्डनस्थित नेपालका राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायत कांग्रेसका कार्यकर्ताले स्वागत गरेका थिए ।

लन्डनमा रहँदा मन्त्री खड्काले महारानीलाई श्रद्धाञ्जली अर्पण गर्न राजकीय अन्त्येष्टिमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

यसैगरी मन्त्री खड्का बकिङ्गम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुने कार्यक्रम छ ।

मन्त्री खड्का आगामी २१ सेप्टेम्बर (असोज ५ गते) स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

बेलायतकी दिवंगत महारानीको अन्त्येष्टिमा सहभागी हुन विश्वका नेताहरू लन्डन आउने क्रम जारी रहेको छ । विश्वभरबाट ५ सयभन्दा बढी राष्ट्रप्रमुख वा सरकारी प्रतिनिधि अन्त्येष्टिमा सहभागी हुने अपेक्षा गरिएको छ । विभिन्न देशबाट आएका पाहुनाहरू बेलायतका नयाँ राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायत सरकारले यही सेप्टेम्बर १९ सोमबार लन्डनमा भव्य समारोहका साथ एलिजाबेथको अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

प्रकाशित : आश्विन २, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×