कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

संसद् अधिवेशन अन्त्य

काठमाडौँ — प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल अन्त्य भएको घोषणा हुने अपेक्षा गरिएको बैठकमा त्यस्तो हुन सकेन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको मात्रै जानकारी गराइएको छ । 

संसद् अधिवेशन अन्त्य

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए जबकि सभामुखले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनमा सबै सांसदलाई छोटो भए पनि बोल्न दिएर बिदाइ भोजसमेत खुवाउने तयारी भएको थियो । अन्तिम समयमा सांसदलाई बिदाइ गर्ने कार्यक्रम स्थगित गरेर प्रतिनिधिसभाको ११ औं र राष्ट्रिय सभाको १२ औं अधिवेशन शनिबार राति १२ बजेदेखि सरकारको सिफारिसमा राष्ट्रपतिले अन्त्य गरेको घोषणा गरिएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ का लागि तय भएको निर्वाचन निष्पक्ष गराउन सरकारले निर्वाचन आयोगलाई पूरापूर सहयोग रहने प्रतिबद्धता जनाए । तर संसद्को कार्यकाल सकिएको बारे केही बोलेनन् । गठबन्धन सरकारले नागरिकतालगायत विधेयक चालु अधिवेशनबाट पारित गर्न सफल भएको बताएका उनले सरकारले बहुपक्षीय तथा द्विपक्षीय परराष्ट्र सम्बन्धमा सुधार गरेको समीक्षा सुनाए ।

देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरे । उनले जहिले पनि परमादेशको सरकार भनेर आलोचना गरेको तर त्यही परमादेशअनुसार आएको संसद्मा ओली पनि आएको उल्लेख गरे । ‘हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै, मलाई थाहा छ । यो संसद् नै परमादेशबाट आएको हो । त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं,’ उनले भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौं ।’

ओलीले भने प्रतिनिधिसभाको कार्यकाल सम्पन्न भएको र पाँच वर्षमा संसद्ले राम्रो काम गरेको दाबी गरे । ओलीले आफूले प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गर्दा प्रतिगमन भनेकोप्रति प्रधानमन्त्री देउवासँगै सत्तारूढ गठबन्धनमा आबद्ध नेताहरूको आलोचना गरेका थिए । ‘गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो ? निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो,’ प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीले भनेका थिए, ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?’

ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनलाई संसद् विघटन गरेर घोषणा गरेको चुनावसँग तुलना गरेकोदेखि नागरिकता विधेयकबारे ओलीले दिएका अभिव्यक्तिलाई लिएर दाहालले ओलीको आलोचना गरेका थिए । ‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौंला भनेर, म विनम्रतापूर्वक उहाँलाई सम्झाउन चाहन्छु,’ उनले भने, ‘राष्ट्रिय सभा सदस्यदेखि स्थानीय तह निर्वाचनसम्मले सन्देश दिइसकेको जस्तो लाग्छ । ठिकै छ, मंसिर ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामीले पनि हेर्छौं ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने एक्लै चुनावमा गएर बहुमत ल्याउने कल्पना नगर्न सुझाव दिए । ‘हामीले जुन खालको संविधान बनाएका छौं, बहुमत हामी ल्याउँछौं भन्ने आकांक्षा छ तर व्यवहारमा त्यो निकै कठिन छ, एउटै पार्टीले बहुमत ल्याउन्न,’ उनले भने, ‘गठबन्धन गर्नैपर्छ, कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले भने राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति आक्रोश पोखेका थिए । राष्ट्रपतिको कदमले संसदीय मर्यादामाथि आँच आएको उनको भनाइ थियो ।

प्रकाशित : आश्विन २, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?