बाढीले साढे ३ हजार परिवार विस्थापित

प्रदेश ब्युरो

काठमाडौँ — खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल भएको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीका अनुसार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरी २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ । यस्तै, टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना विस्थापित भएका छन् । स्थानीय काँडा, कान्द्रा, पथरिया, कटनी, मोहना र कर्णाली नदीको बाढी पसेर दक्षिणी पूर्वी क्षेत्रमा पर्ने टीकापुर, भजनी नगरपालिका, जोशीपुर, कैलारी र जानकी गाउँपालिका अधिकांश वडा जलमग्न बनेका छन् ।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले नौ वटै वडाका बस्ती जलमग्न भएको बताए । धेरै परिवार आफ्नै घरको माथिल्लो तलामा थुनिएका छन् । टीकापुर–१, २, ३ मा कर्णालीको बाढीले सात सय बढी घर प्रभावित भएको र दुई सय परिवार विस्थापित बनेको नगर प्रमुख रामलाल डगौराले बताए । धनगढी उपमहानगरपालिका–१३ झालागरी गाउँका १७ वर्षीय नविना चौधरीको बाढीले भरिएको तलाउमा माछा मार्न जाने क्रममा शनिबार मृत्यु भएको छ ।

कञ्चनपुरको वनहरा र दोदा नदीको बाढीले दर्जनौं बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्ती पस्दा ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई स्थानीय विद्यालयमा राखिएको छ । वनहराको बाढीले शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ । वनहरा नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुर र लालझाडी गाउँपालिकाको तिल्की जोड्ने झोलुंगे पुल भत्काएको छ । बाढीले हुलाकी सडकसमेत बगाएको छ ।

बाढीले बर्दियामा झन्डै सात सय जना विस्थापित भएका छन् । बाढी र डुबानले राजापुर र ठाकुरबाबा नगरपालिकाका बासिन्दा बढी प्रभावित भएका हुन् । राजापुरका डुबानपीडित ६ सय ५९ जनाले विद्यालय, सामुदायिक वनका भवनलगायत सुरक्षित स्थलमा आश्रय लिइरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । राजापुरमा पछिल्लो २४ घण्टामा २ सय २७ मिलिमिटर वर्षा भएको स्थानीय प्रशासनले जनाएको छ । २४ घण्टामा १ सय ४० मिलिमिटर वर्षा भए जोखिम मानिन्छ । बबई, कर्णाली र सानाठूला खोलामा पानीको बहाव अहिले उच्च छ । दुई साताअघि पनि डुबानका कारण ठाकुरबाबा नगरपालिका–५ र ७ का ३५ घरपरिवारलाई अन्यत्र सारिएको थियो ।

गेरुवा गाउँपालिका–३ सनकटीघाटमा अहिले कर्णाली नदी कटानले व्यापक क्षति पुर्‍याउन थालेको छ । नदी कटानले कर्णाली नदीस्थित सत्तीपुल पनि जोखिममा पारेको छ । ओराली बजार र डल्ला हुँदै ठाकुरद्वारा जाने सडक खण्ड नदी कटानले बगाएको छ । पाल्पाका विभिन्न ठाउँमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको छ । कतिपय स्थानमा सडक एकतर्फी बनेको दोभान चौकीका प्रहरी सहायक निरीक्षक कुलबहादुर श्रेष्ठले बताए । सिसुवा, चौबिसमाइल, चर्चरे, कालीमाटीलगायत स्थानमा पनि पहिरो खस्ने र सडक अवरुद्ध भइरहेको छ । पहिरोका कारण तानसेन–रिडी सडक खण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको छ । अविरल वर्षाले रामपुर नगरपालिका–५ बेझाडस्थित कालीगण्डकी करिडोर जोड्ने सडक भासिएको छ । सिद्धार्थ राजमार्गको तिनाउ–५ हिउँदेखोलामा पनि डाइभर्सन बनाएको स्थान वर्षाले भासिएको छ ।

मोहन बुडाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर), जे पाण्डे (बाँके) कमल पन्थी (बर्दिया) र माधव अर्याल (पाल्पा)

प्रकाशित : आश्विन २, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

खुल्यो दसैंलाई बसको टिकट

ठाउँ–ठाउँका सडक बिग्रिए पनि मर्मतमा ढिलासुस्ती
विमल खतिवडा

काठमाडौँ — दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको छ । टिकट बुकिङका लागि शनिबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानका काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायीको भनाइ छ ।

नयाँ बसपार्कमा अन्यत्रभन्दा यात्रुको चाप बढी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जनाए । ‘अन्य ठाउँका काउन्टरमा भने भीड कम थियो,’ उनले भने । सडक मर्मत नभएकाले यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन भने समस्या हुने उनको भनाइ छ । ‘यस सम्बन्धमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सडक विभागलगायतका सरोकारवाला निकायसँग छलफल गरेर सडक मर्मतलाई तीव्रता दिन आग्रह गर्छौं,’ उनले भने । अहिले पानी परिरहेकाले सडक बिग्रिएर पूर्व–पश्चिमका विभिन्न स्थानबाट काठमाडौं आउन समस्या भइरहेको उनको भनाइ छ ।

पहिलो दिन शनिबार ७ हजार यात्रुले टिकट काटेको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जनाए । ‘विगतका वर्षको तुलनामा यो संख्या कम हो,’ उनले भने, ‘अहिले निजी सवारी र रिजर्भमा दसैंमा घर जाने धेरै हुन्छन् ।’ दसैंमा गाडी अभाव हुन नदिन पूर्व र पश्चिम रुटका लागि नयाँ गाडी थप्ने तयारी भइरहेको उनको भनाइ छ । ‘घटस्थापनाबाट घर जाने यात्रुको चाप बढी हुन्छ,’ उनले भने, ‘त्यसैले पहिल्यै तयारीस्वरूप गाडी थप गर्न लागिएको हो ।’

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुलाउने निर्णय गत भदौ २२ मा गरिसकेको छ । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरूबाट टिकट नलिनसमेत विभागको आग्रह छ । दसैंका बेलामा यात्रु ठगिने भएकाले त्यसलाई दृष्टिगत गरी केही दिनभित्र यात्रुको चाप हुने स्थानमा सहायता कक्ष राखिने विभागले जनाएको छ । दसै नजिकिँदै गर्दा केही राजमार्ग भने पहिरोले गर्दा लामो समयदेखि अवरुद्ध छन् । बालाजु–त्रिशूली–धुन्चे स्याफ्रुबेंसी र डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध छन् । बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत अम्कोट–बल्दे खण्ड साउन १८ देखि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोलानजिकै सडक भासिएपछि यातायात अझै ठप्प छ । दसैंअघि राष्ट्रिय राजमार्गका सबै सडक मर्मत गरिसक्ने सडक विभागको दाबी छ । बाढीपहिरोले अवरुद्ध राजमार्गसमेत दसैंअघि सञ्चालनमा ल्याउने गरी मर्मत थालिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जनाए ।

तस्बिरहरू : केशव थापा

‘आयोजना कार्यालयहरूलाई सडक मर्मत गरेर दसैंमा सहज रूपमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन निर्देशन दिइसकेका छौं,’ उनले भने । अवरुद्ध सडक खुलाउने काम पनि तीव्र पारिएको उनको दाबी छ ।

प्रकाशित : आश्विन २, २०७९ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×