कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

'म विवादमा आएँ, गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनु भनेको हो' : जबरा

'हरेक कुरामा भ्रम फैलाउन ठालु वकिलहरू लागेका छन्, यसैले गर्दा न्यायपालिका यस्तो अवस्थामा छ'

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा प्रतिप्रश्नको जवाफ दिने क्रममा जबराले जेठान नाता पर्ने कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको बताएका हुन् । 

'म विवादमा आएँ, गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनु भनेको हो' : जबरा

महाभियोग सिफारिस समितिको शनिबारको बैठकमा जबराले मन्त्री बनाउने र नबनाउने विषयमा कार्यकारी प्रमुखसँग संवादमा रहेको यसअघि झैं स्वीकार गरेका हुन् । 'पत्रपत्रिकामा आयो, पूर्णमान शाक्य (सर्वोच्च अदालत बारका अध्यक्ष)आउनुभयो, नाताले जेठान, पहिलो श्रीमतीका दाई उहाँहरू नेपालगन्जमा बस्नुहुन्छ । म काठमाडौंमा बस्छु । पत्रिकामा आइसकेपछि नियुक्त गर्ने पदाधिकारीलाई गजेन्द्रजीको नाम छ भनेपछि म विवादमा आएँ उहाँलाई मन्त्री नबनाइदिनु भनेको हो,' उनले थपे, 'गजेन्द्रजी उहाँहरूको पुरानो कार्यकर्ता हुन्, दु:ख पाएका कार्यकर्ता हुन् । कांग्रेसबाट बनाइएको हो, तपाईंले चिन्ता लिनुपर्दैन प्रधानमन्त्रीले भन्नुभयो । यसबारेमा प्रधानमन्त्रीले नै भन्नुहुन्छ ।'

गजेन्द्र हमाललाई मन्त्री बनाएकोबारे सत्तारुढ गठबन्धनका नेताहरूले नै आफ्नो सहभागिता होइन भनिसकेको जबराले बताए । नेपाल बारका तत्कालीन कोषाध्यक्ष र काठमाडौं जिल्ला अदालतका न्यायाधीशबीच भएको घुसवार्ताबारे सोधिएको पुरक प्रश्नको जवाफमा जबराले हरेक क्षेत्रमा विचौलिया भएको धारणा राखे ।

'सबै क्षेत्रमा विचौलियाको काम गर्ने व्यक्तिहरू हुन्छन् भन्ने प्रतिवेदन (सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको) ले देखाएको छ । सबै बिचौलिया हुन् भन्ने छैन । बारमा पनि छन्, कर्मचारीमा पनि छ, न्यायाधीशमा पनि छ, न्यायाधीशका परिवारमा पनि छ । त्यसपछि मुद्दाका पक्ष र विपक्षमा पनि छ भन्ने कुरा प्रतिवेदनमा देखिएको छ,' उनले भने ।

जबराले आफ्नो र भाइबीचको विषयमा उठेको प्रश्नको छानबिन गर्नका लागि कल डिटेल मगाउने भए पनि मगाउन भनेका थिए ।रञ्जन कोइरालाविरुद्धको फैसला औचित्यका आधारमा भएको जबराले भनेका थिए ।

कानुन व्यवसायीहरूविरुद्ध भने जबराले आक्रोश व्यक्त गरेका थिए । 'हरेक कुरामा भ्रम फैलाउन ठालु वकिलहरू लागेका छन् । यसैले गर्दा न्यायपालिका यस्तो अवस्थामा छ । क्यासिनोको मुद्दामा कुनै पनि निर्णय भएकै छैन । आदेश पनि होइन । मेरै कारणले कर रोकिएकै हैन । सञ्चालन गर्ने कुरामा अदालतले कानुन बनाएर जुवालाई नियमन गर भनेको हो । सबैले राजस्व तिरिरहेका छन् । मेरो कारणले एउटा पनि क्यासिनोबाट कर असुली रोकिएको छैन,' उनले भने ।

प्रकाशित : आश्विन १, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?