कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल दोहोरो दबाबमा

आफ्नै निर्वाचन क्षेत्र सुरक्षित गर्नुपर्ने व्यक्तिगत मात्र होइन, एक बर्ष अगाडि जन्मेको आफ्नै नेतृत्वको पार्टीको साख जोगाउनुपर्ने बाध्यताले आसन्न निर्वाचनमा नेपाल दोहोरो दबाबमा
बबिता शर्मा

काठमाडौँ — पाँच दशक लामो वाम राजनीतिक जीवन बिताएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समकालीन नेपाली राजनीतिमा चर्चामा आइरहने पात्र हुन् । नेपालको संसदीय राजनीतिमा तीन दशक लामो अनुभव र एक पटक मुलुकको कार्यकारी प्रमुखसमेत भईसकेका नेपाल आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दोहोरो दबाबमा छन् ।

नेपाल दोहोरो दबाबमा

गठबन्धनको बलमा आफनो निर्वाचन क्षेत्र सुरक्षित गर्नुपर्ने व्यक्तिगत मात्र होइन, एक बर्ष अगाडि जन्मेको आफ्नै नेतृत्वमा गठन गरेको पार्टीको साख जोगाउनुपर्ने बाध्यताले आसन्न निर्वाचनमा नेपालका लागि दोहोरो दबाब छ ।

०६४ को संविधानसभामा आफै र पार्टीको अप्रत्यासित पराजयपछि एमालेको महासचिवबाट राजीनामा दिएर नैतिक राजनीतिको सन्देश दिएका थिए । नेपालका अगाडि आसन्न निर्वाचन हार्दा उनको अहिले सम्मको राजनीतिक जीवनमा धक्का पुग्छ । तर जित्न बलियो संगठनात्मक र जनआधार छैन । स्थानीय निर्वाचनमा अपेक्षाकृत सिट र जित पाउन नसक्दा एकीकृत समाजवादीका अध्यक्ष नेपाल आसन्न निर्वाचनमा पनि गठबन्धनप्रति पनि पुरै आश्वस्त छैनन् । पार्टी दस्तावेजमै नेपालले गठबन्धनमा रहेका दलहरुबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका छन् ।

नेकपाको अन्तरकहल, संसद विघटन, सर्वोच्च अदालतको फैसलाद्वारा एमाले र माओवादीबीचको एकता भंग, नेपालसहितका एमालेकै २३ सांसदको बलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री, एमालेमा चर्कदोँ विवाद र नेपालसहित १४ सांसद्माथिको कारबाहीको परिणाम एमाले विभाजनको तहमा पुग्यो । अध्यक्ष ओलीसँगको टकरावपछि नेपाल आँफै धेरै लगानी गरेको पार्टी छाडेर नयाँ दल बनाउने निष्कर्षमा पुगेका थिए, जसको आकार अहिले एमालेको भन्दा सानो छ ।

२०७८ भदौ ९ मा नेपालकै नेतृत्वमा बनेको एकीकृत समाजवादी तेस्रो चुनाव लड्दैछ । सुरुमा उसले राष्ट्रियसभा निर्वाचन लड्यो । नेपालले खिमलाल देवकोटालाई वाग्मती प्रदेशबाट राष्ट्रियसभा सांसद बनाए । भिन्दै पार्टी औपचारिकरुपमा बनिनसकेकाले नेपालले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवार बनाएर देवकोटालाई मैदानमा पठाए । देवकोटाले गठबन्धनको बलमा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराएका थिए ।

२०४८ देखि ०५६ सम्म राष्ट्रियसभा सदस्य, २०५६ मा रौतहट १ र ४ बाट प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं २ र रौतहट १ बाट तथा २०७४ मा काठमाडौं २ बाट प्रतिनिधिसभा सदस्य जितेका नेपाल ०६४ को संविधानसभामा भने काठमाडौं र रौतहट दुवै ठाँउबाट पराजित भएका थिए । लगत्तै उनी २०६५ मा संविधानसभा सदस्य मनोनित भएका थिए । संसदीय राजनीतिमा उनीसँग जित र हारको दुवै अनुभव छ ।

नेपालका लागि आसन्न निर्वाचन पाँचौं लडाईं हो । र, उनी यसपटक रौतहट १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । पाँच दलीय गठबन्धनले शीर्ष नेताको सुरक्षामा विशेष ध्यान दिएको छ । जसका कारण व्यक्तिगत रुपमा नेपालका लागि आगामी निर्वाचन सहज हुन सक्छ । स्थानीय निर्वाचन परिणाम हेरेर नेपालले यसपटक काठमाडौं २ भन्दा रौतहट १ लाई प्राथामिकतामा राखेका छन् ।

स्थानीय निर्वाचनमा नेपालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौर नगरपालिका प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादीलाई जिताए । वडा अध्यक्षले पाएको मतकै अंक हेर्ने हो भने नेपालको क्षेत्रमा एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेस १६ हजार ९२८, लोसपा १२ हजार ०६२, जसपा ८ हजार २४१, माओवादी ८ हजार १९१, एमाले ७ हजार ३८५ छ । पाँच दलीय गठबन्धनको ५३ हजार ५८ मत हुन्छ भने एमाले र लोसपाको गठबन्धन भए १९ हजार ४४७ मत हुन्छ । यही मतान्तार नेपालका लागि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न सजिलो हुने आधार छ ।

यतिसम्म कि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई राजनीतिक शक्तिसमेत मान्न तयार थिएनन्, जब ०७९ को स्थानीय निर्वाचनमा सो पार्टीले महानगरसहितका केही ठाँउमा जित निकाल्यो, एमालेमाथि दबाब बढ्यो । एकीकृत समाजवादीकै कारण कयौं ठाँउमा एमालेले हारको सामना गर्नुपर्‍यो । नेपाल र ओलीबीच प्रतिसोधपूर्ण सम्बन्ध छ । त्यसले आगामी निर्वाचन उनीहरुका लागि एकअर्कालाई शक्ति देखाइदिने मैदान बन्दैछ, जसका कारण पनि नेपालमाथि दबाब नै छ ।

पूर्वसहकर्मी एवं नेकपा मालेका महासचिव सिपी मैनाली अध्यक्ष नेपालका धेरै दबाबमा रहेको टिप्पणी गर्छन् । ‘उहाँको विरुद्धमा धेरै आलोचना, आरोपहरु पनि छन् । त्यसबीचमा अहिले आफुले चुनाव जित्ने र पार्टीलाई जिताउनुपर्ने छ । हुनत चुनाव जितेर नै आफ्नो राजनीति बढाउने लक्ष्य लिने मान्छेको निम्ति त्यो ठुलो चुनौती हो,’ मैनालीले भने, ‘नेता भएको नाताले पार्टीलाई राष्ट्रिय पार्टी बनाउने इच्छा रहन्छ । त्यसले सफलताको नापो हुन्छ । त्यसकारण ती दुवै कुराले उहाँ दबाबमा देखिनुहुन्छ । तर मौजुदा परिस्थितिमा उहाँले दुवै दबाबलाई सामना गरेर सफलता प्राप्त गर्न कत्तिको सक्नु हुन्छ, अहिले नै भन्न सकिन्न ।’

गत वैशाखको स्थानीय तहमा एकीकृत समाजवादीले २० पालिका प्रमुखमा जितेको थियो । समानुपातिक मत बढाएर संसदमा धेरै उपस्थिति देखाउनुपर्ने चुनौति पनि नेपालका सामु छ । सत्ता राजनीतिमा उनी अहिले केन्द्रदेखि प्रदेशसम्म सबै ठाँउमा सहभागी छन् । निर्वाचनपछि पनि यही हैसियत राख्न उनले संघ र प्रदेशमा सम्मानजनक सीट जित्नै पर्ने अबस्था छ ।

पार्टीभित्र केही असन्तुष्टि छन् । टिकटका धेरै आंकक्षी छन् । अध्यक्ष नेपालले नै पार्टीमा आकांक्षी धेरै भएका कारण टिकट व्यवस्थापन गर्न समस्या भइरहेको सार्वजनिक रुपमा नै बताएका छन् । ‘सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल छ, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । दाबी नगरे पनि हुन्थ्यो नि भन्ने पनि चर्को दाबी गरिरहेका छन्, ‘बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले भेका थिए,'उठेर दुई कदम हिँड्न सक्दैन, बिचरा बूढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गार्‍हो?’ गठबन्धनबाट पाउने सीमित सिटमा सबै आंकाक्षीलाई सम्बोधन गर्ने सम्भावना छैन । त्यसकारण नेपालका सामुन्ने पार्टी एकता बनाईराख्नपर्ने चुनौति पनि छ ।

२०२२ सालदेखि वामपन्थी विद्यार्थी संगठनमा आवद्ध भई राजनीति सुरु गरेका नेपाल २०२६ सालमा पुष्पलाल समूहमा जोडिएका थिए । एमालेको केन्द्रीय तहमा बसेर उनले लामो समय काम गरे । २०५० देखि २०६४ सम्म एमालेको महासचिव नै रहे । एकीकृत पार्टी नेकपामा उनी सचिवालय सदस्य र विदेश विभाग प्रमुख थिए ।

२०६६ जेठ–२०६७ माघसम्म प्रधानमन्त्री बनेका नेपाल त्यसअगाडि २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधान परराष्ट्र एवं रक्षामन्त्री बनेका थिए । उनी राष्ट्रियसभा विपक्षी दलको नेता पनि बनेका थिए ।

नेपालका विभिन्न जनआन्दोलनमा मात्र होइन, शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि नेपालको भूमिका छ । उनी २०४७ मा संविधान सुझाव आयोग सदस्य थिए । १४ वर्षसम्म एमालेको महासचिव बनेका उनले २०६५–२०६६ सम्म संविधानसभा संवैधानिक समिति सभापति बनेर काम गरे ।

राजनीति अघिको पेसा बैंकमा जागिर थियो । राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत जीवन र पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन विताएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा घरमै नजरबन्दमा परेका थिए । राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् । नेपाल आफूलाई निष्ठावान राजनीतिज्ञका रुपमा परिचित गराउन चाहन्छन् । त्यसैले आसन्न निर्वाचन उनको राजनीतिका लागि अर्को कठोर परीक्षा बन्दैछ ।

प्रकाशित : भाद्र ३१, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?