कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीस देशका भिगन नेपालमा

घनश्याम खड्का

काठमाडौँ — उनीहरु एक अर्कालाई भेटेका थिएनन्, तर देख्नेबित्तिकै चिनेझैं गरे । मायालु मुस्कान साटे र कुशल मंगल के कसो छ भनेर सोधे । ‘अहो, कस्तो रमाइलो हगी ?’ बिहीबार आफैं झैं काठमाडौं उत्रिएका अनेक देशका दर्जनौं मित्रहरुलाई भेट्न पाएको खुसीमा बेलायतकी इभेलिया लिजले भनिन्, ‘म त घर आइपुगेजस्तो पो भयो ।’

तीस देशका भिगन नेपालमा

उनलाई मात्रै होइन, भारतकी पालक मेहतालाई पनि यसपाला काठमाडौं बढी नै आफ्नो लागेछ ।

‘नलागोस् पनि किन त ?’ बेलायतबाट आएका अर्का युवा केभिनले भने, ‘यतिका भिगनहरु भेट्न पाएपछि !’

एघार वर्ष भयो, केभिनले माछामासु, दूध, अण्डा, मह इत्यादि जीवजन्तुबाट उत्पादित कुनै खाना खाएका छैनन् । एमेलियाले यसो गर्न थालेको तीन वर्ष भएको रहेछ भने पालक मेहताले पनि केही वर्षदेखि सागपात, फलफूल र अन्न मात्रै खान थालेकी रहिछन् ।

एमेलिया र मेहताजस्ता तीस देशका सयभन्दा बढी अपरिचितहरु बिहीबार आपसमा भेट्नु बित्तिकै यसरी गफिनुको एउटै कारण थियो, उनीहरुको आहार जसलाई चल्तीको फेसनमा ‘भिगन’ भन्ने गरिन्छ ।

शुक्रबार र सनिबार उनीहरु दिनभरी नै भिगन आहारका बारेमा छलफल गर्नेछन्, एक अर्काको अनुभव सुन्नेछन् र महत्वपूर्ण कुरा, स्वादिला भिगन खानेकुराहरुको रसस्वाद गर्नेछन् ।

भारत, चीन, जापान, क्यानडा, इन्डोनेसिया, बेलायत, अमेरिका लगायत ३० भन्दा बढी देशबाट नेपाल आइपुगेका उनीहरु सबै ‘हिमालयन भिगन महोत्सव’ मा आएका हुन् ।

महोत्सववमा संसारभरबाट भिगन जीवनशैली अपनाएका चर्चित व्यक्तत्वहरु पनि आएका छन् जसमा भारतको लोकसभा सदस्य मेनका सञ्जय गान्धी पनि छन् ।

‘निम्तो स्वीकार्दा मलाई यतिका मानिसहरु यहाँ भेट होला भन्ने अपेक्षा नै थिएन’ बिहीबार संसारका अनेक कुनाबाट आइपुगेका भिगनहरुलाई देखेपछिको खुसी साटिन्, ‘यो त मेरा लागि एक सुखद आश्चर्य हो ।’

जीवहत्याको विरोधमा निरन्तर संघर्ष गर्दै आइरहेकी गान्धीले पछिल्लो समय संसारभर भिगनहरुको संख्या बढेको र त्यसको छाप नेपालमा पनि परेको देख्न पाउँदा थप खुसी लागेको बताइन् ।

पर्यावरण र प्राकृतिक सम्पदाले नेपाल भिगनहरुको गन्तव्य बन्न सुहाउँदो देश हो भन्दै गान्धीले गढीमाइ मेला बन्द गर्न आग्रह पनि गरिन् ।

‘अघिपछि खासै चहलपलह नहुने गढीमाइमा अचानक लाखौं पशुहरु भारत र नेपालबाट लगेर वध गरिन्छ जो संसारकै ठूलो पशुहत्या पर्व हो’ उनले भनिन्, ‘यो समाचारले हरेक पटक नेपालको अन्तराष्ट्रिय ख्याती गुमेको छ, लाखौं मान्छेहरु यही कारणले नेपाल आउन मन पराउँदैनन्, अन्तराष्ट्रिय भिगन महोत्सव आयोजना गरेको नेपालले अब गढीमाइको हत्या बन्द गराउनु पर्छ ।’

गढीमाइमा पशु वध रोकेर फूल महोत्सव, शान्ति महोत्सव वा संगीत महोत्सव गरे संसारभरी नै ठूलो सन्देश पुग्ने र लाखौं मान्छेहरु एकै पटक नेपालमा आउने उनले बताइन् ।

‘विश्वभर कोभिडका कारण पर्यटन घट्दै गइरहेका बेला भिगन आन्दोलनले यसलाई नयाँ जीवन दिन सक्छ’ उनले भनिन्, ‘नेपालले गढीमाइमा पशुवधको सट्टा शान्ति महोत्सव गर्‍यो भने त्यहाँ आउन मरिहत्ते गर्ने लाखौं पर्यटकमा म पहिलो हुनेछु ।’

उनले यसोभन्दा संसारभरबाट आएका भिगनहरुले गडगडाहट ताली बजाए । विफका लागि कहलिएको जर्मनीको बर्लिन सहर कोभिडपछिको पर्यटन मन्दीबाट मुक्त हुन कसरी भिगन सहरमा परिणत भयो भन्ने उत्प्रेरणादायी प्रसंग पनि गान्धीले महोत्सवको उद्घाटन सत्रमा सुनाइन् ।

‘हामी अब नेपालको पहिचानलाई भिगनहरुको गन्तव्य भनेर पनि चिनाउन चाहन्छौं,’ कार्यक्रमको आयोजक संस्था वर्ल्ड भिगन अर्गनाइजेसन, नेपालका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेले भने, ‘यो महोत्सवमा जुटेको सहभागिताले हामीलाई बल पुर्‍याएको छ ।’

जनावरहरुमाथि हुने हिंसाबाट मुक्त खाना खाँदा स्वास्थ्य, पर्यावरण र मनोविज्ञान सबैमा सुधार हुने हुनाले भिगन आन्दोलनको प्रवर्द्धनमा आफूहरु लागेको उनले बताए । आयोजक संस्थाका अनुसार दक्षिण एशियामा भिगनहरुको अन्तर्राष्ट्रिय महोत्सव गर्ने नेपाल पहिलो हिमाली राज्य हो ।

प्रकाशित : भाद्र ३०, २०७९ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?