कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा महिला सामाजिक उद्यमी उत्सव

४ हजार ५ सय साना किसान तथा उद्यमी महिला सहभागी
अमृता अनमोल

बुटवल — महिला सशक्तीकरणका लागि उद्यम भन्ने नारासहित लुम्बिनीमा आयोजना गरिएको महिला सामाजिक उद्यमी उत्सव सम्पन्न भएको छ । आर्थिक उपार्जन र आत्मनिर्भरताले मात्रै दिगो महिला सशक्तीकरण हुने निष्कर्ष निकाल्दै बिहीबार सुरु भएको महिला उत्सव सम्पन्न भएको हो ।

लुम्बिनीमा महिला सामाजिक उद्यमी उत्सव

उत्सवमा देशभरबाट छनोट भएका करिब ४ हजार ५ सय साना किसान तथा उद्यमी महिला सहभागी थिए । सामाजिक उद्यमी महिला सञ्जाल र हेफर इन्टरनेसनलले उत्सव आयोजना गरेका हुन् ।

सामाजिक उद्यमी महिला सञ्जालमा ३ लाख १४ हजार साना किसान महिला आबद्ध छन् । उनीहरूले २ सय ५५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था सञ्चालन गरेका छन् । त्यसबाट उत्कृष्ट महिला छनोट गरेर उत्सवमा सहभागी गराइएको सञ्जालकी अध्यक्ष पार्वती न्यौपानेले बताइन् । महिलाहरूलाई समूह र सहकारीमा आबद्ध गर्दै आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने लक्ष्यसहित सञ्जालले काम गरेको छ ।

उत्सवमा उत्कृष्ट ४ सहकारीलाई पुरस्कृत गरिएको छ । उत्सवमा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख अमिककुमार शेरचनले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण र क्षमता विकासबाट आफू प्रभावित भएको बताए । आवश्यकताको पहिचान र समस्यामा सहजीकरण गर्न सक्ने हो भने बेरोजगार भएका र घरको चुलोचौकोमा भुलेका धेरै महिला उत्पादनमा जोडिन सक्ने, उद्यमी बन्ने र जीविका फेर्न सक्ने उनले जनाए ।

कार्यक्रममा संघीय सांसद गोकर्ण विष्ट, प्रदेश सांसदहरू, लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखलगायतले उद्यमी महिलाहरूको उत्पादन, बजारीकरण र उद्यम सञ्चालनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : भाद्र ३०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?