देशको अवस्था जीवनकालकै असामान्य : अध्यक्ष लिङ्देन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशको अवस्था जीवनकालकै असामान्य : अध्यक्ष लिङ्देन

विप्लव भट्टराईं

इलाम — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित कार्यक्रममा लिङ्देनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेको बताएका हुन् ।


लोकतान्त्रिक गणतन्त्रका नाममा केही राजनीतिक दलहरुका कारण यो अवस्था आएको उनको भनाइ थियो । ‘हत्या, हिंसा, आतंक छैन, बन्द हड्ताल छैन देश कहाँ असामान्य छ भन्ने बुझ्नु होला,’ उनले थपे, ‘तर मु्लुक चरम भ्रष्टाचार, महँगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको छ ।’

उनले छिमेकी मान्ने तर हस्तक्षप नसहने धारणा राखे । आगामी निर्वाचनमा सधैं सत्तामा रहने दलहरुको विकल्प खोज्न मतदातालाई उनको आग्रह थियो । धेरैजसो युवा शक्ति वैदेशिक रोजगारमा रहेको र देशमा जेष्ठ नागरिक र भएका युवाहरु पनि दलका पछाडि लागेकाले समस्या अझ थपिँदै गएको उनको तर्क थियो । अध्यक्ष लिङ्देनले विदेशी शक्तिहरु कुन दललाई विजयी गराउ भन्ने योजनामा पनि लागेको आरोप लगाए ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

इलाममा मेडिकल कलेज खोल्न पहल

विप्लव भट्टराईं

इलाम — पूर्वी पहाडी जिल्लावासीलाई सहज उपचारका लागि इलाममा मेडिकल कलेज सञ्चालनका लागि पहल थालिएको छ । इलाम नगरपालिकाको अगुवाइमा मेडिकल कलेज स्थापनाका लागि नगर प्रमुख केदार थापा नेतृत्वको टोली राजधानी पुगेर प्रधानमन्त्रीसहित चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित संस्थामा कार्यान्वयनका लागि आग्रह गरेको हो ।

डा. गोविन्द केसी २०७५ पुस २५ मा १६ औं पटक इलाममा अनसन बस्दा इलाम या पाँचथरमा मेडिकल कलेज खोल्ने सहमति भएको थियो । इलाम–९ घट्टिटारमा जग्गा व्यवस्थापन सुरु गरिएको छ । सदरमुकाममा रहेको अस्पताललाई ५० शय्याको बनाइए पनि त्यो अनुसारको सेवा सुविधा नहुँदा उपचारका लागि महँगो रकम खर्च गरेर अन्यत्र जानुपर्ने परिस्थिति छ । आवश्यक जनशक्तिको अभावमा अस्पतालले क्षमताअनुसारको सेवा दिन सकेको छैन ।

प्रस्तावित मेडिकल कलेजका लागि नगरपालिकाको स्वामित्वमा रहेको हालको अस्पताल क्षेत्रमा ३२ रोपनी जमिन, सोही परिसरको जिल्ला समन्व समितिको २ तले पक्की भवनसहित ८ रोपनी कलेजका लागि उपयोग गर्न सकिने नगरपालिकाको भनाइ छ । घट्टिटारस्थित ८ सय २० रोपनी खाली जग्गासहित विभिन्न व्यक्तिलाई मुआब्जा दिएर लिन सकिने नगरपालिकाको भनाइ छ । आवश्यक कूल जमिन १ हजार ४ सय ३० रोपनीको व्यवस्था गर्न सकिने भन्दै जग्गा व्यवस्थापन र अर्थ संकलनका लागि समिति नै बनाएर काम अघि बढाइएको छ ।

समितिले जग्गा व्ववस्थापनका लागि २५ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै राजधानीमा पहल गर्न पनि समिति गठन गरिएको छ । विस्तृत परियोजना प्रस्ताव तयार गर्नका लागि केन्द्र र प्रदेशको सम्बन्धित मन्त्रालयमा नगरपालिकाले अनुरोध गरेको छ । ‘सबै क्षेत्रको साथ र सहयोगको अपेक्षामा छौं,’ वडा ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने । इलामको हावापानी राम्रो भएकाले हिमालदेखि तराईसम्मबाट यहाँ आएर अध्ययन र सेवा गर्न सहज हुने तर्क डा. केसीको पनि छ । यहाँ अस्पताल सञ्चालन भए पूर्वी पहाडी जिल्लाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेछ । त्यस्तै यहाँको सन्तुलित हावापानीका कारण टाढाबाट पनि उपचारका लागि आउनेलाई सहज हुनेछ । मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय शय्या आवश्यक हुन्छ ।

प्रकाशित : भाद्र १७, २०७९ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×