२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

'प्रचण्ड सबै अस्थिरताको कारक हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्'

'कैयौं प्रधानमन्त्रीहरूले भन्ने गरेको तपाईं- हामीले सुनेका छौं 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने'

काठमाडौँ — 'भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने बताएका छन् । 

'प्रचण्ड सबै अस्थिरताको कारक हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्'

नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा दाहालले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने बताएका हुन् । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगती, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिन्छ भन्ने आफूलाई विश्वास रहेको उलने बताए ।

संरचनामा देखिएका विकृति र विसंगतीलाई सुधार गर्नका लागि आफू लाग्ने दाहालको भनाइ थियो । शान्तिपूर्ण छलफल र बहसको तरिकाले सामाजिक जीवनका सबै क्षेत्र र समुदायको सहभागितासहित अगाडि बढ्नुपर्ने र त्यसका लागि आवश्यक पर्दा सडकमा पनि जानुपर्ने अवस्था आउने उनले भनेका छन् । 'कैयौं प्रधानमन्त्रीहरूले भन्ने गरेको तपाईं-हामीले सुनेका छौं 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने,' दाहालले भने, 'के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहिँ खोट छ ? आज हामी सबैले विचार गर्नुपर्ने विषय हो ।'

राज्यका संचालनका लागि स्थापना गरिएका संरचनाले काम गर्दा समस्या आएको हो कि भन्ने दाहालको भनाइ थियो । 'हामीसँग मेसिनरी ठिक भएन भने पनि लाग्छ । जस्तो चिज हालेपनि त्यो मेसिनले आफ्नो आकार, प्रकार र गुणचरित्र अनुसारकै परिणाम दिन्छ । राम्रो हाले पनि निक्लिने बेलामा नराम्रो निक्लिन्छ । प्रणालीमा सुधार गर्नुपर्छ । त्यसो गर्न सकिन्छ,' उनले भने ।

त्यस्तै, दाहालले माओवादीले लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था तथा सबैले अधिकार पाउनुपर्‍यो भन्दा मन नपराउने मान्छे रहेको बताए । 'प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन् । माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल, भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन,' उनले भने ।

प्रकाशित : भाद्र ३०, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?