२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

कानुन छल्न ‘लिभिङ टुगेदर’

विवाहका लागि कानुनत: उमेर नपुगेका केटाकेटी एउटा कोठामा सँगै बसेका र गर्भधारण गरेका घटना  बढ्दै
तुलाराम पाण्डे

कालीकोट — उनी बल्ल १८ लागिन् । तीन वर्षअघि एसईईको तयारीका लागि ट्युसन पढ्न मान्म पुगेकी थिइन् । नरहरिनाथ गाउँपालिका–८ लालुकी उनको सान्नीत्रिवेणीका किशोरसँग भेट भयो । एक महिनाको परिचयमै नजिक भएर उनीहरू एउटै कोठामा बस्न थाले ।

कानुन छल्न ‘लिभिङ टुगेदर’

तीन महिना मान्ममा सँगै बसेपछि एसइई सकाएकी ती किशोरी केटाकै घरमा गएर बस्न थालिन् । उनले गत असारमा छोरी जन्माएकी छन् । उनलाई परिवारले मौनरूपमा बुहारी स्वीकार गरे पनि औपचारिक बिहे भएको छैन । ‘२० वर्ष नपुगेर बिहे गरे कानुन लाग्छ भन्छन्,’ १९ वर्षको भएका केटाले भने, ‘त्यसैले औपचारिक रूपमा विवाह गरी दर्ता गर्न समस्या भयो ।’

त्यस्तै गतवर्ष कक्षा ११ मा पढ्न सुर्खेत गएकी रास्कोटकी १७ वर्षीया एक किशोरीको शुभकालिकाका १८ वर्षीर्य एक किशोरसँग भेट भयो । छोटो चिनजानमै माया बस्यो । उनीहरू सँगै बस्न थाले । हाल १८ वर्ष पुगेकी किशोरी गर्भवती छिन् । ‘कानुनको डरले विवाह गर्न सकेका छैनन्,’ किशोरका बुवाले कान्तिपुरसित भने, ‘हामीले पनि उमेर पुगेपछि विवाह गर्ने गरी यताबाट दुवैका लागि खर्च पठाइरहेका छौं ।’

पछिल्लो समय बालविवाह गर्नेहरू कानुन छल्न ‘लिभिङ टुगेदर’ मा बस्न थालेका छन् । बाजागाजा बजाएर अभिभावकको सहमतिमा हुने बालविवाह झन्डै रोकिए पनि आफैं भागेर विवाह गर्ने समस्या भयावह बन्दै गएको छ । तिलागुफा र शुभकालिकामा सन् २०२१ मा गरेको अध्ययनमा झन्डै ९२ प्रतिशत बालविवाह भागेर भएका छन् । बालविवाह गरेकाहरूमध्ये अधिकांशले विवाह दर्ता नगरे पनि उनीहरू ‘लिभिङ टुगेदर’ मा बस्दै आएको सर्भे गर्ने परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार उक्त वर्ष ४ सय ३४ वटा विवाह भएकोमा जोडी बाँधेका १ सय ६९ मा २० वर्षमुनिका किशोरकिशोरी थिए । अध्ययनअनुसार झन्डै ३८ प्रतिशत बालविवाह भएको पाइएको थियो । तीमध्ये ९२ प्रतिशत अर्थात् १ सय ५६ वटा विवाह केटाकेटीले भागेर गरेका थिए । ‘बालविवाहमा अभिभावकको पनि मिलेमतो हुँदा लिभिङ टुगेदर समाजले पचाइरहेको छ,’ अधिकारकर्मी बाले विश्वकर्माले भने, ‘यो बालबालिकाको भविष्यका लागि भयानक समस्या हो ।’

गत आर्थिक वर्षमा १८ वर्षमुनिका झन्डै ७ सय किशोरीले गर्भजाँच गराएको जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांक छ । पछिल्लो समय बालविवाहविरुद्ध किशोरीहरू नै संगठित भएर सक्रिय हुन थालेका छन् । वैशाखयता तिलागुफा–५ को किशोरी समूहले ७ वटा बालविवाह प्रहरीको सहयोगमा रोकेको छ ।

नरहरिनाथस्थित कोटबाडाकी १९ वर्षीया किशोरीले ४ वर्षअघि १५ वर्षको उमेरमै बच्चा जन्माइन् । उनलाई सोल्टी नाता पर्ने किशोरले भगाएर लगेका थिए । उनी सानैमा गर्भवती भएकाले बच्चा जन्माउन पनि शल्यक्रिया गर्नुपर्‍यो । शल्यक्रिया गर्ने क्रममा अस्पताल पुर्‍याउन र उपचार गर्न झन्डै ३५ हजार रुपैयाँ ऋण लाग्यो । त्यही ऋण तिर्न झन्डै २ रोपनी खेत बेच्नुपरेपछि उनीहरूको घरमा कलह सुरु भयो ।

सासू, ससुरा र पतिले दैनिकजसो गाली गाली र कुटपिट गर्न थालेपछि उनले गत वर्ष दोस्रो नरहरिनाथ–८ लालुमा दोस्रो विवाह गरिन् । दोस्रो विवाह पनि ६ महिनामै टुंगिएपछि उनी अहिले माइतीमा छिन् । ‘बालविवाहले त मेरो जीवन नै बर्बाद भयो,’ उनले भनिन् ‘अहिले घरकी न घाटकी भए, सानै उमेरमा पाठेघर दुख्ने समस्या छ ।’ उनी अहिले गाउँमा गठन भएको जागृती किशोरी समूहकी सदस्य भएर बालविवाहविरुद्ध अभियानमा सक्रिय छिन् ।

‘आफैं भागेर गर्ने विवाह रोक्न हामीले हरसम्भव प्रयास गरेका छौं, तर सफल भइएको छैन,’ नरहरिनाथ गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सरिता विष्टले भनिन्, ‘बालविवाह गरेका केही जोडीलाई त प्रहरी लगाएर पनि छुटाइएको छ, अहिले गुपचुप रूपमा केटाकेटी आफैं लिभिङ टुगेदरमा बस्न थाले ।’ बालविवाह न्यूनीकरण, महिनाबारी व्यवस्थापनलगायतका शीषर्कमा गाउँपालिकाले यो वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिइन् ।

बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा नियन्त्रण हुन नसकेको अधिकारकर्मी कालीबहादुर मल्लले बताए । ‘बालबालिकाप्रति उदासीन राज्य संयन्त्रका कारण पनि समस्या भएको हो,’ उनले भने, ‘बालविवाहलाई सामाजिक अपराधका रूपमा नलिनु र अपराधलाई राजनीतिक संरक्षण हुनुले सानै उमेरमा विवाह गर्ने प्रवृत्ति बढेको हो ।’ सञ्चार र सामाजिक सञ्जालको दुरुपयोग, साथीभाइको लहैलहैजस्ता कारण पनि बालविवाह नघटेको उनको भनाइ छ ।

मनोविमर्शकर्ता डिलबहादुर शाहीका अनुसार बालविवाहका बहुआयामिक असर छन् । कलिलैमा आमा बन्दा आमा र शिशुको मृत्यु, कुपोषण, पाठेघर खस्ने, पढाइमा अवरोध आउने, पारिवारिक बेमेल हुने, सम्बन्धविच्छेद बढ्नेजस्ता समस्या बालविवाहले नै निम्त्याएको उनले बताए । ‘बालविवाहले घरेलु हिंसा पनि बढाइरहेको छ,’ उनले भने, ‘सम्बन्धविच्छेद हुने झन्डै ८० प्रतिशत मुद्दा बालविवाहकै कारण हुने गरेका छन् ।’

बालविवाहका घटना सार्वजनिक हुन थालेपछि नियन्त्रण गर्न प्रहरीले पनि सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १ वर्षको अवधिमा जिल्लाभरि १ सय ३९ वटा बाल विवाह प्रहरीको सक्रियतामा रोकिएका छन् । बालविवाहविरुद्धको अभियान सञ्चालन गर्न सबै प्रहरी चौकीका इन्चार्जहरूलाई अभिमुखीकरण गरी एक महिनाअघि मात्रै कार्यक्षेत्रमा पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए । प्रहरीले जिल्ला अदालतमा हालसम्म २ वटा मात्र बालविवाहको कसुरमा मुद्दा चलाएको छ । अन्यलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।

बालविवाहले महिला हिंसालाई पनि बढावा दिएको शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन् । ‘यसको अन्त्य नभएसम्म महिलामाथिका विभेद र हिंसा रोकिँदैन,’ उनले भनिन्, ‘बालविवाहले महिलाको स्वास्थ्य कमजोर भई अकालमै ज्यान गुमाउनुपर्ने, धेरै सन्तान जन्मिने, बालबालिका कुपोषित हुने, बहुविवाह हुनेलगायत समस्या पनि निम्त्याएको छ ।’

प्रकाशित : भाद्र ३०, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?