२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

नेविसंघका ७७ वटै जिल्ला समिति भंग गर्न नेताहरूको सुझाव

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले लामो समयदेखि अधिवेशन नहुँदा गतिविधिविहीन बनेका नेपाल विद्यार्थी संघका ७७ वटै जिल्ला समितिहरू भंग गर्न सुझाव दिएका छन् । हाल केन्द्रीय समितिसमेत अपुरो छ । महाधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले नेविसंघ विघटन गरेर अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका छन् । तर, पदाधिकारी नियुक्त गर्न सकेका छैनन् ।

नेविसंघका ७७ वटै जिल्ला समिति भंग गर्न नेताहरूको सुझाव

अध्यक्ष शेर्पाले बुधबार नेविसंघका पूर्वपदाधिकारीहरूसँग गरेको छलफलमा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री किशोरसिंह राठोरलगायत नेताले विवादित रहेका सबै जिल्ला समितिहरू समेत भंग गर्न निर्देशनात्मक सुझाव दिएका छन् ।

उपसभापति गुरुङले अपुरो रहेको केन्द्रीय समितिलाई अब छिट्टै पूर्णता दिने बताए । ‘पार्टीले नेविसंघको केन्द्रीय समितिलाई अब छिट्टै पूर्णता दिन्छ । केन्द्रीय महाधिवेशनभन्दा अगाडि जिल्ला समितिहरू पनि भंग गरेर अधिवेशनका लागि नयाँ समितिहरू गठन भएको राम्रो हुन्छ,’ गुरुङले भनेका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै हाल पार्टीको राजनीतिमा रहेका नेताहरू उपसभापति गुरुङ, सहमहामन्त्री राठोर, केन्द्रीय सदस्यहरू एनपी साउद, गोविन्द भट्टराई, नैनसिंह महर, राजीव ढुंगाना र नेताहरू महेन्द्र शर्मा र गुरुराज घिमिरेलगायतले बोलेका थिए । नेताहरूले नेविसंघलाई युग सुहाउँदो बनाउन र शैक्षिक मुद्दासँगै आगामी निर्वाचन तयारीमा लाग्न सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागीले पार्टीले आगामी निर्वाचनमा युवा नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउनुपर्ने माग गरेका छन् । ‘देशभरि युवा नेतृत्वको चर्चा छ । पार्टीले जनताको भावनालाई सम्बोधन गर्दै नयाँ पुस्ताका नेताहरू र युवा विद्यार्थीहरूलाई समेटेर उम्मेदवार बनाउनु आवश्यक छ,’ अध्यक्ष शेर्पाले भने, ‘हामीले यो कार्यक्रममार्फत जतिसक्दो धेरै युवा विद्यार्थी नेताहरूलाई उम्मेदवार बनाउन माग गरेका छौं ।’

प्रकाशित : भाद्र २९, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?