कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लप्चीमा भोकमरीको डर

चीनले सीमा बन्द गरेपछि लप्चीवासीले तीन वर्षदेखि घिउसमेत बेच्न पाएनन् 
खाद्यान्न लिन तीन दिन हिँडेर लामाबगर झर्नुपर्छ, ढुवानी खर्च नै प्रतिकेजी एक सय पर्छ
केदार शिवाकोटी

दोलखा — गाउँमा कोही बिरामी परे आफन्तलाई फोनबाट खबर दिन तीन दिन हिँडेर लामाबगर झर्नुपर्छ । गाउँमा मोबाइलको नेटवर्क टिप्दैन । फोन गर्नकै लागि पहिरो छिचोल्दै तामाकोसीको भीर भएर हिँड्नुपर्छ, त्यो पनि हिउँदमा मात्रै ।

लप्चीमा भोकमरीको डर

वर्षा र हिमपातको हरेक ६ महिना लप्चीले ‘नाकाबन्दी’ भोग्छ । स्वास्थ्य, शिक्षा, बिजुली, बाटो नभएको गाउँमा बिरामी अस्पताल पुर्‍याउन हेलिकोप्टरबाहेक अर्को विकल्प छैन । आर्थिक अवस्था मजबुत हुने हेलिकोप्टर चार्टर गरेर काठमाडौं गए पनि नसक्नेले उपचार नपाएरै ज्यान गुमाउनुपर्ने स्थानीय डोल्मा शेर्पाले बताइन् ।

०७२ को भूकम्पले विद्यालय भवन भत्किएपछि गाउँमा पढाइ हुन छाडेको छ । पढाइका लागि लामाबगर आउनुपर्ने भएपछि लप्ची गुम्बा व्यवस्थापन समितिले बालबालिकालाई २०७४ देखि काठमाडौंका विद्यालयमा भर्ना गरिदिएको छ । तर, गाउँमा फोन नलाग्ने भएकाले अभिभावकले महिनौंदेखि आफ्ना छोराछोरीको खबरसमेत बुझन् पाएका छैनन् ।

लप्चीवासीको मुख्य बजार चीनको फलाक हो । ‘तीन वर्ष भयो सीमा बन्द भएर फलाक नगएको,’ डोल्माले भनिन्, ‘हाम्रो मुख्य आम्दानीको स्रोत चौंरीपालन हो । मुख्य बजार नै बन्द भएपछि तीन वर्षदेखि एक पैसो आम्दानी भएको छैन ।’

चीनले कोरोनाको कारण देखाउँदै बन्द गरेको नाका अझै खुलेको छैन । सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीमा ४६ घरपरिवारका १ सय ५० जना बस्छन् । उनीहरूले करिब ५ सय याकचौंरी पालेका छन् । ‘हाम्रो आम्दानी भनेकै घिउछुर्पी बेचेर आउने पैसा हो । सीमा बन्दले घरखर्च धान्न पनि मुस्किल भयो,’ डोल्माले भनिन् । नाका बन्द भएपछि खाद्यान्न लिन स्थानीय लामाबगर झर्ने गरेका छन् । ‘तीन वर्षदेखि आम्दानी छैन, कसरी खाद्यान्न जोहो गर्ने ?’ उनले प्रश्न गरिन्, ‘सरकारका मान्छेले लप्चीमा पाइला टेक्दैनन्, कता गएर एक छाकका लागि गुहार माग्ने हो ?’

बाटोभरि पहिरो छिचोल्दै एकअर्काको हात समातेर तीन दिनमा लप्चीवासी खाद्यान्न लिन लामाबगर आइपुग्छन् । ‘याकचौंरीलाई पनि पिठोनुन किन्न सकिएको छैन,’ डोल्माले भनिन्, ‘सीमा बन्द भएपछि आर्थिक अवस्था राम्रा भएकाले गाउँ छाडे, हामी कमजोर मान्छे कता जाने के गर्ने ?’

माथिल्लो भेगमा हिमपात भएपछि चौंरी धपाएर लप्चीबासी लुम्नाङ झर्छन् । खाद्यान्न ढुवानी गर्न पनि आकाश हेर्नुपर्ने अवस्था रहेको आङदावा शेर्पाले बताए । ‘वर्षा मौसम सकिन लाग्यो, घरमा खाद्यान्न पनि रित्तिँदै छ,’ उनले भने, ‘घिउ र छुर्पी घरमै थन्किएका कारण खाद्यान्न किन्न पैसा छैन ।’ उनका अनुसार सीमा बन्द नहुँदा चौंरीबाट हुने उत्पादनले प्रतिघर वार्षिक ५ देखि १५ लाखसम्म आम्दानी हुन्थ्यो ।

सरकारले यहाँका बासिन्दाको दैनिकी सहज बनाइदिन पहल नगरेको स्थानीय कर्मा वाइसर शेर्पाले गुनासो गरे । उनका अनुसार लामाबगरबाट प्रतिकेजी एक सय रुपैयाँ तिरेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । उत्तरतर्फको बजारमा चिनियाँ पक्षले जान दिँदैनन् । भीरको बाटो पहिरो छिचोल्दै नेपालबाटै खाद्यान्न लानुपर्छ, त्यही पनि महँगो भाडा तिरेर । ‘सीमा खुला भएको भए ३/४ महिनाका लागि मात्रै जोहो गरे हुन्थ्यो,’ उनले भने, ‘उता याक र घोडाबाट खाद्यान्न लिएर आउथ्यौं, नेपालतर्फ बाटो नहुँदा पैदलै ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

चीनको फलाकसँगै कुती लप्चीबासीको लत्ता कपडादेखि सबै सामान किन्ने बजार हो । ‘सीमावासी भएकाले हाम्रो पीडा कसैले देखेन, उताको बजारमा जानै पाइँदैन, नेपालमा सामान लिन आउँदा ज्यान जोखिम,’ कर्माले भने, ‘बाटोघाटो छैन, काठका कमजोर फड्के र भीरमा कोपिएर खिया लागेका फलामका डन्डीमा हिँड्नुपर्छ ।’ लप्ची जाने बाटोमा २ वटा ठूला पहिरो गएका छन् अन्य ठाउँ साँघुरा काठका फड्के र गल कोपेर बनाइएका पुराना बाटो छन् ।

चिनियाँ बजारमा लप्चीको घिउ प्रतिकेजी १६ सयमा बिक्री हुने गरेको थियो । ‘सीमामा कडाइ तीन वर्षदेखि कसैले पनि घिउ र चौंरीका बाच्छा बिक्री गर्न पाएका छैनन्,’ उनले भने, आर्थिक पाटो नै यही हो, सीमा नखुले भोकमारी लप्चीमा भोकमरी लाग्छ ।’ सीमा जोडिएका अन्य हिमाली जिल्लामा सरकारले आफैंले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरे पनि लप्चीवासीलाई बेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?