चिनियाँ जनकंग्रेस अध्यक्ष लीसँग सभामुख सापकोटाले भने : नेपाल ‘एक चीन’ नीतिमा प्रतिबद्ध छ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ जनकंग्रेस अध्यक्ष लीसँग सभामुख सापकोटाले भने : नेपाल ‘एक चीन’ नीतिमा प्रतिबद्ध छ

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले नेपाल ‘एक चीन’ नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा सभामुख सापकोटाले एक चीन नीतिको बारेमा ढुक्क रहनका लागि आग्रह गरेका हुन् ।

उक्त प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सहभागि संघीय संसद्का एक उच्च पदाधिकारीका अनुसार सभामुख सापकोटाले अरनिको राजमार्गदेखि कोभिड–१९ को खोप सहयोगलगायतका विषयमा चर्चा गर्दै चीन अहिले अझ सहयोग गर्न सक्ने स्थितिमा पुगेको उल्लेख गरेका थिए । ‘चीनले पहिलेदेखि नै नेपाललाई सहयोग गर्दै आइरहेको छ । अहिले त झन् बलियो स्थितिमा पुगेको छ,’ सभामुख सापकोटालाई उद्धृत गर्दै ती उच्च पदाधिकारीले भने ।

जवाफमा चिनियाँ अध्यक्ष लीले दशैं पर्वअघि नै नाकालाई सहज बनाउन बनाइने जानकारी दिए । ती उच्च पदाधिकारीका अनुसार लीले नाका खुलाउनेदेखि संसद्लाई सहयोग गर्ने, केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई अघि बढाउनेलगायत विषयमा चर्चा गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा नेपाल र चीनद्वारा हस्ताक्षर

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

संसद्‍ सचिवालयबाट कान्तिपुरलाई प्राप्त दस्तावेज अनुसार संघीय संसद्‍ भवन नयाँ वानेश्वरमा आयोजित विशेष समारोहबीच समझादारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।

उक्त समझारी पत्रमा ६ ओटा बुँदा रहेका छन् । जसमा बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने सहमति भएको छ ।

साथै बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत् समेत दुई मुलुकहरूबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा इन्टर पार्लियामेन्ट्री युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाका अन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार दिउँसो नेपाल आइपुगेका हुन् । उनी ६७ जनाको टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन् । अध्यक्ष ली चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र पनि मानिन्छन् ।

प्रकाशित : भाद्र २७, २०७९ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×