कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बेलायती महारानी एजिलाबेथ द्वितीयाले रोपेको पुवाँले

राजा महेन्द्रको शाासनकालमा बाघको सिकार, वीरेन्द्रको पालामा वृक्षरोपण
गोविन्द पोखरेल

काठमाडौँ — गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा ‘अति विशिष्ट वृक्षरोपण’ क्षेत्र छ । विभिन्न समयमा नेपाल आएका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत अति विशिष्ट पाहुनाहरुले वनस्पति उद्यानमा रोपेका बिरुवा त्यहाँ हुर्किरहेका छन् ।

बेलायती महारानी एजिलाबेथ द्वितीयाले रोपेको पुवाँले

सन् १९७४मा नेपाल भ्रमण गरेका युगोस्लोभियाका राष्ट्रपति मार्सल जोसेफ ब्रोज टिटोले रोपेको लालिगुराँसदेखि सन् १९९६मा नेपाल आएका जर्मन राष्ट्रपति प्राडा रोमन हर्जोगले रोपेको ढाले कटुस ‘अति विशिष्ट वृक्षरोपण’ क्षेत्रमा छ ।

परिसरमा अन्य थुप्रै बिरुवा छन् । कुनै फुल्ने खालका छन् त कुनै नफुल्ने खालका । एउटा लहरमा चाहिँ पुवाँले रोपिएको छ ।

बेलयाती महारानी एलिजाबेथ द्वितीया र उनका श्रीमान् तत्कालीन राजकुमार फिलिप्सको पहिलो नेपाल भ्रमणमा राजा महेन्द्रको शासनकाल भयो । महेन्द्रले ‘कू’ गरेको एक वर्षपछि बेलायती राजपरिवारको टोली पहिलोपटक सन् १९६१मा नेपाल भ्रमणका लागि आएको थियो ।

शाही भ्रमणको क्रममा राजा महेन्द्रले चितवनमा महारानी र राजकुमारका लागि ‘सिकार खेल्ने’ बन्दोबस्ती गरेका थिए । बेलायती शाही परिवारको टोलीले चितवनमा बाघ र गैंडा सिकारको प्रत्यक्ष मज्जा लियो । बाघ मार्नका लागि धेरै हात्ती प्रयोग भए । महारानीको सचिवालयका सदस्यले बाघलाई गोली हानेर ढालेका थिए । राजकुमार फिलिप सिकारमा सामेल थिए तर उनको औंलामा पट्टि बाँधिएको थियो ।

महारानीको दोस्रो नेपाल भ्रमण चाही त्यसको २५ वर्षपछि भयो । त्यतिबेला वीरेन्द्र राजा थिए । सन् १९८६मा महारानी एलिजाबेथको नेपाल भ्रमण चार दिनको थियो । त्यस भ्रमणमा उनले गोर्खा भेट्रानका सदस्यलाई गरेको भेटघाट, काष्ठमण्डप भ्रमण गरिन् ।

नेपाल भ्रमणमा महारानी र राजकुमार फिलिप्सले राष्ट्रिय वनस्पति उद्यान गोदावरीको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा रोपेकी थिइन् । सन् १९८६को फेब्रुअरी २० तारिखका दिन महारानी र राजकुमार फिलिप्सले वनस्पति उद्यान एक/एक वटा पुवाँले बिरुवा रोपेका थिए ।

महारानी र फिलिप्सले रोपेको ‘पुवाँले’ बिरुवा अहिले करिब १२ मिटर अग्ला भएका छन् । महारानीले रोपेको यो बिरुवालाई वनस्पति उद्यानका प्रमुख दिपक लामिछाने ‘हरित कूटनीतिको प्रतिबिम्ब’ भएको बताउँछन् । त्यसैको सिको गरेर महारानी एलिजाबेथको ७०औं राज्यभिषेकको अवसर पारेर गत वर्षका च्रैत १० गते बेलायती राजदूत निकोला पोलिटले पनि ‘पुवाँले’ रोपेकी थिइन् ।

महारानीकै इच्छामा गोदावरीमा शाही वनस्पति उद्यान इडिनवर्ग र बेलायती दूतावसको सहयोगमासन् २०१६मा ‘जैविक विविधता शैक्षिक उद्यान’को स्थापना गरिएको थियो । सो अवसर नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको थियो ।

६ सयदेखि २१ सय मिटर उचाइसम्म पाइने पुवाँले नेपालको उत्तर फर्किएका पहाड, ओसिलो क्षेत्रमा पाइने त्रिभुनव वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक एवं अनुसन्धानकर्ता सुरेशराज घिमिरे बताउँछन् । उनका अनुसार पुवाँले उष्ण क्षेत्रमा पाइने ढिलो हुर्कने सदावर हरियाली हुने रुख हो ।

यो बिरुवा नेपाल, चीन, भुटान, भारतको सिक्किम, दार्जीलिङ, असम र बांग्लादेशमा पाइने उनले बताए ।

गाईवस्तुलाई डाले घाँसका रूपमा प्रयोग हुने यो बिरुवाको फलमा दाना लाग्ने गर्छ । कतिपयले यसलाई ‘निरस्याउला’ पनि भन्ने प्राध्यापक घिमिरेले बताए ।

महारानीलाई पुवाँले नै किन रोप्न दिइएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘वनस्पति उद्यानमा रोप्न मिल्ने, धेरै ठूलो उचाइ नहुने, सदावहार हरियाली हुने विशेषता भएको बिरुवा नै पुवाँलेको हुने भएपछि रोपिएको हुन सक्छ । ’

प्रकाशित : भाद्र २७, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?