२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

'राजीनामा गरे महाभियोग फिर्ता लिने देउवा र प्रचण्डको सन्देश लिएर डिनाजी क्वार्टरमा आउनुभयो'

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई राजीनामा दिए महाअभियोग फिर्ता लिन गठबन्धनका नेताहरूबाट प्रलोभन दिइएको बताएका छन् । संसदको महाअभियोग छानबिन समितिमा बयानका क्रममा आइतबार जबराले आफूपछिको न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खोल्न आफ्नो राजीनामाका लागि दबाब आएको बताए ।

'राजीनामा गरे महाभियोग फिर्ता लिने देउवा र प्रचण्डको सन्देश लिएर डिनाजी क्वार्टरमा आउनुभयो'

उनले सत्ता गठबन्धनका नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालको तर्फबाट राजीनामा दिएपछि महाअभियोग फिर्ता लिने प्रस्ताव लिएर कांग्रेस नेतृ डिना उपाध्याय आफ्नो क्वार्टरमा आएको बताए । जबराले भने, ‘राजीनामा गर्ने हो भने हामीले महाभियोग फिर्ता लिइदिन्छौं । एक/डेढ महिना तपाइँ चलाउनुहोस्, त्यसपछि दीपक (कार्की) लाई दिनुहोस् भन्न शीर्ष नेता नै आएका थिए । प्रचण्ड र शेरबहादुर देउवालाई सोधेर आएको भन्दै डिना (उपाध्याय) जी मेरो क्वार्टरमै आएर भन्नुभएको हो । उहाँलाई सोध्दा हुन्छ ।’

सत्ता गठबन्धनले आफ्नाविरुद्ध अविश्वास र षड्यन्त्र गरेको उनले आरोप लगाए । ‘प्रधानन्यायाधीशप्रति गठबन्धनले अविश्वास गरेकै हो । षड्यन्त्र गरेकै हो । त्यो षड्यन्त्रमा सर्वोच्चका न्यायाधीश फसेकै हुन् । नेपाल बार एसोसिएसनलाई परिचालन गरिएकै हो,’ उनले भने ।

उनले केही वकिलले न्यायाधीशका आफ्ना मानिसलाई गरेको सिफारिस आफूले नमानेका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आफ्नाविरुद्ध उजुरी दिइएको भए पनि अब त्यो विषय सक्किसकेको बताए ।

‘ओमप्रकाश (काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल) जी सम्पत्ति शुद्धीकरण विभागमा जानुभएको थियो । बारको तत्कालीन अध्यक्ष चण्डेश्वर (श्रेष्ठ) जीले पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन दुईचोटी सिफारिस गर्नुभएको थियो, दुबैचोटी मैले इन्कार गरेको हो । पुनदेवी महर्जन ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा नै पुगिहाल्छ,’ जबराले भने ।

आफूले महर्जनलाई न्यायाधीश बनाउन अस्वीकार गरेपछि अर्यालको नेतृत्वमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिइएको जबराले दाबी गरे । ‘प्रधानन्यायाधीश चोलेन्द्र र उसको परिवारलाई जतिसक्यो बदनाम गर्ने र राजीनामाका लागि बाध्य पार्ने योजना बमोजिम यो सबै आएको हो,’ उनले भने,‘सबै न्यायाधीशलाई डर र धम्की दिइएको छ । सामान्य व्यक्ति भएको भए यत्रो आरोप लाग्दा भागिहाल्थ्यो । म भागिनँ । संविधान बमोजिम जनताको अदालतमा आएँ ।’

प्रकाशित : भाद्र २६, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?