कान्तिपुर कन्क्लेभ आजदेखि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र युरोपका ५३ जना प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा सहभागी छन् । यो मञ्चमा राजनीति, भूराजनीति तथा अर्थ कूटनीति, अन्तरदेशीय ऊर्जा प्रसारण तथा व्यापार, जलवायु परिवर्तन, अर्थतन्त्रको उपचार, गीत–संगीतसहित १२ सत्रमा संवाद हुँदै छ ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल मुख्य वक्ता छन् । उद्घाटन समारोहपछि ‘जलवायु परिवर्तन’, ‘डिजिटल रूपान्तरण’, ‘अन्तर्देशीय ऊर्जा प्रसारण तथा व्यापार’, ‘नेपाल र विश्व’ तथा ‘विश्व समुदायमा नेपालको सफ्ट पावर’ विषयमा बहस हुनेछ । विदेशी वक्ताहरू पनि सहभागी हुने भएकाले पहिलो दिनका सबै सत्र अंग्रेजी भाषामा सञ्चालन गरिनेछ ।

आइतबार दोस्रो दिनका सबैजसो सत्र नेपाली भाषामा हुनेछन् । ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकको आरम्भ सत्रमा विकास अर्थशास्त्री महेन्द्र पी लामा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बहस गर्नेछन् । त्यसपछि ‘सार्वजनिक संवादको शैली’, ‘आयात निषेध कि निर्यात वृद्धि ?’, ‘संगीतको सिमाना’ र ‘नेतृत्वमा महिला, अब पहिला’ शीर्षकमा पालैपालो बहस हुनेछ । ‘नीति, थिति र राजनीति’ शीर्षकको अन्तिम तथा समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनेछन् । ‘यी सबै सत्रमा समस्याका पृष्ठभूमि मात्र होइन, समाधानका मार्गचित्रबारे पनि छलफल हुनेछ,’ केएमजीले भनेको छ ।

सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’ को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको तेस्रो संस्करण बृहत् र थप प्रभावकारी हुने केएमजीले जनाएको छ । ‘नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने उद्देश्यले कान्तिपुर कन्क्लेभ सुरु गरिएको हो,’ केएमजी व्यवस्थापनले भनेको छ । कार्यक्रम केएमजीअन्तर्गतका सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक, काठमान्डु पोस्ट, नारी, ई–कान्तिपुर, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रकाशन तथा प्रसारण हुनेछ ।

प्रकाशित : भाद्र २५, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्

नेतृत्व र दलित समुदायलाई स्थापित गर्ने भूमिका खेल्न सुझाव

रूपा गहतराज

नेपालगन्ज — स्थानीय तहमा निर्वाचित दलित महिलाहरुले नेतृत्व विकास गर्दै सिंगो दलित समुदायको सवाललाई स्थापित गराउन भूमिका खेल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जातीय छुवाछूत र लैंगिक हिंसा अन्त्यका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भूमिका विषयक लुम्बिनी प्रदेशस्तरीय सम्मेलनमा सहभागीहरुले सो कुरा बताएका हुन् ।

दलित महिला संघ (फेडो) ले आयोजना गरेको भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पार्वती पुनले जातीय र लैंगिक आधारमा कसैमाथि विभेद नहुँदामात्रै मुलुकको विकास हुने बताइन् । सभासद पुनले दलित समुदायको उत्थानका लागि दलित महिलाको सशक्तीकरण आवश्यक रहेको बताइन ।

‘तपाईंहरु जनताबाट अनुमोदित भएर आज निर्वाचित हुनुभएको हो । यो एउटा अवसर हो,’उनले सुझाव दिँदै भनिन्, ‘आफ्नो वडाले गर्ने कामहरूबारे जानकारी लिनुस् । जनताका आवश्यकता हेर्नुस् । आफ्नो नेतृत्व विकास गर्नुस् ।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, डुडुवा गाउँपालिकाकी उपमेयर साहिदा बानो, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरी विश्वकर्मा, दलित अधिकर्मी डिलबहादुर परियार, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, राप्रपाकी इन्दीरा शाही, कांग्रेस बाँकेका सुशीला नेपाली, महिला विकास अधिकृत मन्जु पाण्डेलगायतले धारणा राखेका थिए ।

भेलामा वडामा दलित महिला सदस्यहरूको भूमिका र अधिकारका फेडोका संस्थापक दुर्गा सोब, केन्द्रीय अध्यक्ष कला स्वर्णकारलगायतले प्रशिक्षण दिएका थिए । सम्मेलनमा प्रदेश ५ का विभिन्न जिल्लाका गरी करिब सय जना दलित समुदायबाट निर्वाचित महिला जनप्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित : भाद्र २४, २०७९ २२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×