कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आमनिर्वाचन २०७९

यी हुन् सर्वसम्मत उम्मेदवार सिफारिस महिला नेता

काठमाडौँ — राजनीतिक दलहरूले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउने अभ्यास सामान्य भइसकेको छैन । दलहरूले महिलाले प्रत्यक्षतर्फ चुनाव नै जित्दैनन् भन्ने भाष्यमात्रै बनाएका छैनन्, महिलालाई उम्मेदवारसमेत बनाउन चाहँदैनन् । आमनिर्वाचनको मिति नजिकिँदा महिलाहरूले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिला उम्मेदवार बनाइनुपर्ने मागसमेत गरे ।

यी हुन् सर्वसम्मत उम्मेदवार सिफारिस महिला नेता

तर, संसद्मै त्यसबारे बहस र छलफल भए पनि दलहरूमा खासै प्रभाव परेको छैन । बरू राजनीतिक दलहरूभित्र उम्मेदवार चयनको प्रक्रिया चलिरहँदा निर्वाचन क्षेत्रस्तरबाटै महिला नेताहरूलाई उम्मेदवार बनाउन माग भएको छ । कतिपय क्षेत्रहरूमा त महिला नेताहरू नै सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा एमालेले देशभरिबाट उम्मेदवार सिफारिस गर्दा एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरेको थियो । त्यसआधारमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएका हरेक ठाउँबाट कम्तीमा एक महिलाको नाम सिफारिस भएको छ । तर ६० भन्दा धेरै क्षेत्रबाट सर्वसम्मतरुपमा एकल उम्मेदवारको नाम सिफारिस भएर आएका छन् । सर्वसम्मत सिफारिस भएका नाममध्ये भने महिलाको संख्या एकदमै न्यून छ ।

एमालेले सुनसरी–३ बाट भगवती चौधरी र धनुषा–३ बाट जुलीकुमारी महतोको नाम सर्वसम्मत सिफारिस गरेको छ । एमालेबाट थुप्रै महिला नेताहरू चुनाव लड्ने तयारीमा छन् । तर, उम्मेदवार सिफारिसमा भने दुई महिला नेताहरूमात्रै सर्वसम्मत सिफारिस भएका छन् ।

सुनसरी–३ मा ०७४ को निर्वाचनमा पराजित भएकी चौधरी यसपटक त्यसको बदला लिने दाउमा छिन् । त्यसबेला उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । उनी ०६४ र ०७४ मा समानुपातिकतर्फ सांसद् बनेकी थिइन् ।कांग्रेसमा पनि थुप्रै महिला नेताहरू प्रत्यक्षतर्फ चुनाव लड्ने दौडमा छन् ।

तर सर्वसम्मतरुपमा भने दुई जना महिला नेताहरूमात्रै उम्मेदवार सिफारिस भएका छन् । कांग्रेसबाट महालक्ष्मी उपाध्याय (मकवानपुर–२) र आरजु राणा (कैलाली–५) सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उपाध्याय र राणा दुवै जना ०७४ को निर्वाचनमा ती क्षेत्रबाट पराजित उम्मेदवार हुन् ।

नेकपा माओवादी केन्द्रले पनि कञ्चनपुर–१ बाट वीना मगरलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । उनी ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगरलाई टिकट पाउन कठिन नरहेको नेताहरूको भनाइ छ । माओवादी केन्द्रले नै सुनसरी–२ बाट रामकुमारी चौधरीको नाम पनि सर्वसम्मत सिफारिस गरेको छ । ०७४ मा समानुपातिकतर्फ निर्वाचित उनी दुई पटक राज्यमन्त्री भइसकेकी छिन् भने संसद्मा पार्टीको सचेतकसमेत भइन् ।

सर्वसम्मत सिफारिस भएकाबाहेक पनि थुप्रै महिला नेताहरू उम्मेदवार बन्न आकांक्षी छन् । एमालेबाट पवित्रा निरौला (झापा–२), विद्या भट्टराई (कास्की–२), विन्दा पाण्डे (नुवाकोट–१), शिवमाया तुम्बाहाङ्फे (मोरङ–१), निरुदेवी पाल (कञ्चनपुर–३), शान्ता चौधरी (दाङ–१), गंगा थारु (दाङ–१), नवीना लामा (काभ्रे–१) र पद्मा अर्याल (स्याङजा– २) समेत चुनाव लड्ने तयारीमा छन् । उनीहरूको नाम क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएको छ ।

त्यस्तै, कांग्रेसबाट पुष्पा भुसाल (अर्घाखाँची), सीता गुरुङ (तेह्रथुम), चित्रलेखा यादव (सिरहा–१), अम्बिका बस्नेत (काठमाडौं–३), किरण यादव (महोत्तरी–२), सुजाता कोइराला (मोरङ–२), किरण कोइराला (बाँके–२), सुजाता परियार (इलाम), चम्पादेवी खड्का (बागलुङ–१), मुक्ताकुमारी यादव (धनुषा–२), सरिता प्रसाईं (झापा–२), महेन्द्रकुमारी सुब्बा (झापा–५), डिला संग्रौला (मोरङ–६), प्रतिमा गौतम (काठमाडौं–२), नानु बाँस्तोला (काठमाडौं–९), लक्ष्मी खतिवडा (सुनसरी–१), मीना सुब्बा (सुनसरी–१), धना खतिवडा (ललितपुर–२), सुशीला थिङ (सिन्धुली–२), अञ्जली श्रेष्ठ (चितवन–३), सपना जोशी (काठमाडौं–८), ईश्वरी न्यौपाने (कैलाली–१) र आशा विक (बाँके–३) उम्मेदवारका लागि सिफारिस भएका छन् ।

माओवादी केन्द्रबाट पहिल्यैदेखि चुनाव लड्दै महिला नेताहरूसमेत सर्वसम्मत सिफारिस भएका छैनन् । माओवादी केन्द्रबाट पम्फा भुसाल (ललितपुर–३), कमला रोका (रुकुमपूर्व), धर्मशिला चापागाईं (झापा–४), जयपुरी घर्ती (रोल्पा), ओनसरी घर्ती (रोल्पा), अञ्जना विशंखे (काठमाडौं–१०), बिना मगर (कञ्चनपुर–१), रेखा शर्मा (दाङ–२), अमृता थापामगर (स्याङ्जा–१), पूर्णकुमारी सुवेदी (बाँके–२), सत्य पहाडी (डोल्पा) र यशोदा गुरुङ सुवेदी (मनाङ)लगायत प्रत्यक्षतर्फ उम्मेदवारका लागि दाबी गरिरहेका छन् ।

प्रकाशित : भाद्र २४, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?