२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
निजामती सेवा दिवस

सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौँ — सरकारले यस वर्षको निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाइन्छ । बुधबार 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन' भन्ने नाराका साथ यसवर्षको निजामती दिवस मनाइँदैछ ।

सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

सरकारले दिवसका अवसरमा ४० जना निजामती कर्मचारीलाई पुरस्कारको घोषणा गरेको हो । मूल समारोह समितिले अघिल्लो वर्ष घोषणा भएको पुरस्कारबाट पुरस्कृत कर्मचारीलाई यस वर्ष पुरस्कृत गर्नेछ भने यसवर्ष घोषणा भएको पुरस्कार भने अर्को दिवसमा मात्रै वितरण हुनेछ ।

निजामती सेवा नियमावली २०५० को ११६ (क) बमोजिम हरेक वर्ष एक जनालाई दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई जनही ५० हजार रुपैयाँसहित निजामती सेवा पुरस्कार र १० जनालाई जनही एक लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिन्छ ।

हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी छन् । तर सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाएको छैन । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गरेको छ । तर सर्वोत्कृष्ट कर्मचारी भने यस वर्ष पनि छनोट गर्न सकेको छैन ।

यसरी सर्वोत्कृष्ट कर्मचारी पुरस्कृत नगरेको यो छैटौँ वर्ष हो । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ ।

यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवद्वय दीपकप्रसाद खतिवडा र हरिप्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्रमोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्यनारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद काफ्ले, उपसचिवत्रय मुनकुमार केसी, ऋषिराम भुसाल र शान्तिबहादुर बस्नेत रहेका छन् ।

प्रकाशित : भाद्र २२, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?