कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुविवाह आरोपित पूर्वअध्यक्षविरुद्ध पक्राउ पुर्जी

न्यायका लागि प्रहरी र अदालत धाइरहेकी महिलाको उजुरी ६ महिनापछि बल्ल दर्ता
विद्या राई

काठमाडौँ — बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन ।

बहुविवाह आरोपित पूर्वअध्यक्षविरुद्ध पक्राउ पुर्जी

११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरीकहाँ धाइरहेकी थिइन् । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।

साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको रिटमा फैसला गर्दै ‘जाहेरी दर्ता गरी आवश्यक कारबाही गर्नू’ भनी विपक्षीहरूमा नाममा परमादेश जारी गर्‍यो । यसपछि मात्रै महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको हो ।

पक्राउ पुर्जी जारी भइसकेकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पीडित पक्षको माग छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले आरोपितलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताए । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिकको कुनै पनि मुद्दामा प्रहरी संवेदनशील छ, पक्राउ गर्ने क्रममा कहिलेकाहीँ ढिलो–चाँडो हुन सक्छ,’ उनले भने, ‘तर दोषी उम्कन पाउँदैनन् ।’

हृदयाघातका कारण ०७८ जेठ अन्तिम साता महेशकी जेठी पत्नीको निधन भएको थियो । त्यसपछि भोजपुरको साविक खार्ताम्छा गाविस पुर्ख्यौली घर भई ललितपुरको सुनाकोठी बस्दै आएकी ३९ वर्षीया हिमालयलाई ०७८ मंसिर १३ गते परम्पराअनुसार विवाह गरी उनले कपनस्थित घर भित्र्याएका थिए ।

नेपाली कांग्रेसको १४ औं जिल्ला महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधिसमेत भएकाले महेश नवदुलहीसहित १६ गते विराटनगर गए । उताबाट फर्केपछि जेठीकी छोरीको हेरचाह गर्दै हिमालयले घर सम्हाल्न थालिन् । कामको सिलसिलामा गृह जिल्ला जान्छु भनी माघमा भोजपुर गएका महेश अचानक सम्पर्कविहीन भए ।

कामविशेषले हिमालय फागुन १६ गते घरबाहिर गएकी थिइन् । बेलुकी फर्कंदा अपरिचित महिला भित्रबाट निस्किई आफू महेशकी श्रीमती भएको दाबी गर्दै उनलाई गेटबाटै छिर्न दिइनन् । ती महिला नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । त्यसयता हिमालय कुमारीगालमा बस्दै आएकी छन् । उनी कानुनी उपचारका लागि प्रहरी र अदालत धाइरहेकी छन् ।

घटनाको भोलिपल्ट उनी सुरक्षा तथा न्यायको माग गर्दै कालीमाटी महिला सेलमा निवेदन दिन पुगिन् । अनुसन्धानका क्रममा उपस्थित भएकी श्रीमती दाबी गर्ने ती महिलाले महेशले मंसिर २ गते (हिमालयसँग विवाह गर्नुभन्दा ११ दिनअघि) नै आफूसँग विवाह गरेको प्रमाण पेस गरिन् । साल्पासिलिछो गाउँपालिकाकै वडा नं. २ बाट विवाह दर्ता प्रमाणपत्र जारी भएको छ ।

जबकि महेश र उनी २ गते भोजपुरकै पौवादुङ्मा गाउँपालिका र अरुण गाउँपालिकामा पार्टीको कार्यक्रममा सहभागी थिए । ‘महेश राईले मसँग विवाह गरेका हुन् तर मेरो चिनजानमै नभएकी महिलासँग विवाह गरेको भनी मलाई नै उल्टै कान्छी श्रीमती देखाउन मंसिर २ गतेको मिति राखेर विवाह दर्ता गराइएको छ,’ हिमालयले भनिन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । सो कानुनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

प्रकाशित : भाद्र २२, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?