भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा प्रधान गरिएको नेपाली सेनाले जनाएको छ ।  

नवनियुक्त सेनाध्यक्ष पाण्डे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि आइतबार ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् । उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको महारथी रहने परम्परा छ ।

नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ ।

नेपालका प्रधानसेनापति प्रभुराम शर्मा पनि अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका थिए । यो परम्पराले पनि दुई देशबीचको सैनिक कूटनीति महत्त्वपूर्ण रहँदै आएको छ ।

प्रकाशित : भाद्र २०, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

प्रकाशित : भाद्र २०, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×