कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखना हेर्दै सिटौला

झापा–३ बाटै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका सिटौलाका लागि यस पटक पनि जोखिममुक्त देखिँदैन, सत्ता गठबन्धन हुँदा केही हजार मत जोडिने भए पनि एमाले–राप्रपा सम्भावित समीकरण भय पनि छ 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — अघिल्लो पटक समानुपातिक सूचीमा एक नम्बरमा नाम राख्दा नमानेर प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावमा पराजित भए । यस पटक पनि समानुपातिक उम्मेदवार नबन्ने उनको प्रस्ट जवाफ छ ।

जोखना हेर्दै सिटौला

सत्ता गठबन्धनको चुनावी तालमेल र एमाले–राप्रपा सम्भावित समीकरणका कारण उनले प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा भने गरिहालेका छैनन् । ‘चुनावी क्षेत्र छाड्दा भागेको ठान्छन् । कि त म सक्रिय राजनीतिबाटै अलग हुन्छु । होइन भने चुनावी क्षेत्र छाड्ने कुरा हुन्न,’ गृहजिल्लामा आफूनिकट नेताहरूसँग उनले भन्ने गरेका छन् ।

संविधान मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौलाले प्रत्यक्षतर्फ चुनाव लडेका र पार्टीको केन्द्रीय तहको नेतृत्वमा रहेका नेता सिद्धान्ततः समानुपातिकमा बस्न नहुनेमा जोड दिन्छन् । ‘चुनाव लड्ने क्षमता नभएको, शारीरिक रूपमा अशक्त र संसद्मा ल्याउन अत्यन्तै जरुरी भएका व्यक्तिलाई समानुपातिकमा राख्ने हो,’ उनले भने, ‘हामी जस्ता नेतृत्व तहमा रहेका व्यक्ति समानुपातिकमा बस्ने होइन, अघिल्लो पटक त्यही भएर चुनावी प्रतिस्पर्धामा गएको हुँ ।’

सिटौलालाई चुनाव जिते पनि प्रधानमन्त्री बन्छु भन्ने विश्वास त छैन । तर, उनीनिकट नेताहरूका अनुसार मौका परे राष्ट्रपति हुन सकिन्छ कि भन्ने आस उनमा जीवित छ । त्यसका लागि पनि सक्रिय राजनीति नत्याग्ने उनको चाहना छ । ‘कुन व्यक्तिलाई अघि सार्दा राष्ट्रिय राजनीति र पार्टीभित्रको समीकरणमा लाभ पुग्छ भन्ने हिसाब गरेरै नेतृत्वले व्यक्ति छनोट गर्छ । गिरिजाप्रसाद कोइरालाको छत्रछायामा राजनीतिक उचाइ बढाएका सिटौलाले नेतृत्वको त्यस्तो चरित्र नबुझ्नै कुरै भएन,’ उनीनिकट एक नेताले भने, ‘राष्ट्रपति बन्न नसक्दा पनि सरकारमा गएर राष्ट्रिय राजनीतिको मियो बन्ने आकांक्षा उहाँमा मरेको छैन ।’

संसदीय राजनीतिमा सिटौलाको सहभागिता निरन्तर छैन । ०४८ सालदेखि यता एक उपनिर्वाचनसहित उनले ७ वटा चुनावमा प्रतिस्पर्धा गरेका छन्, जसमा तीनवटामा मात्रै सफलता पाए । ०४८, ०५१, ०६४ र ०७४ मा उनी पराजित भए । ०४८ सालमा सिटौलालाई चुनाव हराएर सांसद बनेका एमालेका द्रोणप्रसाद आचार्यको निधनपछि ०५० मा भएको उपनिर्वाचनमा पहिलोपल्ट उनले जिते । राष्ट्रिय राजनीतिमा भने उनले ०६२/६३ को जनआन्दोलनपछि माओवादीलाई शान्ति प्रक्रियामा प्रवेश गराउने भूमिकाबाट उचाइमा थिए ।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टीभित्र तेस्रो समूहको नेतृत्व गर्दै आएका सिटौलाले चौधौं महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा सीमित भएर युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेका थिए । त्यसमा सफलता नमिलेपछि राष्ट्रिय राजनीतिको दृश्यमै नदेखिएका सिटौला पछिल्लो पटक सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट कार्यदलको संयोजक बनेका छन् ।

सिटौलाका लागि यस पटकको निर्वाचन पनि जोखिममुक्त देखिँदैन । सत्ता गठबन्धन हुँदा केही हजार मत जोडिने भए पनि एमाले र राप्रपाबीचको सम्भावित समीकरणले उनलाई तर्साइरहेको छ । ०७४ मा झापामा एमाले–माओवादी र रापप्राबीच तालमेल भएको थियो । त्यतिबेला झापा–३ मा साढे १३ हजार मतान्तरबाट राप्रपाका राजेन्द्र लिङ्देनसँग सिटौला हारेका थिए । लिङ्देन यस पटक राप्रपा अध्यक्ष नै बनेका छन् । त्यसले चुनौती थपेको छ । झापाका मुख्य राजनीतिक शक्ति नै एमाले, कांग्रेस र राप्रपा हुन् । माओवादीसहित अन्य दलको प्रभाव निकै कम छ । झापा–३ मा सत्ता गठबन्धनका कांग्रेसबाहेकका दलले गत स्थानीय निर्वाचनमा पाएको मत ६ हजार जति छ । त्यति जोडिँदा पनि एमाले र राप्रपाको मत बढी छ ।

लिङ्देनलाई जिताउन पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सक्रिय हुन सक्ने भय सिटौलामा देखिन्छ । दमकलाई पूर्वराजा ज्ञानेन्द्रको दोस्रो घरका रूपमा लिइन्छ, जहाँ उनको ठूलो चिया बगान छ । त्यहीँ बसेर पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका स्थानीय नेताहरूसँग भेटघाट गर्छन् । हिमानी ट्रस्टको गतिविधि पनि त्यहीँबाट सञ्चालन हुन्छ । गणतन्त्र घोषणापछि नै पूर्वराजा ज्ञानेन्द्रले आफूमाथि ‘इगो’ राख्ने गरेको बुझाइ सिटौलामा छ । उनलाई राजगद्दीबाट बिदाइ गर्ने क्रममा गृहमन्त्रीको हैसियतमा सिटौला नै दरबार पुगेका थिए ।

एमाले र राप्रपाबीच समीकरण बन्न सकेन भने सिटौलाका लागि केही सहज हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयदेखि नै उक्त क्षेत्रबाट व्यवसायी दुर्गा प्रसाईंलाई उम्मेदवार बनाउने बचन दिँदै आएका छन् । सिटौला र प्रसाईंबीच मामा–भान्जाको नातासमेत छ । प्रसाईंले सिटौलालाई केही महिनाअघि टेलिफोन गरेर ‘मामा, मलाई हजुरबुबा (ओली) ले तपाईंकै क्षेत्रबाट चुनाव लड्न भन्नुभएको छ, मैले यो कुराको जानकारी गराएँ’ भनेका थिए ।

प्रसाईंले झापा–३ लाई नै आफ्नो निर्वाचन क्षेत्र मानेर तयारी गरिरहेका छन् । मतदाता आकर्षित गर्न उनले ठूलो आर्थिक लगानीसमेत गरिरहेको कांग्रेस नेताहरू बताउँछन् । उनीहरूका अनुसार एमालेका प्रतिबद्ध मतदाताभन्दा चुनावमा निर्णायक हुने मतदाताप्रति प्रसाईं लक्षित छन् । प्रसाईंले गत असारमा दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमलाई आफ्नै निर्वाचन क्षेत्रमा लैजानुको उद्देश्य पनि त्यहाँका मुस्लिम समुदायलाई आकर्षित गर्ने रहेको चर्चा छ । झापा–३ मा मात्रै करिब ५ हजार मत मुस्लिम समुदायको छ ।

प्रकाशित : भाद्र २०, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?