कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिङ्देनले छाडे सांसद

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल निर्वाचनभन्दा पछि पनि लैजान खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेका छन् । संसद् बैठकमा आइतबार विशेष समय लिएर उनले राजीनामाको घोषणा गरेका हुन् ।

लिङ्देनले छाडे सांसद

लिङ्देनले प्रतिनिधिसभाको बैठक आफ्नो अन्तिम भएकाले रोस्ट्रमबाटै बोल्न दिन आग्रह गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अनुमति दिएपछि सम्बोधन गर्दै उनले चुनावको घोषणा भएदेखि प्रतिनिधिसभा अन्त्य हुनुपर्ने राप्रपाको धारणा रहेको बताए । ‘प्रजातन्त्रमा विश्वास राख्ने दलहरूले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकारलाई समेत चुनावी सरकारमा परिणत गर्न वा निष्पक्ष सरकार बनाउन उपयुक्त हुन्छ भन्ने राप्रपाको धारणा छ ।’

प्रतिनिधिसभामा एक मात्रै सांसद रहेका राप्रपाका अध्यक्ष लिङ्देनले आफ्नो उपस्थिति वा अनुपस्थितिले संसद्को निर्णय प्रक्रियामा फरक नपर्ने भए पनि कार्यकाल चुनावपछि पनि बढाउने सरकारको पहललाई आफ्नो अन्तरआत्माले स्वीकार गर्न नसकेको बताए । ‘पछिल्ला दिनमा संसद्को आयु मंसिर ४ पछि पनि कायम राख्ने प्रक्रिया प्रारम्भ भएको छ । त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । सडकबाटै सांसद छाडें भनेर भन्नुको अर्थ हँॅदैन । कमसे कम संसद्मा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसद्मा उपस्थित भएको छु । आजबाट सांसदका रूपमा उपस्थित हुनेछैन,’ लिङ्देनले भने, ‘सम्मानीय सभामुखलाई आग्रह गर्न चाहन्छु, सचिवालयलाई पठाइदिइने तलबभत्तासमेत रोक्का गरियोस् । लेखेर पनि दिन तयार छु । यस प्रकारको अनैतिक काममा सहभागी हुन कम्तीमा पनि मेरो आत्माले मानेन । मेरो अन्तरआत्माको आवाजअनुसार यो सबै चीज त्याग गर्न यहाँ उपस्थित भएको छु ।’

झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लिङ्देन गत मंसिरमा भएको पार्टी महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनको नेतृत्वमा स्थानीय तह चुनावमा लडेको राप्रपाले अघिका निर्वाचनभन्दा राम्रो नतिजा ल्याएको थियो । तर राप्रपाले स्थानीय तहभन्दा आमनिर्वाचन आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएको छ । अध्यक्ष लिङ्देनले पाँच वर्षसम्म नीतिगत निर्णयमा आफू उपेक्षित भएको महसुस गरेको बताए । ‘यो कार्यकालमा संसद्मा थुप्रै अनुभव भए । पार्टीको एक्लो सदस्यका रूपमा उपस्थित थिएँ । कतिपय नीतिगत कुरामा आफूलाई उपेक्षा गरेको महसुस भयो । आममाननीय सदस्यहरूबाट जुन प्रकारको सद्भाव र स्नेह प्राप्त गरेको छु, त्यो सधैं सम्झिनेछु,’ उनले भने ।

प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचित सांसदको पहिलो बैठकसम्म लम्ब्याउने गरी सरकारले विधेयक दर्ता गरेपछि त्यसमा मत विभाजित देखिएको छ । त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र विभाग प्रमुख प्राध्यापक रामकृष्ण तिवारी प्रतिस्पर्धामा जाँदा आफ्नो पद छाड्नु राम्रो हुने बताए । ‘पदीय जिम्मेवारी मुक्त भएर ताजा जनादेश लिन जानुपर्छ,’ उनले भने, ‘पदमा बसेर चुनावमा जाँदा शक्तिको प्रयोग हुन्छ । स्वतःस्फूर्त रूपमा पद छाडेर जानु राम्रो हो ।’

प्रकाशित : भाद्र २०, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?