'अग्निपथ' भर्ती निर्णय जिम्मा नयाँ सरकारलाई ! - समाचार - कान्तिपुर समाचार

'अग्निपथ' भर्ती निर्णय जिम्मा नयाँ सरकारलाई ! 

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म नगर्ने भएको छ । अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह गरे पनि यहाँको चुनावी सरकारले त्यस विषयलाई थाती राख्ने भएको हो ।


परराष्ट्र स्रोतका अनुसार अग्निपथमा भर्तीबारे आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारबाट निर्णय गराउने गरी धकेल्न खोजिएको छ ।

नेपाल सरकारले सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ । भारतीय पक्षलाई केही समय पर्खिन भनिए पनि अहिलेको सरकारले यस विषयमा निर्णय नदिने परराष्ट्र स्रोतले जनाएको छ । ‘यो अहिले बहसको विषय बनेको छ । यसमा सम्पूर्ण दल र त्यसपछि भारतसँग पनि बुझ्नुपर्ने देखिन्छ । त्यसका लागि अझै ३/४ महिना लाग्छ । त्यसैले अब आउने नयाँ सरकारले निर्णय गर्नेछ,’ परराष्ट्र स्रोतले बन्यो ।

भारतभित्रै विरोध भएको अग्निपथ कार्यक्रमका सम्बन्धमा नेपालमा पनि बहस भइरहेको छ । गठबन्धन सरकारले यसमा छलफल गरेर मात्र निर्णय गर्नुपर्ने जनाएका बेला संसद्को सबैभन्दा ठूलो दल एमालेले यसलाई अघि नबढाउन नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेको छ । अग्निपथमाथि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो राखेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका पदाधिकारी भदौ १३ मा भएको भेटमा उनले अग्निपथ कार्यक्रमका विषयमा थप बहस र छलफल गर्न सरकारलाई आग्रह गरेकी थिइन् । अग्निपथ बारेमा महत्त्वपूर्ण र दीर्घकालीन रूपमा असर पर्ने भएकाले सरकारले सबैसँग छलफल गर्नुपर्ने उनको धारणा थियो । जवाफमा प्रधानमन्त्री देउवाले यस विषयमा राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए ।

नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले भदौ १५ मा भारतीय मिडियासँग कुरा गर्दै अग्निपथका बारेमा नेपालका राजनीतिक दलहरूबीच छलफल हुने र आवश्यक विषय भारतसँग बुझ्ने बताएका थिए । अग्निपथमा भर्ती भएकामध्ये २५ प्रतिशतलाई नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई चार वर्षपछि फिर्ता पठाउने नयाँ सैनिक कार्यक्रम भारतीय सरकारले ल्याएको हो । यस विषयमा भारतभित्रै विवाद छ । यसैबीच अग्निपथका विषयमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई पटक बैंठक बोलाए पनि कोरम नपुगेर छलफल हुन सकेन ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भदौ ९ मा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्ती निरन्तर रहने बताएका थिए । अग्निपथ कार्यक्रम चारवर्षे सैनिक कार्यक्रम मात्र हुनाले बढी विवादमा आएको हो । भारत र बेलायतले सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेना र बेलायती सेनामा नेपाली युवालाई भर्ती गर्दै आएका छन् ।

‘अग्निवीर’ का रूपमा भर्ती हुने सैनिकमध्ये ७५ प्रतिशत चार वर्षपछि करिब ११ लाख भारुसहित फिर्ता हुनेछन् । चार वर्ष हतियार र विस्फोटक पदार्थ चलाउन सिकेर फेरि बेरोजगार हुने युवाका लागि कस्तो नीति बनाउने भन्ने विषयमा नेपाल सरकारले छलफल गरेको छैन । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुनुपर्ने र यसले अध्ययन र भविष्य अस्तव्यस्त हुने भन्दै भारतमा युवाले हिंसात्मक प्रदर्शन गरेका थिए । तर भारत सरकारले भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।

भारत सरकारले पेन्सन बजेट कटौतीका लागि अघि सारेको सैन्य सुधार कार्यक्रमअन्तर्गत ‘अग्निपथ’ योजना ल्याएको हो । यसअन्तर्गत १७ देखि २३ वर्षसम्मका युवालाई ‘अग्निवीर’ का रूपमा भर्ना लिइँदै छ । ‘अग्निवीर’ हरूले मासिक ३० हजार भारु तलब पाउनेछन् । पेन्सनसहितको अन्य सुविधा भने हुनेछ छैनन् । आइतबारबाट ५ दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले पनि अग्निपथका सम्बन्धमा नेपाली पक्षलाई स्पष्ट पार्ने प्रयास गर्नेछन् ।

प्रकाशित : भाद्र २०, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय सेनाध्यक्षका तीन एजेन्डा

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न आइतबार काठमाडौं ओर्लँदै  छन् । पाँचदिने भ्रमणमा उनले भारत सरकारले अघि ल्याएको अग्निपथ कार्यक्रम, सैन्य सहयोग र द्विपक्षीय सैन्य सम्बन्धका मुख्य तीन एजेन्डामा संवाद गर्ने स्रोतले जनाएको छ । 

नरेन्द्र मोदी सरकारले भारतीय सेनामा अघि सारेको अग्निपथ कार्यक्रम नेपालले स्थगन गरेको छ । नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित भएको हो । त्यस विषयमा थप बुझ्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पनि पत्राचार गरिरहेको छ ।

सुरक्षा मामिला जानकार तथा अवकाशप्राप्त उपरथी पूर्ण सिलवाल नेपाल र भारतबीच अग्निपथ कार्यक्रमको विषय चलिरहेकाले यो भ्रमणमा त्यसबारे चर्चा हुनु स्वाभाविक मान्छन् । ‘नेपाल सरकारले निर्णय गर्ने भए पनि त्यस विषयमा भारतीय पक्षबाट जानकारी दिनेछन् । सेना–सेना बीचभन्दा पनि दुई मुलुकका सरकारबीचको विषय हो यो,’ उनले भने, ‘किनकि गोर्खा भर्तीमा सेनाले पठाउने होइन, नेपाली नागरिक आफैं जाने हुन् । त्यसमा नेपाली सरकारले निर्णय गर्ने हो ।’

भारतले सन् १९४७ को त्रिपक्षीय (नेपाल–भारत–बेलायत) सन्धिका आधारमा गोर्खा भर्ती गर्दै आइरहेको छ । दुई वर्षयता भने भारतीय सेनाले गोर्खा रेजिमेन्टमा भर्ना लिएको छैन । भारतीय सेनामा करिब डेढ लाख सैनिक खाली भएकाले छिटोभन्दा छिटो भर्ना लिन चाहेको सिलवालको बुझाइ छ । भारतीय पक्षले अग्निपथ कार्यक्रममा गोर्खा भर्ती गर्ने भने पनि नेपाल सरकारले राजनीतिक दलबीच छलफल गरेर मात्र प्रतिक्रिया दिने भारतीय पक्षलाई बताइसकेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमण क्रममा दुई मुलुकका सेनाबीचको सम्बन्धलाई थप बलियो बनाउने अर्को एजेन्डा छ । नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ । नेपालका प्रधानसेनापति प्रभुराम शर्मा पनि अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका थिए । यो परम्पराले पनि दुई देशबीचको सैनिक कूटनीति महत्त्वपूर्ण रहँदै आएको छ ।

अवकाशप्राप्त उपरथी सिलवाल सैनिक कूटनीति पनि कूटनीतिको एउटा महत्त्वपूर्ण हाँगा रहेको बताउँछन् । ‘यो भ्रमण पनि त्यसैको एउटा पाटो हो,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्धलाई ट्र्याकमा ल्याउन बेला–बेलामा सैनिक कूटनीतिले पनि ब्रेक–थ्रुको काम गरेको छ ।’

अर्का सुरक्षा मामिला जानकार तथा अवकाशप्राप्त उपरथी विनोज बस्न्यात यो भ्रमणमा परिवर्तित भूराजनीतिक अवस्था र यसलाई लिएर दुवै मुलुकमा आउने चुनौतीबारे छलफल हुन सक्ने बताउँछन् । ‘किनकि आपराधिक गतिविधि नियन्त्रण, आपसी सहकार्य र नेपाली सेनाको क्षमता बढाउने सम्बन्धमा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने, ‘यो भ्रमणले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।’ सैनिक प्रवक्ता नारायण सिलवाल यो भ्रमण दुई देशको विशिष्ट निकट सम्बन्धको निरन्तरता रहेको बताउँछन् । ‘यसले दुई मुलुकबीचको सैनिक सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ,’ उनले भने ।

सेनाध्यक्ष पाण्डेको यो पहिलो नेपाल भ्रमण हो । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मनार्थ महारथी दर्जा लिएपछि उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वाटर पोखराको भ्रमण गर्नेछन् ।

प्रकाशित : भाद्र १८, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×