५० वर्षअघिको ओलम्पिक हत्याकाण्ड- समाचार - कान्तिपुर समाचार
नेपाली साक्षीको स्मृति

५० वर्षअघिको ओलम्पिक हत्याकाण्ड

ग्रीष्मकालीन ओलम्पिक्समा सहभागी ११ इजरायली खेलाडीको प्यालेस्टिनी बन्दुकधारीले बन्धक बनाएर बीभत्स हत्या गरे, सागैको कोठामा थिए– नेपाली खेलाडी, प्रशिक्षक र राजपरिवारका सदस्यहरू
हिमेश

काठमाडौँ — सन् १९७२ को म्युनिक ग्रीष्मकालीन ओलम्पिक्स । एक पुस्ताका नेपालीले यसबारे स्कुलमा पढ्दै केही न केही थाहा पाए । अंग्रेजीको नेपाली पाठ्यक्रममा यसलाई समावेश गरिएको थियो, एउटा पाठका रूपमा ।

पौडीबाज मार्क स्पिट्जको प्रदर्शन त्यस ओलम्पिक्समा कस्तो रह्यो त ? यसबारे केही दशकअगाडिसम्म अंग्रेजीको जाँचमा प्रश्न आउने गर्थ्यो र उत्तरमा लेखिन्थ्यो, यी अमेरिकी खेलाडीले सात स्वर्ण जितेका थिए, त्यो पनि सातै विश्व कीर्तिमानसहित ।

समग्र विश्व खेल इतिहासमै यत्तिको प्रदर्शन विरलै मात्र देख्न पाइन्छ । त्यस पाठमा त्यही म्युनिक ओलम्पिक्समा भएको एउटा घटनाबारे भने खासै लेखिएन । यो यस्तो घटना थियो, जसको कारण पूरा विश्व सधैंका लागि फेरिएको थियो । ९/११ बारे कसलाई मात्र थाहा छैन र ? अझ सबैलाई के पनि थाहा छ भने अमेरिकाको न्युयोर्कस्थित ट्वीन–टावरमा भएको आतंककारी आक्रमणपछि हाम्रो विश्व त्यस्तो रहेन, जस्तो पहिले थियो, धेरैथोक धेरै अर्थमा फेरिए ।

आजको ठीक ५० वर्षअगाडि यस्तै घटना त्यही म्युनिक ओलम्पिक्समा भएको थियो, जसलाई ‘म्युनिक हत्याकाण्ड’ नामले प्रायः सम्झिने गरिन्छ । हुन त यो विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सवका क्रममा भएको थियो, त्यस अर्थमा यसको सीधासीधा प्रभाव खेलकुदमै पर्ने भयो नै । तर यो यत्तिकै मात्र सीमित रहेन । आतंकवादी आक्रामक कस्तो हुँदो रहेछ, यति विघ्न नराम्रो र नमीठोसँग पहिलोपल्ट मानवीय इतिहासले थाहा पाएको थियो ।

तत्कालीन पश्चिम जर्मनीले पहिलोपल्ट ओलम्पिक्स आयोजना गरेको थियो । त्यसो त जर्मनी दुई फरक देशमा छुट्टिन अगाडि बर्लिनमा सन् १९३० मै पनि ओलम्पिक्स भएको थियो । यो पनि कम्ती विवादास्पद ओलम्पिक्स रहेन । यो नाजी ओलम्पिक्स थियो, यो हिटलरको ओलम्पिक्स थियो । सन् १९७२ सम्म आइपुग्दा विश्व राजनीतिमा यति धेरै परिवर्तन आएको थियो कि दुई जर्मनी अस्तित्वमा रहे । त्यसमध्ये पश्चिम जर्मनीले ओलम्पिक्सको आयोजना गर्ने अवसर पाएको थियो ।


इजरायलीलाई बन्धक बनाएको ओलम्पिक भिलेजको घरबाट बाहिर हेर्दै प्यालेस्टिनी ब्ल्याक सेप्टेम्बर समूहका सदस्य । तस्बिर : एएफपी

सहर थियो– त्यही म्युनिक, जससँग इतिहासका धेरै काला पानाहरू जोडिने गर्छन् । अगस्ट १६ बाट म्युनिकमा ओलम्पिक्स सुरु भएको थियो र विश्वास थियो, यसको आयोजना सुमधुर रूपमा चल्नेछ । खासै केही अप्रिय घटना भएको थिएन तर ११ औं दिन सेप्टेम्बर ५ को सबेरै खेलप्रेमीका लागि अनपेक्षित घटना भयो । प्यालेस्टिनी ‘ब्ल्याक सेप्टेम्बर’ समूहका आठ बन्दुकधारी सजिलै ओलम्पिक्स भिलेज छिरे र ११ इजरायली टिमका सदस्यलाई बन्धक बनाए ।

ठ्याक्कै आधा शताब्दीअगाडि ओलम्पिक्स जस्ता ठूला प्रतियोगितामा सुरक्षा नाम मात्रका हुन्थे । त्यसैले बिनाकुनै अवरोध बिनाकुनै रोकतोक ती प्यालेस्टिनीहरू आफूले चिताएको गर्न सफल रहे । ती इजरायली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई तिनीहरू बसिरहेको अपार्टमेन्टमै बन्धक बनाइएको थियो । सुरुमै दुई बन्धकलाई मारिएको थियो र यसले माहोललाई तनावपूर्ण बनाउन खास भूमिका खेलेको थियो ।

यो पूरा घटनाक्रम भने १८ घण्टा चलेको थियो । सेप्टेम्बर ५ को साँझ हुँदा नहुँदै नौ बन्धकलाई हेलिकोप्टरबाट नजिकैको सैनिक एयरपोर्ट पुर्‍याइएको थियो । भनिएको थियो, त्यहाँबाट बन्धक र बन्धक बनाउनेहरू कुनै अमूक अरब देशमा उड्नेछन् । तर भित्रभित्र अर्कै योजना पनि बनिरहेको थियो । त्यतिखेर आतंककारी आक्रमणका बेला जुध्न चाहिने प्रशिक्षित सुरक्षा दस्ता पनि थिएन, न त कुनै अनुभव नै । लगभग लहलहमै पश्चिम जर्मनीले प्यालेस्टिनी आतंकवादीलाई ‘एम्बुस’ थाप्ने योजना बनायो ।

तर पूरा योजना साह्रै नराम्रोसँग असफल भयो । साह्रै बेमज्जाले सबै घटनाक्रम अगाडि बढे । जर्मन सुरक्षाकर्मीहरूले प्यालेस्टिनी आतंकवादीहरू कति बलिया छन् भनेर आँक्नै सकेका थिएनन् । तिनका अगाडि फिक्का साबित भए । फितलो उद्धार प्रयासबीच बाँकी सबै इजरायली खेलकर्मी मारिए । त्यसमध्ये चारलाई नजिकबाट गोली हानिएको थियो । बाँकी पाँच जनालाई भने केही समयको अन्तरमा मेसिनगनबाट गोली हानिएको थियो ।

यसबीच तीन आतंककारी पनि मारिए । बाँकी समातिए र मुद्दा पनि चलाइयो । तिनीहरूबारे कुनै निर्णय पनि भएको थिएन, अक्टोबर २९ आइपुग्दा तिनीहरू पनि छुटे । तिनीहरू खासमा छुटेका थिएनन्, छुटाइएका थिए । लुफ्थान्साको एउटा विमान अपहरण गरिएपछि त्यसकै यात्री छुटाउने क्रममा ती आतंककारी पनि छुटे । यता म्युनिक ओलम्पिक्स आफैं केही घण्टा अवरुद्ध भएपछि फेरि सुरु गरियो, चर्को विवादबीच । आक्रमणको ३४ घण्टापछि फेरि खेल सुरु भयो र भनिएको थियो, ‘खेल त अगाडि बढ्नैपर्छ ।’

संयोग नै मानौं, ‘म्युनिक हत्याकाण्ड’ को सुरुआती घटनाक्रम निकै नजिकबाट देख्न पाउने र सुन्न पाउनेमा नेपाली पनि थिए । त्यस ओलम्पिक्समा नेपालका तर्फबाट एउटा सानो टोली पनि सहभागी थियो, जसमा दुई खेलाडी थिए । ती थिए, जितबहादुर केसी र भक्तबहादुर सापकोटा । दुवैले म्याराथनमा सहभागिता जनाएका थिए । प्रशिक्षक थिए, लक्ष्मणविक्रम शाह । त्यसपछि तात्कालीन राजपरिवारका चार सदस्य थिए, त्यसमध्ये कुमार खड्गविक्रम शाह टोली प्रमुख थिए ।

उनी राष्ट्रिय खेलकुद परिषद्का तात्कालीन सदस्य सचिव थिए । अनि कुमार मोहनबहादुर शाहीसँगै दुई अधिराज्यकुमारी शारदा र शोभा पनि । पूरा नेपाली टोली ओलम्पिक्स भिलेजमै बसेको थियो । कुरा यत्तिकैमा सकिन्न । नेपाली र इजरायली टिम त्यहाँ सबैभन्दा नजिकका छिमेकी थिए । नेपाली टिमका सदस्यहरू बसेको कोठा र इजरायली टिम बसेको कोठा ठ्याक्कै अगाडि पछाडि थियो । चारफुटे बाटोको दुई छेउ भन्दा हुन्छ । दुवै देशका झन्डा पनि सँगसँगै गाडिएको थियो ।

बन्धक बनाइएको घर

त्यो अर्थमा कम्तीमा यी दुई टिमका खेलाडी र प्रशिक्षकबीच देखादेख र भलाकुसारी त चल्ने नै भयो । प्रशिक्षक शाह अहिले हामीबीच रहेनन् । नेपाली खेलकुद वृत्तमा के सुन्न पाइन्छ भने तिनको इजरायली खेलाडीसँग संगत मज्जाले बसेको थियो । उनी इजरायली खेलाडीका राम्रै साथी बनेका थिए । पूरा घटनाक्रमलाई सबैभन्दा नजिकबाट पहिलो सुन्ने र पछि देख्नेमा थिए, तिनै जितबहादुर केसी । दशरथ रंगशालातिर जानुपर्छ, एउटा दुब्लो पातलो मान्छे लुखुरलुखुर आफ्नै पाराले काम गरिरहेको देखिन्छ ।

उनी खासै धेरै बोल्ने मान्छे पनि होइनन् । केसी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन् । तिनै केसी त्यस म्युनिक हत्याकाण्डबारे सम्झीसम्झी बेलिविस्तार लगाउने गर्छन् । भन्छन्, ‘घटना भएको रात मलाई खासै निद्रा लागिरहेको थिएन । बिहानबिहान हुनै लागेको थियो, केही विस्फोट भयो । हामी बसेको कोठा नै जुरुक्कै उठ्लाजस्तो भएको थियो ।’ नेपाली र इजरायली टिम बसेको ठ्याक्कै मुनिको तलालाई खेलाडीका लागि अभ्यास गर्न छुट्याएको थियो ।

केसीलाई लागेछ, खेलाडी त्यहीं उपद्रो पो गरे कि ? तर एकपछि फेरि अझ ठूलो आवाजमा सुनियो, केही पड्केको थियो । फेरि कोठै उचाल्दाजस्तो पनि भयो । केसी त फेरि तल्लो तलाका खेलाडीले उपद्रो गरेको सम्झे र तिनलाई सुत्नै नदिएको मानेर मनमनै गाली पनि गरे । पछि एक गिलास दूध खाए र त्यहीं निदाए । उनले आफ्नो पल्लो छेउ के भइरहेको थियो भने पत्तै पाएनन् । ‘यसैबैला कानको जाली नै फुट्ने गरेर घण्टी बज्यो र म उठें,’ उनी सम्झन्छन् ।

थप्छन्, ‘जर्मन पुलिस आइपुगेको रहेछ । आफूलाई ब्युँझाएकामा मलाई रिस पो उठ्यो । गम्छा मात्र बेरेर बाहिर निस्केको त अधिराजकुमारी शारदा भेटें । यसो हेरेको त इजरायली बसेको कोठाबाट आलो रगत बाटोतिर बगिरहेको थियो । दुई खेलाडी त मारिसकेका रहेछन् । बाँकी नौ जनालाई प्यालेस्टिनीहरूले आफ्नो कब्जामा लिएका रहेछन् । ती नौ जनालाई पाता कसेर राखिएको थियो । उनीहरूलाई बिजुली बत्तीका तार निकालेर बाँधिएको थियो ।’

केसी थुरुरु कामिहाले । ‘रगत देखेपछि त म साह्रै आत्तिएँ,’ केसी भन्छन्, ‘मैले त रगत नै टल्किरहेको देखें । अलमल पनि परें ।’ लगतै पूरै नेपाली टिमलाई अन्यत्र सारियो । फुत्त फुत्केर केसी बाहिर निस्केको त पूरा भिलेज सेनाले घेरेको रहेछ । भिलेजबाट बाहिर निस्कने त अवस्था नै थिएन । कसैलाई बाहिर जान पनि दिएनन् ।’ उनकै भाषामा जहाँ देख्यो, त्यहीं बैठक बसिरहेको जस्तो देखिन्थ्यो, सबैको आँखामा डर थियो, सबै बिस्तारैबिस्तारै कुरा गरिरहेका थिए ।

जर्मन सेनाले भने त्यति बेलासम्म अत्याधुनिक हातहतियार बोकेर सुरक्षा दिन सुरु गरिसकेको थियो । यसैबीच केसीको कानमा यत्ति कुरा पुग्यो, जर्मन चान्सलरले ती प्यालेस्टिनी अपहरणकर्तालाई भनेका रहेछन्, ‘ती सबै इजरायली खेलकर्मीलाई छुटाउनु, त्यसका बदलामा हाम्रा सबैभन्दा धेरै बुद्धिजीवीलाई बन्धक बनाउनु ।’ हल्ला के पनि आयो भने अब पूरै भिलेजलाई नै बम विस्फोटन गराएर उडाइनेछ । ‘राति साढे नौ बजेतिर भिलेजमै हेलिकोप्टर आइपुग्यो र उनीहरू सबैलाई अन्यत्र लगियो,’ केसीले भने ।

लगभग एक दिनभन्दा बढी समयपछि फेरि खेल सुरु भयो । म्याराथनको प्रतिस्पर्धा बाँकी नै थियो । त्यति बेला दुवै खेलाडीको मन खेलमा भन्दा पनि आफ्नै नजिक भएको घटनामा केन्द्रित थियो । केही कतै आवाज सुनियो कि तर्सिने स्थितिसम्म थियो । खासमा यस्तो स्थिति नेपाली खेलाडीको मात्र थिएन, सबैको थियो । धेरैको विचार थियो, खेल त्यही घटनालगत्तै रोकिनुपर्थ्यो । विवाद अहिलेसम्म पनि के छ भने खेल त्यही बेला रोकिनु ठीक थियो कि अगाडि बढाउनु ?

जेहोस्, खेल सुरु भएयता म्याराथनमा सापकोटाले त दौड पूरा गरे, तर केसीले सकेनन् । भएको के थियो भन्दा दौड २० किलोमिटर पुग्दा सबैभन्दा अगाडि थिए, तिनै केसी । बीबीसीले समाचार पनि फुकेछ, अब म्याराथनमा स्वर्ण जित्ने नेपालले हो । ओलम्पिक्स भिलेजमा त हलचल मच्चिसकेको रहेछ । तर नेपाली खेलकुदको दुर्भाग्य मान्नुपर्छ, ठीक त्यहीबेला खुट्टाको मासु फर्कियो । केसीले एकाएक असाध्यै दुखेको अनुभव गरे र त्यहीं ढले, उनको भाग्यमा इतिहास लेख्नु नै लेखिएको थिएन ।

उता कुमार मोहनबहादुर शाहीले पनि घटनाबारे हालै सुनाएका थिए । उनी भन्थे, ‘पूरा घटनापछि पूरा जर्मन स्तब्ध देखिएको थियो । म्युनिक सहरको त के कुरा चारैतर्फ सन्नाटा मात्रै थियो ।’ उनले पूरा पश्चिम जर्मनीबीच एक प्रकारको रिस र आक्रोश दुवै देखेका थिए । नेपाली टिमका लागि छुट्याइएका गाडी चालक त हदै रिसाइरहेका थिए र आफूले पाएमा मारूँकाटूँजस्तो कुरा गर्थे । खासमा जर्मनीहरू यो घटनाले ओलम्पिक्स बिथोलिएकामा बढी चिन्तित थिए, त्यसैले रिसाएका पनि थिए ।


मारिएकाको स्मृतिमा बनाइएको स्मारक रंगाइँदै ।

म्युनिक ओलम्पिक्समा क्रममा भएको अपहरण र त्यसपछिको हत्याको प्रभाव तात्कालीन रूपमा त्यति बेला पर्ने नै थियो । भनिन्छ, त्यसको प्रभाव अहिलेसम्म पनि छ । पछि पनि रहनेछ । सबैभन्दा ठूलो परिवर्तन त ओलम्पिक्सजस्ता ठूला खेल महोत्सव नै रहे । यसअघि ओलम्पिक्स र फुटबलको विश्वकपका लागि सुरक्षामा खर्च नगन्यजस्तै थियो । नाम मात्रको बजेट छुट्याइन्थ्यो । भनिन्थ्यो, खेललाई खेलमै सीमित राख्यौं, यो त उत्साह र उमंगको महोत्सव हो ।

पछि खर्च अत्यधिक बढ्न थाल्यो र यसले पूरा प्रतियोगिता नै निकै खर्चिलो र झन्झटिलो बनाइदियो । सुरक्षाका अनेक तह बने, जसले गर्दा पछि–पछि गएर ठूला खेल महोत्सवमा सबैभन्दा बढी खर्च हुने भनेकै सुरक्षामा रह्यो । यसको प्रभाव विश्व राजनीतिमा पर्नु थियो नै, पर्‍यो पनि । राजनीतिक सम्बन्ध र समीकरणहरू पहिलाजस्तो रहेन । नाटकीय रूपमा फेरिए । आफ्ना खेलकर्मीको हत्यापछि इजरायल अझ बढी आक्रामक बन्यो । आफूलाई सैनिक दृष्टिकोणले अझ बलियो बनायो ।

इजरायलले नीति नै बनायो, आफ्ना शत्रुहरूको सफाया गर्ने । त्यो पनि आफ्नो भूमिमा मात्र होइन, विदेशमै पनि । इजरायललाई लागेको थियो, दोस्रो विश्वयुद्ध ताका जसरी यहूदीहरू मारिएका थिए, त्यसै बराबरको घटना थियो, म्युनिक हत्याकाण्ड । घटनाको महिना दिनपछि नै ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्य र तिनका सहयोगीहरू भकाभक मर्न थाले, अविश्वसनीय परिस्थितिमा । विशेषतः रोम, पेरिस र साइप्रसलाई आफ्नो आधार बनाएर बसिरहेका प्यालेस्टिनी राजनीतिज्ञहरूमाथि पनि आक्रमण सुरु भयो ।

सुरुआती कारबाही सफल भएपछि इजरायल बढी आत्मविश्वासी पनि देखियो र उसका केही खास खास काम नराम्रोसँग असफल पनि भए । तर पनि इजरायल रोकिएन, उसको आक्रामकपन अझै पनि जारी नै छ । धेरै हदसम्म म्युनिक हत्याकाण्डले प्यालेस्टिनी आन्दोलनलाई पनि नकारात्मक असर पार्‍यो । अनि उत्तिकै हदसम्म प्यालेस्टिनी आन्दोलन पनि कमजोर पर्न थाल्यो । लगभग सबै विकसित र पश्चिमेली देशले आफ्नो सुरक्षा खर्च पनि बढाउन थाले ।

यसैक्रममा आतंकवादीको सामना कसरी गर्ने भनेर अलगै विशेष प्रशिक्षण प्राप्त सुरक्षा निकाय पनि खडा हुन थाले । घटनाले छाडेको प्रभाव हेर्दा यो हिजै भएको जस्तो लाग्छ, तर यो त ५० वर्ष पुरानो भइसकेको छ । यसमध्ये सबैभन्दा नयाँ विकासक्रम हिजै शनिबार मात्र देखापर्‍यो । जर्मन सरकारले के घोषणा गरेको छ भने म्युनिक हत्याकाण्डमा जति पनि इजरायली मारिए, ती सबैका परिवारले एकमुष्ट क्षतिपूर्तिका रूपमा २ करोड ८० लाख डलर पाउनेछन् ।

प्रकाशित : भाद्र २०, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

ब्याटिङ चल्यो, नेपालले शृंखला जित्यो

केन्याविरूद्ध ट्वान्टी–२० को अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको सर्वाधिक रन, सन्दीप प्लेयर अफ द सिरिज
हिमेश

काठमाडौँ — ज्ञानेन्द्र मल्लले मीठो बोले । उनका कुरा सामान्य नै थिए । यत्तिको क्रिकेटमा धेरै सुन्न पाइन्छ । तर, परिस्थितिले त्यसलाई महत्त्वको बनाइदियो । धेरै अर्थपूर्ण बनाइदियो । नैरोबीमा पाँचौं, अन्तिम तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा शनिबार केन्यामाथि नेपाल ३१ रनले विजयी रह्यो ।

यससँगै नेपाल पाँच खेलको शृंखलामा ३–२ ले विजयी रह्यो । त्यसमा ज्ञानेन्द्रले ५९ रन बनाए । खेलपछि उनले भने, ‘व्यक्तिगत प्रदर्शन के ठूलो हो र ? सबैभन्दा ठूलो त टिम हो ।’

भनिन्छ, अचेल ज्ञानेन्द्र फेरिएका छन् । खेल होइन, उनको मन । लामो समयपछि उनी नेपाली टिममा फर्केका थिए, केन्या निस्कने नेपाली टिममा । उनले आफ्नो उपस्थिति अर्थपूर्ण पनि बनाए । टिमका बाँकी सबै सदस्यका लागि उनी ‘ठूल्दाइ’ थिए । अब विश्वास गर्न सकिनेछ, यी ज्ञानेन्द्रले आफ्ना भाइहरूलाई धैरेथोर ज्ञानगुन दिनेछन् । किनभने उनले ३० वर्षभन्दा बढी काटिसकेका छन् । तर। उनमा खेल जारी राख्ने मन पनि सेलाएको छैन ।

उनकै भाषामा, यो अझै जारी रहनेछ । अहिलेका लागि भने उनले तीन वर्षपछि ट्वान्टी–२० क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । त्यही प्रदर्शन मदतले नेपालले शृंखलामै सबैभन्दा उच्च स्कोर बनायो । नेपालको ब्याटिङ चलेको थियो, त्यसैले शृंखला पनि नेपालकै नाममा रह्यो । ज्ञानेन्द्रले ‘पोस्टम्याच प्रिजेन्टेसन’ मा भने, ‘हाम्रा लागि पहिलो विकेटका लागि राम्रो साझेदारी आवश्यक थियो । त्यसलाई हामीले प्राप्त गर्नसक्यौं । त्यसकारण नेपालले प्रभावशाली स्कोर बनायो ।’

शृंखलाकै पहिलो अर्धशतक

शृंखलाका यसअघिका ४ खेलमा नेपालले दोस्रोपल्ट ब्याटिङ गरेको थियो । पाँचौंमा भने पहिलोपल्ट ब्याटिङ गरेको थियो टस जितेर । यसक्रममा नेपालले जिमखाना क्रिकेट मैदानमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो । ज्ञानेन्द्रले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाए । उनले ४४ बलमा ५९ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । उनको यो दोस्रो ट्वान्टी–२० अर्धशतक हो ।

उनले पहिलो विकेटमा अर्जुन साउदसँग ८ ओभरभित्र ६५ रनको साझेदारी गरे । लगातार दोस्रो छक्का प्रहार गर्ने क्रममा ज्ञानेन्द्र केन्याका दुई पटेलको सिकार भए । विराजको बलमा उनी रकिपबाट समातिए । अर्जुन भने केन्याली कप्तान सेम एनगोचको बलिमा स्टम्पिङ भए । दुवै प्रारम्भिक ब्याटर पेभिलियन फर्केयता दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ बलको ‘केमियो’ खेले । त्यसपछि रोहितकुमार पौडेलले २५ बलमा आक्रामक ४७ रन बनाए । उनले अघिल्लो दिन पनि उच्च स्कोर बनाएका थिए ।

रोहितले त्यसका लागि सात चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले तीव्र गतिमा रन बटुल्ने क्रममा चाँडो–चाँडो विकेट गुमायो । नेपालको दृष्टिकोणले टिमले सम्भवतः यो भन्दा बढी स्कोर खडा गर्नुपर्थ्यो । सायद १ सय ९० को हाराहारीमा । तर, केन्याली दृष्टिकोणमा नेपालले १ सय ५० रनभित्र रोक्न सकेको भए खेलको कथा बेग्लै हुनसक्थ्यो । कप्तान एनगोचेले पनि माने, ‘हामीले सायद केही रन बढी दियौं ।’

केन्या पनि खुसी

शृंखला गुमाएको भए पनि केन्या खुसी थियो । कारण थियो, लामो समयपछि केन्याली भूमिमा फर्केको अन्तर्राष्ट्रिय क्रिकेट । एनगोचले भने, ‘हामी पक्कै पनि शृंखलामा पराजित रह्यौं । त्यसैले केही निराश पनि छौं । तर, यो शृंखलाका धेरै सकारात्मक पक्ष छन् । केन्याली टिममा सुधार आउँदै छ । केन्यामा अन्तर्राष्ट्रिय क्रिकेट फर्केको छ । त्यसैले यो खुसीको अवसर हो ।’ उनका अनुसार पाँचौं ट्वान्टी–२० का लागि प्रयोग भएको पिच सबैभन्दा राम्रो रह्यो ।

तर, यही ‘स्पोर्टी’ पिचमा केन्याले प्रत्युत्तरमा ब्याटिङ गर्दा कहिले पनि जित नजिक पुग्ने प्रदर्शन गर्न सकेन । पूरा टिम २० ओभर त टिक्यो, तर केन्याले सात विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । केन्याको सुरुआत कमजोर र सुस्त रह्यो, त्यसैले खेलको कुनै पनि समय केन्याले नेपाललाई दबाबमा राख्ने अवसर पाएन । घरेलु टिमले सुरुआती १० ओभरमा २ विकेट गुमाएर ५४ रनमात्र बनाएको थियो । यो जितको आधार तयार पार्न पर्याप्त थिएन ।

अन्तिम १० ओभरमा केन्याले ८९ रन बनायो, तर १६ ओभर नपुग्दै नेपालले जित्ने तय जस्तै देखिसकेको थियो । टोलीका लागि नेहमिह आधिमाबोले २२ बलमा ३७ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनी छैटौंक्रममा ब्याटिङ गर्न ओर्लेका थिए । उनको ब्याटबाट चार चौका र एक छक्का निस्केको थियो । कप्तान एनगोचेले १८ बलमा ३३ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

सन्दीपको एक दर्जन विकेट

पूरा शृंखलामा कप्तान सन्दीपले १२ विकेट लिए । यसै प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द सिरिज’ रहे । पाँचौं खेलमा भने उनले २६ बलमा २ विकेट लिए । वासिर अहमदले पनि ३० रनमा २ विकेट लिए । केन्याली इनिङ्सको सुरुमा करण केसीले कन्ज्युस्याइँपूर्ण बलिङ गरे । उनले आफ्नो २ ओभरमा ६ रनमात्र दिएर एक विकेट लिए । आदिल अलामले पनि एक विकेट लिए । उनले तीन ओभरमा १२ रनमात्र खर्चे । यस्तोमा करण र आदिलको प्रदर्शन जितमा निर्णायक रह्यो ।

शृंखलाको अन्त्यमा सन्दीपले पनि नेपालको जितमा खुसी देखाए । नेपाली टिमका मुख्य प्रशिक्षकमा मनोज प्रभाकर आएयता नेपालले यो शृंखला जितेको हो । यसले भारतका पूर्वखेलाडीलाई राम्रै राहत दिएको छ । तर उनलाई अझै पनि नेपालको ब्याटिङको चिन्ता कायम रहनेछ ।

पूरा शृंखलामा नेपालको ब्याटिङ कहिलो राम्रो रह्यो त कहिले नराम्रो । टिमको प्रदर्शन एकनासे पनि रहेन । एउटा खेल जितेपछि अर्को हार्नुपर्ने बानी देखियो र यसमा सुधार्न प्रभाकर तथा उनका खेलाडीले कडा मिहिनेत गर्न बाँकी नै छ ।

प्रकाशित : भाद्र १५, २०७९ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×