कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

'वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायो'

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिएका छन् ।

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए ।

यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा 'प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर' हार घोषणा गराइएको नेता ओलीको आरोप थियो ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु,’ अध्यक्ष ओलीले भने ।

यस्तै उनले नेकपा एमाले गँड्यौलाजस्तो नभएको तर दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताएका थिए । आगामी चुनावपछि नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको पनि उनको जिकिर थियो । आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘एमालेका नेता र कार्यकर्ता गँड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

सर्पलाई लक्षित गर्दै उनले दुईवटा दाँत भएको जस्तो बनेर डस्न तयार हुनुपर्ने बताएका हुन् । नेता ओली यसअघि पनि आफ्ना कार्यकर्तालाई अरिंगाल बन्नुपर्ने भन्दै निर्देशन दिएपछि विवादित बनेका थिए । एक साताअघि मात्रै ओली निकट नेताको रुपमा चिनिने महेश बस्नेतले पनि सशस्त्र रुपमा प्रतिवादमा उत्रन कार्यकर्तालाई उत्रन निर्देशन दिएका थिए । त्यसको परिणाम पार्टीले बेहोर्ने उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १८, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?