कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली संसद्सँग अनुभव आदानप्रदानमा चीनको अभिरुचि

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपाली संसद्सँगको आदानप्रदानमा चासो देखाएको छ। शुक्रबार चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ याङले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भर्चुअल बैठकमा यस्तो आशय प्रकट गरेका हुन्।

नेपाली संसद्सँग अनुभव आदानप्रदानमा चीनको अभिरुचि

उनले भने, ‘सीपीपीसीसी नेपालको संघीय सदनसँगको आदानप्रदानलाई गहिरो बनाउन र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक छ।’

चिनियाँ सञ्चारमाध्यमका अनुसार वाङ याङले बेइजिङबाट राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहितको टोलीसँग भर्चुअल बैठक गरेका थिए। उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमण र दुई देशबीच भएका विकास र समृद्धि उन्मुख आपसी सम्बन्धको पुस्तौँ रणनीतिक साझेदारीबारे स्मरण गराएका थिए।

नेपाल र चीनबीच मित्रताको लामो इतिहास रहेको चर्चा गर्दै उनले सीको नेपाल भ्रमणताका भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, रणनीतिक सञ्चार र व्यावहारिक सहयोगलाई सुदृढ गर्न, उच्च गुणस्तरीय ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्न र जनस्तरीय सम्बन्ध सघन बनाउन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको बताए।

छलफलमा उनले विश्वव्यापी विकास तथा सुरक्षा पहलहरूमा सक्रिय रूपमा समर्थन र सहभागी हुन नेपाली पक्षलाई स्वागत गरेको बताए। कुराकानीमा राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले नेपालले चीनसँगको सम्बन्धलाई निकै महत्त्व दिएको बताउँदै एक चीन नीतिलाई दृढताका साथ पालना गर्ने र आपसी सहकार्यमा थप उपलब्धिको अपेक्षा गरेको बताए।

उनले पनि नेपालको संघीय सदनले सीपीपीसीसीसँग मिलेर आपसी सम्बन्धको विकासलाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित : भाद्र १८, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?