कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यान खिच्‍ने मन्‍त्रालयको तयारी

गोविन्द पोखरेल

काठमाडौँ — वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन् । जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २७) को पूर्व तयारीबारे सरोकारवाला निकायहरुसँग आयोजित छलफलमा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे । 

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यान खिच्‍ने मन्‍त्रालयको तयारी

‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । जुन प्रकारले नेपालको हिमाल, कृषि, पानीलगायतको क्षेत्रलाई असर गरिरहेको छ । नेपाललाई जलवायु संकटकालको पनि हामी घोषणा गर्ने छौं, ’ मन्त्री यादवले भने, ‘संकटमै पुगेको घोषणा गरिए विश्वको ध्यान खिच्न सकिन्छ ।’ सरोकारवाला निकायहरु र विज्ञहरुसँगसमेत छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने मन्त्री यादवको भनाइ थियो ।

मन्त्री यादवले संकटकाल घोषणाको तयारी भइरहेको बताएपछि जलवायु वैज्ञानिकहरुले घोषणा गर्ने मोडालिटी खोज्न मन्त्रालयलाई सुझाएका छन् । उनीहरुले जलवायु संकटकाल र जलवायु संकट घोषणा गरिरहँदा तथ्यमा आधरित प्रमाणमा जोड दिन आग्रह गरेका छन् । कार्यविधि र नियम बनाएर मात्रै जलवायु संकटकाल घोषणा गर्नुपर्नेमा उनीहरुले बताएका छन् ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थ जलवायु परिवर्तनको असर देखिएपनि अहिले नै कुनै आधारबिना नै तोक्न नमिल्ने बताउँछन् । उनले कान्तिपुरसित भने, ‘यो सबै नयाँ नयाँ शब्दहरु ल्याएका छन् । केही एउटा मापदण्ड त चाहियो नि । के भयो भने जलवायु संकटकाल घोषणा गर्ने के भयो भने जलवायु संकट घोषणा गर्ने भनेर ।’

उनले कुन तथ्य र आधारहरुलाई मानेर जलवायु संकटकाल घोषणा गर्न सकिने भनेर कुनै पनि आधार नभएको बताए । ‘के के भयो भने क्लाइमेट क्राइसिस/इमरजेन्सी घोषणा गर्ने ? जस्तै कति क्षति भयो भने भन्ने ? त्यो क्षति जलवायु परिवर्तनकै कारण भएको हो भन्ने तथ्य र आधार पनि हुनुपर्छ । अध्ययन गर्नुपर्छ अनि मात्रै भन्नुपर्छ,’ उनले भने ।

जलवायु परिवर्तन भएको जलवायु परिवर्तनको असर देखिएपनि कस्ता असर देखिन थालेपछि जलवायु संकट/संकटकाल घोषणा गर्ने सम्बन्धमा कुनै अध्ययन नभएकाले हचुवाको भरमा घोषणा गर्न नसकिने विज्ञहरुको भनाइ छ ।

जलवायु विज्ञ एवं सुदूरपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सह–प्राध्यापक सुदीप ठकुरी पनि कायस्थको भनाइमा सहमत । उनी भन्छन्,‘ जलवायु परिवर्तन भएको छ भन्ने हो । पुष्टि भयो तर कुनै आधारबिना नै हचुवाको भरमा संकटकाल भन्न मिल्दैन ।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेँल जलवायु परिवर्तनका कारण बाढी तथा विपद्का घट्नाहरुमा वृद्धि गराएपनि तथ्यमा टेकेर मात्रै भन्न सकिने अवस्था रहेको बताइन् । ‘हिजोका दिनमा हामीले जलवायु परिवर्तनका कारण यो यो भयो भनेर भन्यौं । अब अहिलेको हाम्रो यही हो अवस्था भनेर भन्न सकिने अवस्था नै छैन,’ कडेँलले भनिन् ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का डाइरेक्टर पेमा ग्याम्त्सोले अहिले चर्चा आएका शब्दावली र विषयहरुले सबै जलवायु परिवर्तनको असरलाई नै सम्बोधन गर्न खोजिएको बताउँछन् । ‘क्लाइमेट क्राइसिस, क्लाइमेट इमरजेन्सी, अर्जेन्ट क्लाइमेट एक्सन सबै विषयले हुन्, जलवायु परिवर्तन गम्भीर मुद्दा नै हो भन्न खोजेका हुन्,’ ग्याम्त्सोले कान्तिपुरसित भने, ‘संकट र चुनौतीहरु अब छन् तर यो समय भनेको हामीले लागू गर्ने हो । सम्बोधन गर्ने हो ।’

उनले जलवायु संकटकाल अस्थायी हुने तर जलवायु संकट चाही लामोसमयसम्म हुन सक्ने बताए । ‘जलवायु संकट लामो समयसम्म हुन्छ । आजको जलवायु संकटकाल भोलिसम्म हुन्छ भन्न सकिन्न अथावा त्यो भन्दा धेरै ठूलो संकटकाल आउन सक्छ ।’

यस्तै, ग्याम्त्सोले जलवायुको अध्ययनका लागि नेपालमा धेरैभन्दा धेरै जलवायु सूचना मापन केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिँदै रियलटाइम डेटाका लागि महत्त्वपूर्ण भएको बताए ।

जलवायु अभियान्ता श्रेया केसी नेपालमा जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यान खिच्नुपर्ने बताउँछिन् । जलवायु परिवर्तनको असर अहिले धेरैले भोग्न थालेको बताइन् । उनले नेपाललाई जलवायु परिवर्तनको कुन स्तरसम्मको असर गरेको छ भन्ने विश्व समुदायलाई देखाउन पनि जलवायु संकटकाल घोषणा गर्नुपर्नेमा जोड दिइन् ।

‘जलवायु परिवर्तनको असर हामीलाई आज देखिएको छ । जलवायु वित्त,जलवायु नीति/कानुन भनेको भोलिका लागि हो । क्लाइमेट इमरजेन्सी घोषणा गरियो भने नाम अनुसारको काम पनि हुन सक्छ,’ उनले भनिन् ।

वन तथा वातावरण मन्त्रालयका जलवायु व्यवस्थापन महाशाखा प्रमुख सहसविच बुद्धिसागर पौडेल नेपाललाई अहिले नै जलवायु संकटकाल घोषणा गर्न सक्ने अवस्था नबनेको बताए । उनले भने, ‘ जलवायु परिवतर्नका कारण धेरै नै क्षति भएको चाही हो तर अब अध्ययन नगरीकन संकटकाल घोषणा गर्न सकिदैन । सारमा जलवायु परिवर्तनको असर चाहिँ संकटग्रस्त नै छ ।’

प्रकाशित : भाद्र १८, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?