कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोही किन सधैं चुनाव जित्छन् ?

कोही कोही नेता प्रत्यक्ष निर्वाचन जितिसकेपछि सरकारमा पुगून् कि सांसदमात्र बनून्‚ केन्द्रीयस्तरमा प्रभुत्व कायम गर्न सफल हुन्छन्; शेरबहादुर देउवा, विजयकुमार गच्छदार, विरोध खतिवडाहरू यसै श्रेणीका नेतामा पर्छन् ।
ध्रुव सिम्खडा

काठमाडौँ — कोही कोही नेता प्रत्यक्ष निर्वाचन जितिसकेपछि सरकारमा पुगून् कि सांसदमात्र बनून्‚ केन्द्रीयस्तरमा प्रभुत्व कायम गर्न सफल हुन्छन् । र, केन्द्रमा आर्जित त्यस प्रकारको प्रभुत्वलाई आफ्नो निर्वाचन क्षेत्रमा पनि विस्तार गर्न सफल हुन्छन् ।

कोही किन सधैं चुनाव जित्छन् ?

शेरबहादुर देउवा, विजयकुमार गच्छदार, विरोध खतिवडाहरू यसै श्रेणीका नेतामा पर्छन् । ‘त्यसकारण यिनीहरू कहिल्यै चुनाव हार्दैनन्‚’ भन्दै प्राध्यापक विश्वम्भर प्याकुर्‍याल भन्छन्, ‘पदको सदुपयोग/दुरुपयोग जे जे गरेर भए पनि यिनीहरू स्थायी रुपमै चुनाव जितिरहने नेता हुन पुगे ।’ उनका अनुसार यिनलाई सानातिना विरोध र विवादले खासै असर पर्दैन किनभने नेपाली समाजको पदमा जो छन्‚ तिनीहरूको चाकडी गर्ने चलन नै बनेको छ ।

हुँदाहुँदा सदाबहार चुनाव जितिरहने यी नेताहरू आफू त जित्छन् नै, पत्नीलगायत परिवारका अन्य सदस्यलाई पनि चुनाव जिताउने तानाबाना बुन्छन् । पञ्चायतकालका ‘शेरे धनुषा’ (हेमबहादुर मल्ल) ले २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा आफूमात्र जितेनन्, पत्नी सावित्री मल्ललाई समेत राष्ट्रिय पञ्चायतमा पुर्‍याए ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा आफूमात्र होइन‚ पत्नी आरजूलाई पनि प्रतिनिधिसभा सदस्यमा जिताउन लागिपरेका छन् । यद्यपि ०७४ को चुनावमा भने आरजूले हारिन् । कोही किन सधैं चुनाव जित्छन् त ? भन्ने प्रश्नको जवाफमा राजनीतिक विश्लेषक बिनोद सिजापती भन्छन्, ‘एकपटक चुनाव जितेर राज्यको ढुकुटी चलाउने ठाउँमा पुगेकाहरूलाई चुनाव जित्न सहज हुन्छ । मेसो पाइसकेपछि साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गरेर चुनाव जित्न खप्पिस हुन्छन् ।’

आफ्ना वरिपरि घुम्ने बिचौलियालाई चुनावका बेला पैसा बाँड्ने; छोराछोरीलाई जागिर लगाइदिने; ठेक्कापट्टा मिलाइदिनेजस्ता अर्थार्जनका प्रलोभनमा पार्दै सिधासादा मतदातालाई चुनावका बेला नियन्त्रणमा राख्ने र प्रभावमा पार्ने चालबाजी गर्न खप्पिसहरू कहिल्यै चुनाव हार्दैनन् भन्दै मध्यपश्चिम विश्वविद्यालयका सह-प्राध्यापक अर्जुनबहादुर अएडी भन्छन्, ‘विकास र जनहितका काम गरेर भन्दा पदको दुरुपयोग गरेर चुनाव जित्ने खराब प्रवृत्ति मौलाउँदो छ ।’

६ पल्ट चुनाव जिते, ५ पल्ट प्रधानमन्त्री बने

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सुदूरपश्चिमबाट उदाएका नेता । डँडेलधुराका यिनले उठे जति सबै निर्वाचन जिते, कहिल्यै हारेका छैनन् । के गरे यिनले त्यस्तो डँडेलधुरेलाई ? सधैं जनताले भोट दिइरहन्छन् ? चारबीस पुग्न-पुग्न लागेका देउवालाई भाग्यमानी नै मान्नुपर्छ किनभने यी तिनै देउवा हुन्‚ जो राजधानी काठमाडौंमा पढ्न आउँदा भारतीय भू-भाग हुँदै आउनुपर्ने बाध्यताबाट गुज्रिएका थिए । अर्थात् त्यसबेला सुदूरपश्चिम राजधानीसित यातायात सुविधाबाट जोडिन सकेको थिएन । अहिले त्यो समस्या छैन । सुदूरपश्चिमेलीका शब्दमा, ‘देउवाले राजधानी काठमाडौंसित सुदूरपश्चिमलाई जोड्ने काम गरे । कर्णालीमा पक्की पुल बनाइदिए ।’

उनले संसदीय राजनीतिमा जति विकृति र विसंगति थपेको भए पनि सुदूरपश्चिमको विकासको ढोका खोलेकैले डँडेलधुराबाट सधैं चुनाव जितेका हुन् । त्यसो त पछिल्ला तीन दशकमा देउवालाई चुनौती दिन सक्ने उनको कदमको राजनीतिक व्यक्तित्व पनि सुदूरपश्चिममा अर्को कुनै जन्मिन सकेनन् । त्यसैले उनी सुरुमा एकपटक गृहमन्त्री बने । त्यसपछि पाँचचोटी प्रधानमन्त्री ।

६ पल्ट चुनाव जिते पनि देउवाले विकास निर्माणका धेरै काम गर्न सकेनन् । राजनीतिलाई लोकतान्त्रिक संस्कारमा हिँडाउन सकेनन् । जे गरेर पनि उनको सोचमा सत्ता र शक्तिभन्दा अरु कुरै देखिएन । कांग्रेसका एक जना पुराना नेताका शब्दमा, ‘देउवा लोकतान्त्रिक पार्टीका अलोकतान्त्रिक नेता बने ।’

भ्रष्टाचारको आरोप पनि खेप्दै, चुनाव पनि जित्दै

नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले २०४८ सालयता प्रतिनिधिसभाका ६ वटै निर्वाचन जितेका छन् । यद्यपि अहिले उनीमाथि भ्रष्टाचार मुद्दा चलिरहेकाले संसद् सदस्यबाट निलम्बनमा परेका छन् ।

२०४८, ०५१, ०५६ र ०७४ को संसदीय निर्वाचन गच्छदारले कांग्रेसको टिकटमा जिते । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबाट जिते । २०७० को दोस्रो संविधानसभा निर्वाचन भने फोरमबाट अलग्गिएर आफ्नै नेतृत्वमा गठन गरेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट जिते ।

‘म्यान अफ द इलेक्सन’ हुन नसकेका ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०४८ सालयताका सबै संसदीय निर्वाचनमा झापाबाटै उठेका छन् । ६ पल्ट चुनाव उठ्दा ओलीले २०६४ सालको निर्वाचनमा पराजय बेहोरेपछि उनी देउवाजस्तै ‘म्यान अफ द इलेक्सन’ बन्नबाट भने पछि परे । २०६४ सालको चुनावमा उनलाई माओवादीका विश्वदीप लिङ्देनले पराजित गरेका थिए । अब हुने चुनावी प्रतिस्पर्धा ओलीका लागि सातौँ हुनेछ ।

२०७४ को चुनावपछि ओलीले इतिहासमै दोस्रोपटक दुई तिहाइ सिटसहितको नेकपा सरकारको नेतृत्व गर्ने अवसर पाए पनि उनले त्यसको सदुपयोग गर्न सकेनन् । पार्टीभित्र पुष्पकमल दाहाल र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति तोडिएको विषयमा विवाद बढेपछि अन्तमा नेकपाको दुई तिहाइको सरकार विघटन हुनपुग्यो ।

ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने; सर्वोच्च अदालत त्यसलाई ब्युँताइदिने खेल दुईपटकसम्म चलेपछि उनको लोकतान्त्रिक चरित्रमाथि नै शङ्का उब्जिन पुग्यो । उनको मन्त्रिपरिषद् सदस्यहरूका उन्मत्तता र भ्रष्टाचारका कुराले पनि उनलाई संसद् र सडक दुवैतिर प्रतिरक्षात्मक बन्न बाध्य तुल्यायो । संसद्‌मा दुई तिहाइ सदस्यको साथ पाउँदा पनि आफ्नै दललाई मिलाएर विकासमा लम्किन नसक्नु उनको ठूलो कमजोरी ठान्छन् राजनीतिक विश्लेषकहरू ।

उठे जति सबै चुनाव जित्ने विरोध

मकवानपुरका विरोध खतिवडा उठे जति सबै चुनाव जित्ने राजनीतिक खेलाडी हुन् । शिक्षक आन्दोलनका चर्चित नेता बद्रीप्रसाद खतिवडाका छोरा विरोधले एमालेमा छउन्जेल कहिल्यै मन्त्री बन्ने अवसर पाएनन् । पछिल्लोपटक माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि उनी पनि नेपालसँगै एमालेबाट अलग्गिए । त्यसपछि स्वास्थ्यमन्त्री बने । अहिले सांसद खतिवडा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति सदस्य छन् ।

खतिवडाले मकवानपुरबाट २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितेका छन् संसद्‌मा । २०६४ चैत २८ र २०७० मंसिर ४ गते सम्पन्न पहिलो र दोस्रो संविधानसभा/व्यवस्थापिका-संसद्को चुनावमा भने पार्टीले उनलाई टिकट नदिएकाले उनी चुनाव उठ्नबाटै वञ्चित भए ।

निरन्तर प्रत्यक्ष चुनाव जित्ने र संसदीय गतिविधिमा आफूलाई खरो प्रस्तुत गर्न सक्ने खतिवडाले संसद्‌भित्र सुझबुझ भएका सांसदको छवि बनाएको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् । भन्छन्, ‘उहाँ आफूले बुझेका र मनमा लागेका कुरा संसद्को बैठकमा चित्तबुझ्दो ढङ्गले राख्नुहुन्छ । पक्ष, विपक्षभन्दा पनि तथ्य र तर्कसाथ आफूलाई प्रस्तुत गर्न उहाँ माहिर हुनुहुन्छ ।’

क्षेत्र परिवर्तन गर्दै चुनाव जित्दै

माओवादीका सदाबहार अध्यक्ष दाहालले २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको चुनावमा पहिलोपटक आफूलाई आममतदातासामु प्रस्तुत गरेका थिए ।

२०६४ सालको चुनावमा उनी काठमाडौँ-१० र रोल्पा-२ बाट विजयी भए भने ०७० को चुनावमा पूर्वी तराई सिरहाको क्षेत्र नं.-५ बाट निर्वाचित भए पनि काठमाडौँ-१० बाट भने पराजित हुनपुगे । उनलाई कांग्रेसका राजेन्द्र केसीले पराजित गरे ।

२०७४ सालको संसदीय चुनावमा उनी रोल्पा, काठमाडौँ, सिरहा कतैबाट पनि उठेनन्; यसपटक उनको रोजाइमा गृहजिल्ला चितवन पर्‍यो । चितवन-३ बाट संसद्को चुनाव जितेका दाहालले आफूमात्र जितेनन् चितवनकै भरतपुर महानगरपालिकामा छोरी रेणुलाई पनि ०७४ र ०७९ मा दुईपटक मेयर पदमा उम्मेदवारी दिन लगाएर जिताउन सफल भए । यसपटक उनी चितवन-३ बाटै चुनाव उठ्ने तयारीमा छन् । ‘बोलीको ठेगान पनि नभएको र कतिबेला कोसित गठजोड गर्छन् भन्ने पनि विश्वास गर्न नसकिने नेता’ को छवि बनाएका दाहाल दुईपटक प्रधानमन्त्री भइसके पनि उनी चुनाव उठ्ने क्षेत्रबारे आममानिस अझै निश्चित छैनन् किनभने उनी धेरै निर्वाचन क्षेत्र फेरबदल गरेर चुनाव उठ्ने नेतामा दरिएका छन् ।

दाहालजस्तै बाबुराम भट्टराई पनि ०६४ यताका तीनवटै चुनाव जित्ने नेता हुन् । बाबुराम गृहजिल्ला गोरखा-२‚ जहाँ उनी जन्मिए त्यहीँबाट चुनाव उठेर जित्दै आएका छन् । दोस्रो संविधानसभाको चुनावमा रुपन्देही ४ बाट उनले उम्मेदवारी दिएका थिए । ०७४ को चुनावमा उनले कांग्रेसको बलमा चुनाव जिते भने अहिले फेरि चुनाव जित्नकै लागि आफैंले रातो स्टिकर लगाएर नयाँ शक्ति हुँदै जसपामा पुगेका उनी पुन: माओवादीकै चुनाव चिह्नमा चुनाव उठ्ने सहमति गर्न पुगेका छन् । उनलाई जसरी भए पनि चुनाव जित्नु छ । अर्थमन्त्री भएका बेला कर धेरै सङ्कलन गरेका र प्रधानमन्त्री हुँदा काठमाडौँका सडकलाई फराकिलो पारेका बाबुराम जति नेपाली अर्थतन्त्र उकास्ने कुरा गरे पनि राजनीतिक रुपमा त्यति नै अस्पष्ट छन् । राजनीतिक दृष्टिकोण नै अस्पष्ट भएका नेताले चुनाव जितिहाले पनि मुलुक विकास उनको नेतृत्वबाट होला भनेर ढुक्क हुन सकिँदैन ।

चुनाव जित्न मोरङ हुँदै बारासम्म

२०६३ सालको मधेस विद्रोहपछि राजनीतिक वृत्तमा उदाएका अनुहार हुन्- उपेन्द्र यादव । २०६३ माघ १ गते अन्तरिम संविधान जारी हुँदा संघीयताको विषय नसमेटिएको भन्दै यादवसहित उनका समर्थकहरूले माइतीघर मण्डलमा संविधानको प्रति जलाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्रेर थुनेको थियो । त्यसपछि भड्किएको मधेस विद्रोहलाई साम्य पार्न राज्यलाई हम्मेहम्मे परेको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्ताबाट संविधान संशोधन गरेर संघीयताको विषय संविधानमा थपेपछि मधेस शान्त हुन पुगेको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा यादवको दल मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट जितेको थियो । संविधानसभाको जम्मा सदस्य संख्या ६ सय १ थियो ।

उक्त निर्वाचनमा यादव मोरङ-५ र सुनसरी-५ बाट विजयी भएका थिए । ०७० को संविधानसभा-२ मा भने उनी मोरङ-५ मा पराजित भए । उनलाई कांग्रेसका अमृत अर्यालले हराएको भए पनि सुनसरी-५ बाट भने उनी निर्वाचित भए । यी दुवै चुनाव उनले मधेसी जनअधिकार फोरम अध्यक्षका हैसियतमा उठेका थिए । तर‚ ०७४ को चुनावमा भने यादवले आफ्नो पुरानो निर्वाचन क्षेत्र छाडेर सप्तरी-२ बाट चुनाव उठेर जिते । त्यसबेला उनी संघीय समाजवादी फोरमका अध्यक्षका हैसियतमा चुनाव उठेका थिए । मोरङ, सुनसरी हुँदै सप्तरी आइपुगेका यादवलाई त्यसबेला ठूलो समूहले ‘टुरिस्ट’ उम्मेदवार भने पनि कांग्रेसको साथ र सहयोगमा चुनाव जिते । हुन त यादव ०४८ सालकै संसदीय चुनावमा मोरङबाट एमालेको उम्मेदवार भई पराजित बनेका थिए । यसपटक उनी आफू सुरक्षित क्षेत्र खोज्दै बारासम्म आइपुगेका छन् ।

यीबाहेक पनि तीनपटक लगातार चुनाव जित्ने धेरै नेताहरू छन् । चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने त धेरै भए तर कीर्तिमानी नै कायम गर्नेचाहिँ देउवा, गच्छदार र खतिवडा हुन् ।

प्रकाशित : भाद्र १७, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?