बिहीबारको बयान सकियो, निलम्बित प्रधानन्यायाधीश जबरालाई आइतबार बोलाइयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबारको बयान सकियो, निलम्बित प्रधानन्यायाधीश जबरालाई आइतबार बोलाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।  प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि जबराको बयान लिन सुरु गरेको हो। बुधबार विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएको भन्दै जबरालाई बिहीबार ११ बजे बोलाइए पनि समितिले २ बजे नै बयान सकेको हो । 

समितिका सभापति रामबहादुर विष्टका अनुसार अब भदौ १९ गतेदेखि पुन: बयान सुरु हुन्छ । शुक्रबार प्रतिनिधिसभा बैठक भएकाले १९ गते आइतबार बयानका लागि बोलाइएको उनले जानकारी दिए ।

१८ गतेसम्म समितिले प्रतिवेदन तयार पार्ने भनिए पनि जबरालाई सोध्नुपर्ने प्रश्न नै नसकिएकाले कार्यतालिका संशोधन गरिने समितिकी सदस्य रेखा शर्माले बताइन् । त्यसका लागि समितिको अनौपचारिक बैठक छिट्टै बस्ने पनि उनले बताइन् ।

बिहीबारको बयानमा जबराले समितिको औचित्यमाथि नै प्रश्नसमेत उठाएका थिए । महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै समिति सदस्य भएको भन्दै उनले प्रश्न उठाएको समितिका अर्का सदस्य प्रमोद साहले बताए । समिति सदस्य शर्माले हस्ताक्षर नगरेका सांसद मात्र खोज्ने हो भने एक वा दुई पार्टीबाट मात्र समिति गठन हुने अवस्था आउने बताइन् । समितिमा आइसकेपछि सबैले प्रमाणका आधारमा निष्पक्ष रूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।

जबराले बुधबार आफ्नो प्रतिरक्षा गर्ने अवसरलाई सदुपयोग गर्नुको सट्टा सहकर्मी न्यायाधीशहरू, बारका पदाधिकारी तथा दलका नेताहरूलाई दोषारोपण गरेर पहिलो दिनको ४ घण्टा बिताएका थिए । उनीमाथिको बयान केही दिन लम्बिने देखिएको छ ।

बुधबार निर्धारित समयअनुसार ११ बजे नै समितिको सिंहदरबारस्थित कार्यालय पुगेका जबरालाई करिब पौने २ घण्टा सचिवालयमा कुराएर बयान सुरु गरिएको थियो ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो ।

प्रकाशित : भाद्र १६, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

क्यूएफएक्स मुभी टिकेट अब खल्ती एपबाट किन्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — क्यूएफएक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब ग्राहकले क्यूएफएक्सको एप/वेबका साथै खल्ती एप मार्फत् मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन् । यो खल्तीका ग्राहकका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध छ ।

यसअघि क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र खरिद गर्न सकिन्थ्यो भने यो सम्झौतापछि क्यूएफएक्सका ग्राहक र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्नेछन् । साथै क्यूएफएक्सको एप/वेब बाट पनि टिकट खरिद गरी खल्तीबाट भुक्तानी गर्न सकिनेछ । भदौ १ गतेदेखि लागू भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहक र खल्ती प्रयोगकर्ताले टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्टस् र खल्ती पोइन्टस् पनि प्राप्त गर्नेछन् ।

यस सहकार्यपछि आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको भुक्तानी साझेदारका रुपमा खल्ती स्थापित भएको छ । खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनोट गर्न सकिनेछ र आफ्नो टिकट खरिद पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।

प्रकाशित : भाद्र १६, २०७९ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×