कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको दाबी - 'एमालेले कम्तीमा १५० सिट जित्छ'

नेकपा एसका प्रदेश मन्त्रीसहित एमाले प्रवेश
भवानी भट्ट

कञ्चनपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रत्यक्ष र सामानुपातितर्फ गरी एमालेले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । उनले दुनियाँ नै आश्चर्यचकित हुने गरी एमाले विजयी हुने दाबी गरेका हुन् । 

ओलीको दाबी - 'एमालेले कम्तीमा १५० सिट जित्छ'

‘अरुका भरमा होइन, अरुको वैशाखी टेकेर र पैसा बाँडेर होइन,’बुधबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘इमान्दारिता र जनताको भोटले हामी जित्छौं ।’ उनले देशलाई जिताउन र विकासको अभियानलाई अघि बढाउनसमेत एमालेले जित्नुपर्ने बताए ।

अहिलेको गठबन्धन सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको तथा देश र जनताका लागिभन्दा गठबन्धनका नेता र व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको उनले आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्साका विषयमा समेत अहिलेको सरकार बोल्न नसकेको उनले बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी अहिलेका सरकारका लागि एउटा समस्यामात्रै भएको छ, त्यो क्षेत्रको सहितको नयाँ नक्सा जारी भएर संविधानको अंश भइसकेको छ,’ ओलीले भने, ‘प्रधानमन्त्री देउवाले भारत भ्रमणमा गएर समेत यसका विषयमा बोल्न सक्नुभएन, त्यत्रो गठबन्धन केका लागि ?’

अध्यक्ष ओलीले गठबन्धन आफै बनेको नभई अरुले नै बनाइदिएको बताए । उनले गठबन्धन सरकार नै असंवैधानिक भएको बताए । ‘अहिलेको सरकार वैधानिक बाटोबाट बनेको होइन, असंवैधानिक बाटोबाट बनेको हो,’ उनले भने, ‘देश र जनताका लागि पीडा दिन बनेको हो, हामी मसिंर ४ सम्म पर्खिन्छौं, त्यसपछि जनताले नै यसलाई पछार्ने छन् ।’

गठबन्धन सरकार विकास विरोधीमात्रै नभएर राष्ट्र र राष्ट्रियताविरोधी समेत भएको उनको आरोप थियो । एमसीसीलगायत पछिल्लो पटक नागरिकता विधेयकमा समेत गठबन्धन सरकारको चरित्र उदांगिएको ओलीको भनाइ छ । ‘गठबन्धनका नेताहरु पनि दोहोरो चरित्रका छन्,’ उनले भने, ‘बाहिर एउटा कुरा भन्छन्, भित्रै अर्कै गर्छन्, एमसीसीमा पनि माधव नेपाल र प्रचण्डले बाहिर विरोध गरे, विद्यार्थी र युवालाई विरोधमा उतारे तर संसद्‌मा चुँइक्क समेत नबोली पक्षमा हात खडा गरे ।’

उनले गठबन्धन सरकारको चरित्र जनताले बुझिसकेकाले आगामी निर्वाचनमा जनताले नै पछार्ने बताए । दिनप्रतिदिन बढ्दो महँगी र भ्रष्टाचारले जनता हैरान भएको उनले बताए । ‘चार धामजस्तै एमाले राष्ट्रियता र लोकतन्त्रको धाम हो,’ उनले भने, ‘अरु पार्टीका नेता, कार्यकर्ता पनि यही धाममा बसेर देश विकासमा सहभागी हुनुस् ।’ एमालेको सरकार बनेपछि रोकिएको विकासको काम सँगै गरिब, विपन्न र पिछडिएको जनताको हकहितमा काम गर्ने बताए ।

नेकपा एसका प्रदेश मन्त्रीसहित एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका प्रदेश मन्त्रीसहित प्रदेशसभा सदस्यलगायतका नेता, कार्यकर्ताहरु बुधबार एमाले प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री कुलवीर चौधरीसहित प्रदेशसभा सदस्य तारा लामा तामाङ, एकीकृत समाजवादीको प्रदेश अध्यक्षबाट हालै राजीनामा दिएका विक्रम शाही, बेदकोट नगरपालिकाका पूर्वनगर प्रमुख अशोककुमार चन्दलगायत नेतालाई अध्यक्ष ओलीले स्वागत गरेका हुन् ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट बेदकोट नगरपालिकामा नगर प्रमुखको उम्मेदवार भएका रामचन्द्र रेग्मी, कृष्णपुर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार सुरेन्द्र बमलगायत नेताकार्यकर्ताहरु समेत एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट संविधानसभा सदस्य भएकी दुर्गा खुना, संविधानसभा निर्वाचन लडेका मोहन गिरी लगायतका नेताकार्यकर्ता पनि बुधबार एमाले प्रवेश गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?