कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

देउवालाई कांग्रेस नेताको सुझाव - ‘०७४ को समानुपातिक परिणामका आधारमा सिट बाँडफाँट गरौँ’ 

‘कुन क्षेत्रमा कसको कति पकड छ ? जनमत कति छ ? त्यो कुरालाई गहिरो अध्ययन गरौँ, त्यहीअनुसार सिटको बाँडफाँट गरौँ ।’
प्रकाश धौलाकोटी

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूको सुझाव लिएका छन् । गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन ।

देउवालाई कांग्रेस नेताको सुझाव - ‘०७४ को समानुपातिक परिणामका आधारमा सिट बाँडफाँट गरौँ’ 

कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूलाई बोलाएर त्यसबारे परामर्श लिएका हुन् । बालुवाटारमा बिहान साढे ९ बजेदेखि जारी बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले धारणा राखेका छन् ।

सो क्रममा नेताहरूले सिट बाँडफाँट गर्दा ०७४ को निर्वाचन र ०७९ को स्थानीय चुनावको परिणाम र पार्टीको संगठनलाई आधार बनाउनुपर्ने सुझाएका छन् । ०७४ को हकमा भने समानुपातिक तर्फको परिणामलाई मात्रै आधार मान्न सकिने नेताहरूको भनाइ छ ।

कांग्रेस ०७४ मा एक्लै चुनावी मैदानमा होमिएको थियो, अहिले गठबन्धनमा भएको अन्य दलले भने अरु दलसँग चुनावी तालमेल गरेको थियो । 'त्यसैले त्यो बेलाको मत तत्कालीन गठबन्धन टुटेसँगै विभाजित भइसक्यो, त्यसलाई आधार मान्न सकिदैन,’ बैठकमा नेता रामचन्द्र पौडेलले भनेका छन् । नेता पौडेलले गठबन्धन मात्रै गर्नेभन्दा पनि कहाँ कुन दलले उम्मेदवारी दिँदा परिणाम गठबन्धनको पक्षमा आउँछ भन्ने कुरालाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।

‘कुन क्षेत्रमा कसको कति पकड छ ? जनमत कति छ ? त्यो कुरालाई गहिरो अध्ययन गरौँ, त्यहीअनुसार सिटको बाँडफाँट गरौँ,’ बैठकमा पौडेलले भनेको उदृत गर्दै एक नेताले भने । बैठकमा गठबन्धनको सिट बाँडफाँट कार्यदलमा भइरहेको छलफलको प्रगतिका विषयमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्य रहेका महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् । त्यसपछि नेताहरूले धारणा राखेका छन् ।

सहमहामन्त्री किशोरसिंह राठौरले बैठकले गठबन्धनका सबै दलहरूलाई लचक भएर प्रस्तुत हुन आग्रह गरेको बताए ।

‘पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबीचमा सिट बाँडफाँटबारे छलफल भयो । नेताहरूले आ–आफ्नो सुझाव राख्नुभएको छ,’ सहमहामन्त्री राठौरले इकान्तिपुरसँग भने, ‘हामीले केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय गरिसकेका छौँ । त्यही निर्णयको कार्यान्वयन गर्ने र गठबन्धनका दलहरूलाई समेत लचक भएर प्रस्तुत हुन आग्रह गर्ने निर्णय भयो । कांग्रेसको आफ्नै दाबी छ, अन्य दलका पनि दाबी छन् । तर गठबन्धनको मर्म र भावनाबमोजिम सहमतिको विकल्प छैन भन्ने नै निष्कर्ष हाम्रो छ ।’

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले चुनावी तालमेल र सिट बाँडफाँटबारे सभापति देउवाले पार्टीभित्रका सबै पक्षसँग सुझाव र परामर्श गरिरहेको बताए ।

‘गठबन्धन छ भनेर मात्रै हुदैन, चुनावमा परिणाम ल्याउनका लागि पार्टीभित्रको बृहत्तर एकता आवश्यक हुन्छ । अहिले सभापतिजीले त्यो प्रयास थाल्नुभएको छ,’ नेता केसीले इकान्तिपुरसँग भने, ‘आजको बैठकमा सिट बाँडफाँटकै विषयमा छलफल चलिरहेको छ ।’

उनले आफूले बैठकमा ०७४ को समानुपातिक निर्वाचन प्रणालीको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्नु उपयुक्त हुने सुझाव दिएको बताए । ‘अहिले सिट बाँडफाँटको आधार ०७४ को निर्वाचन परिणाम नै हो । तर त्यसबेला प्रत्यक्षतर्फको परिणाम होइन, समानुपातिकतर्फको परिणामलाई मात्रै आधार मान्न सकिन्छ,’ उनले भने, ‘त्यो बेला माओवादी र माधव नेपालहरूले एमालेको मतमा चुनाव जितेका हुन् । अहिले पनि त्यो जनमत छ भनेर त्यहीआधारमा जोडघटाउ गर्नु मुर्खता हुन्छ ।’

उनले गठबन्धनको मर्म र भावनाबारे जनताले बुझ्ने गरी उम्मेदवारी चयन हुनुपर्ने बताए । ‘नेपाली जनता हामीले सेभ गरेर राखेको बचत रकम जस्तो होइन, जनतालई चित्त बुझ्ने आधारमा यो क्षेत्रमा यसकारण यो दलले उम्मेदवारी दिएको हो, यो मापदण्ड हो भनेर बुझाउन सक्नुपर्छ, गठबन्धनका न्युनतम सिद्धान्त र मापदण्डहरू बनाइनुपर्छ,’ उनले भने, ‘तबमात्रै हामीले जनताको बीचमा गएर परिणाम निकाल्न सक्ने अवस्था हुन्छ ।’

नेता केसीले कुनै पनि निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारको रिक्तता हुन नहुने सुझाव दिएको बताए । ‘हरेक क्षेत्रमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटा सिट हुन्छ । हामीले पाँच दलबीच गठबन्धन गर्दैछौँ, सिट बाँडफाँट गर्दा हरेक प्रतिनिधिसभा क्षेत्रका तीन सिटमध्ये कम्तिमा एक जना कांग्रेसको उम्मेदवार हुनैपर्छ,’ बैठकमा केसीले भनेका छन् ।

छलफलका क्रममा मधेसको अफ्ठ्याराका विषयमा समेत कुराकानी भएको छ । नेताहरूले मधेस कांग्रेसको उर्वर भूमि रहेको भन्दै मधेसमा सिट बाँडफाँट गर्दा ध्यान पुर्‍याउनुपर्ने सुझाव दिएका छन् ।

‘मधेस नेपाली कांग्रेस र लोकतन्त्रको उर्वर भूमि हो । नेपालका सबै आन्दोलनको प्रारम्भ मधेसबाटै भएको छ । मधेसको साथ हुँदा कांग्रेस शक्तिमा पुगेको छ भने मधेसको सन्तुलन नमिल्दा शक्तिबाट बाहिरिनु परेको छ,’ नेता केसीले इकान्तिपुरसँग भने, ‘मधेसमा मात्रै प्रतिनिधिसभाका ३२ क्षेत्र छन् । हामीले सिट बाँडफाँट गर्दा मधेसको सन्तुलन बिगार्नुहुँदैन, मधेस हाम्रो आधारभूमि हो, सिट बाँडफाँट गर्दा यो कुरालाई ध्यानमा राखियोस् ।’

नेता केसीका अनुसार बैठकमा अधिकांश नेताहरूले गठबन्धनमा कांग्रेसले ६० प्रतिशत सिटमा दाबी छोड्न नहुने अडान राखेका छन् ।

‘कांग्रेसको गठबन्धनको मात्रै होइन, आज देशकै ठूलो शक्ति हो । ठूलो संगठन छ, नेता कार्यकर्ताको संख्या धेरै छ,’ केसी भन्छन्, ‘त्यसैले सिट बाँडफाँट गर्दा कांग्रेसले ६० प्रतिशत सिटको दाबी छोड्नुहुदैन । तालमेल भनेको सहमतिको आधारबाट हुने हो, त्यसो गर्दा तलमाथि हुने कुरा सामान्य हो । तर ६० प्रतिशतमा हाम्रो दाबी अडिनुपर्छ ।’

बैठकमा कार्यदलका नेताहरूले गठबन्धनका अन्य दलले १६५ मध्ये १३२ सिटमा दाबी रहेको विवरण सुनाएका थिए ।

नेता केसी भने अहिले दाबी हुनुलाई स्वाभाविकरुपमा लिनुपर्ने बताउँछन् । ‘सबैले दाबी गर्ने कुरा सामान्य हो । तर, चुनावी परिणाम दाबीले मात्रै आउँदैन, त्यसकालागि आधारहरूको विश्लेषण हुनुपर्छ,’ उनले भने, ‘त्यो काम कार्यदल र गठबन्धनमा हुनुपर्छ । र, अन्यथा गठबन्धनका लागि चुनौतीपूर्ण अवस्था आउन सक्छ ।’ उनले गठबन्धनमा सबै दलको सम्मानजनक अवस्था बनाएर सहमति गर्नुपर्नेमा नेताहरूले जोड दिएको बताए ।

प्रकाशित : भाद्र १५, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?